दशैं मेलामा जेरीको आकर्षण



नेपाल समाचारपत्र, गुल्मी।ल्लिामा दशैंको अवसरमा अधिकांश स्थानहरूमा चल्ने मेलामा जेरी मुख्य आकर्षणमा पर्ने गरेको छ। दशैंपछिको मन्दमन्द चिसोमा तातो जेरीको चुस्की लिँदै सरायँ मेला अवलोकन गर्ने गर्दछन्।

यो प्रचलन गुल्मीका मेलामा मुख्य नै बनेको छ। जिल्लाका विभिन्न स्थानमा चल्ने मेलामा पुगेपछि सबैले खाने परिकारमा जेरी नै पर्ने गर्दछ।

त्यति मात्रै होइन, अवलोकनमा गएकाहरूले साँझ घरमा जाँदा जेरी लैजाने गर्नाले यो बेला जेरी पकाउनेहरूको व्यवसाय राम्रो हुने गरेको छ।

दशैं सकिएपछि एकदशीदेखि पूर्णिमासम्म विभिन्न स्थानमा मेला लाग्ने गर्दछ। दशैं सकिएपछि गुल्मीको पहिचानका रूपमा रहेको सरायँ नाच देखाउने गरिन्छ। सरायँ नाच देखाउने स्थानमा प्रायः जेरीका पसलहरू मात्रै राखिने गरिन्छ।

यो बेला अन्य समयमा भन्दा धेरै विक्री हुने गर्दछ। जिल्लाका धेरै स्थानमा मेला अवलोकन गर्न पुग्नेहरूको मुख्य रोजाइमा गुलियो जेरी पर्ने गरेको हो।

परापूर्वकालदेखि नाच्न थालिएको सरायँ मेलाले विभिन्न समयमा घरबाट टाढा भएकाहरू दशैंको बेला घरमा आएकाले साथीसंगीसँग भेट्ने गतिलो अवसरका रूपमा पनि लिइन्छ।

पहिलेदेखि नै एकदमै राम्रो मानिने सरायँ नाच हुने स्थलहरू अर्जे, अम्मरपुर, इस्मामैदान, धुर्कोट, मुसिकोट, ताल्तुङ, धागिथुम, जोगिथुम, चोयगा, उनाएचौरलगायत झन्डै २ दर्जन स्थानमा चल्ने मेलाहरूमा मुख्य आकर्षणमा जेरी नै पर्ने गर्दछ।

फरक ठाउँमा फरक समयमा मेला लाग्ने गरेकाले ती स्थानमा एकै व्यक्ति पनि पुग्ने गर्दछ। प्रतिकेजी ३ सय ५० मा बेच्ने गरेका व्यवसायीहरूले प्रति पिस १५ र २० रुपियाँसम्ममा बेच्ने गरेको बताउँछन्।

मेलामा अरूभन्दा जेरी नै मुख्य विशेषता र आकर्षण हुने हुँदा व्यवसाय पनि राम्रो भएकाले जेरी पकाउने गरेको बताउँछन्। कमाइ पनि राम्रो र जेरी नबिक्ला भन्ने भन्दा पनि मागअनुसार पुर्याउन नै मुस्किल पर्ने गरेको व्यवसायीहरूको ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्