सुधारिएको पानीघट्टले महिलाको समय बचायो



नेपाल समाचारपत्र, डोटी।डोटी जिल्लाका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा सञ्चालित पानीघट्टमा प्राविधिक सुधार भएपछि महिलाहरूको समयसमेत बचत हुन थालेको छ।

विगतमा पिसानीका लागि घन्टौंसम्म पानीघट्टमा कुर्न बाध्य हुने यहाँका ग्रामीण महिला आजभोलि सुधारिएका घट्टका कारण फुर्सदिला भएको गड्सेराकी स्थानीय दुर्गादेवी विष्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘विगतमा हामीलाई एक किलो गहुँ पिस्न घन्टौं लाग्थ्यो। अहिले घट्ट सुधार भएपछि हामीलाई सजिलो भएको छ।’

कम्तीमा पनि ६ महिना मात्र सञ्चालनमा हुने यहाँका पानीघट्टहरू सुधार गरिएपछि बाह्रै महिना सञ्चालमा आउन थालेको केआईसिंह गाउँपालिका–२ का स्थानीय दीर्घबहादुर ऐरले बताउनुभयो।

यहाँका पानीघट्टहरू क्रमिकरूपमा सुधार गरिएपछि पिसानी क्षमतामा पनि वृद्धि भएको बडीकेदार गाउँपालिका–१ बर्छैनका स्थानीय धनबहादुर कलेलले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘गाउँका पानीघट्टहरू सुधार भएपछि पिसानी क्षमतामा पनि वृद्धि भएको छ, स्थानीयहरूलाई सुविधा भएको छ।’

गाउँमा ढिकी जाँतोको सट्टा सुधारिएको पानीघट्ट र कुटानी पिसानीका मेसिन जडान हुन थालेपछि यहाँका स्थानीयबासी फुर्सदिला भएको समेत उहाँले बताउनुभयो।

गाउँमा सुधारिएको पानीघट्ट तथा कुटानी पिसानीका मेसिन आएपछि यहाँका महिला फुर्सदिला हुनुका साथै बचेको समय खेतबारी तथा तरकारी खेतीमा लगाउन थालेको जोरायल गाउँपालिका–१ स्थानीय तुलसीदेवी मल्लले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पहिला हामीलाई कुटानी पिसानीका लागि पुरै दिन लाग्थ्यो, अहिले मेसिन तथा सुधार भएका पानीघट्ट सञ्चालन भएपछि फुर्सद भएको छ, फुर्सदको समयमा हामी तरकारी खेती तथा सिलाइबुनाइको काम गर्छौं।’

जोरायल क्षेत्रमा मात्रै परम्परागतरूपमा सञ्चालित करीब ३ सयभन्दा बढी पानीघट्टमध्ये अधिकांशलाई सुधार गरिएको स्थानीयबासी दीपकबहादुर साउदले बताउनुभयो।

पानीघट्ट सुधार गरिनाले पिसानी क्षमता बढेको छ। यस कारणले यहाँका ग्रामीण क्षेत्रमा पानीघट्ट सुधार अभियान नै चलेको निरौलीका देवबहादुर बोहराले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हाम्रो पिसानीको मुख्य साधन भनेकै पानीघट्ट हो, सुधार गरिए फाइदा हुँदोरहेछ भन्ने बुझे र धमाधम पानीघट्ट सुधारमा लागे।’

स्थानीय सरकारको पहलमा यहाँका पानीघट्टहरू सुधार गरिन लागेको सुदूरपश्चिम प्रदेश गाउँपालिका महासंघका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो। उ

हाँले भन्नुभयो– ‘स्थानीयको समय बचत होस् र बचेको समय तरकारीलगायतका खेतीमा लगाऊन् भनेर हामीले सबै स्थानीय तहमा आग्रह गरेर पानीघट्टहरू सुधारको अभियान चलाएका छौं, राम्रो प्रतिक्रिया पाएका छौं।’

प्रतिक्रिया दिनुहोस्