इटाली युरोकप २०२० का लागि छनोट



लन्डन, (एजेन्सी)।इटाली आगामी वर्ष १२ युरोपीय राष्ट्रका १२ स्थानमा हुने युरो कप–२०२० फुटबल प्रतियोगिताका लागि छनोट भएको छ।
रोममा शनिबार राति भएको खेलमा ग्रिसलाई २–० ले हराएपछि इटाली युरोकपका लागि छनोट भएको हो।

युरोकपका लागि अहिलेसम्म २ टोली बेल्जियम र इटाली छनोट भएका छन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा चेल्सीका मिडफिल्डर जर्जिन्होले ६३औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।

ग्रिसका डिफेन्डर एन्ड्रिज बाउचालाकिसले आफ्नै डि–बक्समा बललाई हातले छोएपछि इटालीले पेनाल्टीकिक पाएको थियो।

त्यस्तै ७८औं मिनेटमा वैकल्पिक खेलाडी फेडेरिको बर्नाडेस्चीले गोल थपेर टोलीको जित सुनिश्चित गरे।

यो जितसँगै इटाली ७ खेलबाट २१ अंकसहित समूह ‘जे’ मा शीर्ष टोली बन्दै युरोकपमा पुगेको हो। दोस्रो स्थानको फिनल्यान्डको १२ अंक छ। फिनल्यान्डले बोस्निया हर्जगोभिनाविरुद्ध ४–१ ले हारेपछि अंक बढाउन सकेन।

बोस्निया हर्जगोभिना १० अंकसहित चौथो स्थानमा रहेको छ। त्यति नै अंक जोडेको आर्मेनिया तेस्रो स्थानमा रहेको छ।

ग्रिस भने ५ अंक लिएर पाँचौं स्थानमा छ। ग्रिसले छनोट हुने आशालाई जीवित राख्न बाँकी तीनै खेल जित्नुपर्नेछ।

रामोसको कीर्तिमान
स्पेनका सर्जियो रामोसले स्पेनबाट बढी खेल खेल्ने कीर्तिमान रचेका छन्। युरोकप छनोटअन्तर्गत स्पेनले नर्वेसँग १–१ बराबरी खेलेको खेलमा रामोसले कीर्तिमान रचेका हुन्।

उनले आफ्नो राष्ट्रकालागि १६८औं खेलमा सहभागिता जनाएर गोलकिपर इकेर कासिलासको कीर्तिमान तोडेका छन्। कासिलासले स्पेनका लागि १ सय ६७ क्याप गरेका थिए।

रामोसले कीर्तिमान बनाउँदाको खेलमा जित हासिल भएको भए अझ राम्रो हुने बताएका थिए। ‘१६८औं क्यापमा जितेको भए म खुसी हुन्थें। तर, यो कीर्तिमान महान पुरस्कार हो।’ –उनले बताए।

समूह ‘एफ’ मा रहेको स्पेन युरोकप–२०२० को नजिक पनि पुगेको छ। टोलीले मंगलबार हुने खेलमा स्विडेनसँग बराबरी खेले पनि छनोट हुन पर्याप्त हुनेछ।

सो समूहमा स्पेन र स्विडेन क्रमशः १९ र १४ अंक लिएर शीर्ष दुई स्थानमा रहेका छन्। स्विडेनले माल्टालाई ४–० ले हराएको थियो।

त्यस्तै रोमानिया १३ अंकसहित तेस्रो स्थानमा छ भने नर्वे १० अंकसहित चौथो स्थानमा रहेको छ।रोमानियाले फारोइ आइल्यान्ड्सलाई ३–० ले हराएर तीन अंक जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्