बिचौलियाहरु पछिलागेः मलेसियाका लागि नेपाली राजदूत



क्वालालम्पुर । ‘अवैध रुपमा मलेसिया बसोबास गर्दै आएका नेपाली नागरिकलाई न्यूनतम खर्चमा सुरक्षितसाथ नेपाल फर्काउने मेरो प्रयाससँग असन्तुष्ट केही बिचौलियाहरुले बद्नाम गराउने दुस्प्रयास गरेका छन् ।’

यो भनाइ हो मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेको । पाण्डेले शनिबार न्यूज अफ नेपालमा सम्पर्क गरी यसै स्थानमा प्रकाशित समाचारमा प्रतिक्रिया दिंदै सो टिप्पणी गर्नुभएको हो ।

अवैध भएर मलेसियामा बसोबास गरेका बिदेशी नागरिकहरुलाई स्वदेश फर्कनका लागि आममाफी कार्यक्रम १ अगष्ट २०१९ देखि संचालनमा आएदेखि नै नेपालीहरु पनि सो आममाफीमार्फत नेपाल फर्कने क्रममा छन् । तर, बिचौलियाहरुका लागि त्यस्ता व्यक्तिहरु त्यहीं लुकीछिपी बसे नियमित कमाइ खाने भाँडो हुनेछ ।

नेपाली राजदूतावास मार्फत नेपाल फर्कन चाहने नेपालीहरुलाई एजेन्ट(दलालहरुबाट ठगिनबाट जोगिनका निमित्त ट्राभल डकुमेन्ट बनाइदिनुपर्छ । नेपाली राजदूतावासमा मलेसियन रिंगेट १६०।– बुझाएपछि राजदूतावासले एकतर्फी हवाई यात्रा पत्र दिने गर्दछ ।

‘हामी राजदूतावासका कर्मचारी नेपाली नागरिकलाई सघाउन यहाँ बसेका हौं, उहाँहरुलाई ठगिनबाट जोगाउनु हाम्रो धर्म हो’ राजदूत पाण्डेले भन्नुभयो– राजदूतावासका कुनै कर्मचारीले अनुचित कार्य गरेको प्रमाण भए म तत्काल कारबाही चलाउनेछु ।

(यसअघि यसै स्थानमा प्रकाशित समाचार न्युज अफ नेपालका संवाददाताको आईडीसँग मिल्दोजुल्दो फेक आईडी बनाई कसैले पठाएको प्रमाणित भएकोले हटाइएको छ । यसबाट पर्नगएको असुविधाका लागि सरोकारवाला सबैसँग क्षमायाचना गर्दछौंः सम्पादक)

प्रतिक्रिया दिनुहोस्