चिनियाँ राष्ट्रपति सीसहित भारतीय प्रधानमन्त्री मोदीद्वारा चेन्नईका महत्वपूर्ण स्थलहरुको भ्रमण तथा अवलोकन   



भारत ।

भारत भ्रमणका क्रममा चेन्नई आइपुग्नुभएका चीनका राष्ट्रपति सी चिनपिङले शुक्रबार स्थानीय सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक कहत्वका स्थलहरुको भ्रमण तथा अवलोकन गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच करिब ४० मिनेट एक्लाएक्लै (वानटुवान) वार्ता हुने पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सी र मोदीको भेटवार्ताका क्रममा दुई देशका सम्बन्ध, हिन्द–प्रशान्त क्षेत्र, सीमा विवाद, आतंकवाद, व्यापार असन्तुलनलगायतका विषयमा छलफल हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

धार्मिक तथा संस्कृतिक महत्वका स्थलहरुको अवलोकन भ्रमणमा शुक्रबार राष्ट्रपति सीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्दै स्थानीय देवालयहरूको भ्रमणमा साथ दिनुभयो ।

उहाँहरूले पञ्चरथ, कृष्णको जीवनीसँग जोडेर हेरिने मख्खन पर्खाल, अर्जुनले तपस्या गरेको ठाउँ र शोर मन्दिरको भ्रमण गर्नुभएको हो । शोर मन्दिरमा उहाँको स्वागतार्थ सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरियो ।

सांस्कृतिक कार्यक्रम अन्तर्गत लोकनृत्य मार्फत् रामायणका केही अंश देखाइएको छ । समुद्र तटमा रहेको सो मन्दिरमा उहाँहरूले दर्शन गर्नुभयो । मन्दिरमा शिव र विष्णु भगवानको मूर्ति प्रतिस्थापन गरिएको छ ।

ती स्थलहरूको भ्रमणका क्रममा उहाँहरूले अनौपचारिक कुराकानी गर्नुका साथै संयुक्त रूपमा फोटो पनि खिचाउनुभएको छ ।

आफूले घुमाएका सांस्कृतिक तथा धार्मिक ठाउँहरूको बारेमा राष्ट्रपति सीलाई प्रधानमन्त्री मोदीले नै व्याख्या गरेर सुनाउनुभएको थियो भने भाषा अनुवादकहरूले उहाँहरुलाई सहयोग गरेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति सी सेतो कमिज र कालो पाइन्टमा देखिनु भएको थियो भने प्रधानमन्त्री मोदी स्थानीय तमिल नाडुको परम्परागत पोशाकमा हुनुभयो ।

तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र मानिन्छ । चेन्नई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी पनि हो । राष्ट्रपति सीको चेन्नईमा भव्य स्वागत गरिएको छ ।
भारत भ्रमणका क्रममा चिनपिङ शुक्रबार अपराह्न चेन्नई पुग्नुभएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नई आउनुभएको हो ।

बैठकका क्रममा दुबै नेताबीच दीर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा विचार विमर्श भएको बताइएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा उहाँहरुका बीचमा अहिलेसम्म १४ पटक भेटवार्ता भएको छ । उहाँहरुले सन् सन् २०१४ मा अहमदावाद, सन् २०१५ मा सियान र सन् २०१८मा चीनकै युहानमा गर्नुभएको भेटवार्तालाई महत्वका साथ हेरिने गरिएको छ ।

चिनियाँ राष्ट्रपति भारतमा शुक्रबार र शनिबार गरी करिब ६० घण्टा रहनुहुनेछ । उहाँ शनिबार नेपालको राजकीय भ्रमणका लागि अपरान्ह् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । नेपालमा दुई दिनको भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा वलीलगायतका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

चिनियाँ राष्ट्रपति आइतबार स्वदेश फर्किनुहुने कार्यक्रम तय भएको छ ।

रासस/सिन्ह्वा/एएनआई

प्रतिक्रिया दिनुहोस्