सेल्फी लिनोस् तर मोबाइल भाइब्रेसन मोडमा नराख्नोस् !



चिनियाँ राष्ट्रपति सी जिन पिङको एयर चाइना चीनतिर सोझिँदानसोझिँदै आइतबार नेपाली नागरिक सेल्फी खिच्न तँछाड मछाड गर्न थाले। यो दृश्य देखेर धरहरा निकै रमायो– आखिर राजधानीको चोक–चोकमा थुपारिने फोहोरका डंगुरसँग डराउँदै नाक छोपेर दौडिने नगरबासीहरूका पनि दिन आउँदारहेछन्।

जता हेर्यो उतै मगमग बास्ना आउने फूल फुलेका बगैंचा, चोक–चोकमा ढकमक्क जात–जातका फूल ! खास गरी विमानस्थलबाट निस्कनासाथ तीनकुनेमा ‘हेर्नलाई पाइन्छ, छुनचाहिँ पाहिन्न’ शैलीमा टाँगिएको सूचना पाटीमा भनिएको छ– ‘सेल्फी खिच्न पाइन्छ तर बगैंचा बिगार्न पाइन्न।’

सूचनाको गाँठी रहस्य के छ भने, फटाफट फोटो खिचिहाले मात्र हो, अन्यथा बगैंचाले एक वर्षा होइन चालू हिउँद मात्र पनि थेग्न सक्तैन।

निक्कै जतनसित उभिएर मात्र सेल्फी हान्नुपर्छ। ढिला गर्ने त झन कुरै भएन, गत साता परेको पानीले ‘कल ब्याक’ गर्यो भने तीनकुनेको सौन्दर्य बगरमा परिणत हुने निश्चित छ।

त्यसैले पनि हतार–हतार सरक्क सेल्फी खिचिहाल्नुको विकल्प छैन।बुद्धिजीवीहरूलाई भनिरहनुपर्दैन, सेल्फी खिच्न ठिक्क परेका बेला मोबाइल भाइब्रेसन मोडमा छ भने पनि त्यसले बगैंचा हल्लाइदिन सक्छ। हतारमा सेल्फी पनि लिनुछ र मोबाइल भाइब्रेसनमा राखेर बगैंचातिर पस्नु पनि छैन।

कतिले सीको स्वागतमा सिंगारिएको राजधानी देखाउँदै ‘गर्दा हुँदोरहेछ, गरेको गर्यै गरौं’ भनेका छन्। तर, धरहरा त्यसमा सहमत छैन। गन्ध सुँघ्न बाँनिपरेको यसको नाक सुख्खा भएको तीन दिन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्