मोडेल डली गुरुङ्गको ‘मेरो क्यान्सर यात्रा’ विमोचित

सबै क्यान्सरको उपचार नेपालमै संभव छः गुरुङ्ग



बलराम प्यासी, ललितपुर ।

नेपालको पहिलो महिला मोडेलको रुपमा चिनिन्छिन डली गुरुङ्ग याकथुम्वा । त्यतिमा मात्रै उनको परिचय सीमित छैन । उनी एक सफल उद्यमी र चर्चित पर्यटन व्यवसायी पनि हुन । विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेकी उनी समयले भ्याएसम्म कोरियोग्राफि पनि गर्छिन ।

पछिल्लो समयमा गैरसरकारी संस्था नेपाल क्यान्सर सहयोग समूहले नेपालमै पहिलोपटक आयोजना गरेको ‘सुदिप्त क्यान्सर सर्भाइभर र्याम्प शो’ र ‘सुदिप्त सुपर किड्स क्यान्सर सभाईभर र्याम्प वाक’ को सफल कोरियोग्राफि पनि गरेकी थिइन डलीले । जसमा क्यान्सरलाई जितेका र उपचारका क्रममा रहेका महिला पुरुष र वालवालिकाले भाग लिएका थिए ।

अब त यतिले मात्रै उनको परिचय नपुग्ने भएको छ । उनले लेखेको ‘मेरो क्यान्सर यात्रा’ (माई क्यान्सर जर्नी) पुस्तकले त उनलाई आइतबारदेखि राम्रै लेखिकाको रुपमा समेत परिचित गराएको छ । ठुलो आन्द्राको क्यान्सर भएपछि हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा नियमित उपचार गरेपछि उनी विगत डेढवर्षदेखि पुर्णरुपमा स्वस्थ भएको उनको उपचारमा संलग्न चिकित्सक बताउँछन । उपचारकै क्रममा पनि उनले आफ्नो व्यवशायमा कुनै अवरोध हुन दिइनन् ।

हलिउड नायीका मनिषा कोइरालाले आफ्नो क्यान्सर सम्वन्धि कथा समेटेर ‘हिल्ड’ अर्थात ‘निको भयो’ पुस्तक लेखेको ठीक एक वर्षपछि डलीले लेखेको किताव ‘मेरो क्यान्सर यात्रा’ विमोचन गरिएको हो ।

ज्ञानोदय वालवाटिका स्कुल ललितपुरकी संस्थापक एवम् पुस्तक लेखिका डली गुरुङ्ग याकथुम्वाकी सासु इन्दिरा याकथुम्वाले ललितपुर पुल्चोकस्थित डलीकै व्यवसायीक केन्द्र ‘मोक्ष’ मा सो पुस्तक विमोचन गरेकी थिइन् । पुस्तकमा उनले आफुलाई क्यान्सर लागेदेखि उपचारका क्रममा रहँदा र निको हुँदासम्मका तितामिठा अनुभव र भावना पोखेकी छिन भने तस्वीरहरु समेत समेटेकी छिन ।

‘क्यान्सर लाग्दैमा आँत्तिनु पर्दैन, समयमै सहि ठाउँमा उपचार गरे निको हुन्छ’ भन्ने सन्देश सहितको उक्त पुस्तकको विक्रीबाट आउने रकमको धेरै अंश उनले गरीव क्यान्सररोगी महिलाको उपचारमा खर्चिने बताएकी छिन् ।

‘मलाई क्यान्सर भएपछि उपचारको लागि मेरा आफन्त र इस्टमित्रले विदेशका अस्पतालमा जान सुझाएका थिए, तर मैले मेरो रोग नेपालकै डाक्टरहरुबाट गराएँ र अहिले पुर्णरुपमा निको पनि भयो’—पुस्तक विमोचन समारोहमा दृढ विश्वासी डलीले भनीन ।

‘विदेशका अस्पतालमा क्यान्सरको उपचार गरायो भने मात्रै निको हुन्छ भन्ने जुन भ्रम छ, त्यो सबैले तोड्नु आवश्यक छ’—उनले भनीन—‘मैले पनि आँट गरेरै नेपाली क्यान्सर विशेषज्ञहरुलाई विश्वास गरेँ, जुन पुर्णरुपमा सार्थक भयो ।

पुस्तक विमोचन कार्यक्रममा डलीले आफ्नो उपचारमा संलग्न नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठ, डा.कपेन्द्र शेखर अमात्य र डा.निरज जोशीलगायत स्वास्थ्यकर्मीहरुको खुलेर प्रशंसा गरीन ।
विमोचन कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले पछिल्लो समयमा नेपालमै सुविधासम्पन्न क्यान्सर अस्पताल र विशेषज्ञ डाक्टरहरुको व्यवस्था भइसकेको उल्लेख गर्दै विदेशका अस्पतालमा उपचार गर्न जाँदा आर्थिकका साथै मानसिक तनाव वेहोर्नुपर्ने र विदेशमा उपचार गर्दैमा रोक निको हुने कुनै गारेन्टी नहुने बताए ।

पुस्तक विमोचन कार्यक्रमा उनको उपचारमा संलग्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका चिकित्सकहरु, क्यान्सर सहयोग समूहकी कार्यकारी सदस्य एवम् संयोजक स्वरुपा श्रेष्ठको साथै क्यान्सरलाई जितेका डलीजस्तै धेरै महिला र पुरुषको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्