के महरा दोषी प्रमाणित होलान्?



यति बेला जताततै सभामुख महराकै चर्चा छ। महिला बलात्कारको काण्डमा मुख्य आरोपी मानिएका उनले जताततैबाट आलोचना खेपिरहेका छन्। उनलाई उनकै पार्टीले समेत अब सांसदको रूपमा नअपनाउने अभिव्यक्तिसमेत दिइसकेको छ।

तर उनको कहानीमा भने ट्वीस्ट थपिएको छ। प्रहरीलाई सघाउ हुने गरी उनले पदबाट त राजीनामा दिए तर आरोप लगाएकी महिलाले नै कुरा फेरेकी छन्। अब के होला भन्ने आमजनतामा चियोचर्चो हुन थालेको छ।

निर्मला पन्त बलात्कार काण्डमा दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर बनेको छ।के महरा जेल जालान् त ? यो अहिलेको आमजनतामा गुन्जिएको प्रश्न हो।

कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जनतामाझ जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्छ। कानुन सबैका लागि समान छ। कानुनले कसैलाई काखा र कसैलाई पाखा लगाउनुहुँदैन।

कानुनको अगाडि सबैको शिर झुक्नै पर्छ। यस्ता बलात्कारजस्ता जघंन्य अपराध देशको सर्वोच्च पदमा आसीन व्यक्तिहरूबाटै घट्छन् भने के जनता चुप बस्लान् त ?

अरूलाई अनुशासनमा बस्न सिकाउने महराजस्तो भीआईपी मान्छेले नै युवतीमाथि बलात्कार गर्न सक्छन् भने लुटेरा, चोरी सिकारी गर्ने व्यक्ति झन् मौलाउन बेर कत्ति लाग्दैन। यदि यो सरकारले जनविश्वास जित्ने हो भने महराको केसमा अनुसन्धानमा संलग्न प्रहरीहरू दबाब र प्रभावमा नपरी चनाखो भएर काम गर्न अत्यन्तै जरुरी छ।

निर्मला पन्तको बलात्कारको काण्डमा जस्तै अहिलेको अनुसन्धान पनि त्यस्तो नहोस्। सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उनी चुकिसकेका छन्। विगतमा विभिन्न मन्त्रालयमा काम गरेर अर्थमन्त्रीदेखि गृहमन्त्रीसम्म भइसकेका त्यस्ता शक्तिशाली व्यक्तिले त्यसो गर्नु कतिसम्मको नाजुक कुरा हो। कतिसम्मको घिनलाग्दो कुरा हो।

दुई तिहाइको सरकार छ, नेकपाको नेता भएँ भन्दैमा जे मन लाग्यो त्यही गर्ने ? महिलालाई दुव्र्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता–कार्यकर्ता हुने ? यो हुनै सक्दैन। यस्तो कदापि न्यायसंगत हुँदैन।

घटनाको अनुसन्धान गरेर अभियुुक्तलाई कारबाहीको कठघरामा ल्याउनु नै अहिलेको सरकारको काम हो। तर विनाअपराध आरोप लगाइन्छ भने आरोप लगाउनेलाई पनि छोड्नुहुँदैन।

– अनुप न्यौपाने,
बिन्ध्यवासिनी, पोखरा।

प्रतिक्रिया दिनुहोस्