दशैंमा



दुर्गा रिमाल अधिकारी

कुटुकुटु मन साह्रै दुख्छ मेरो दशैंमा
अशुभ र कुटुनीले हुन्छ साह्रै वितृष्णा
पशुधन सब हिंसा देख्छु बाधा दुखेसो
कुटुकुटु मन खाई देख्छु छानो खसेको

कति नियम बने खै मुख्य हिंसा हटेन
सबतिर सुख छायो दुःख मेरो हटेन
सुखसँग सुख बाँड्ने दुःख बाँड्ने कसोरी
विकल समय काट्दै क्षुब्ध भो यो मितेरी

हरपल हरयात्रा शान्ति चाहें बिचारें
तर पनि किन होला शून्यताले बिझाएँ
दश दिन जमराले दिन्छ आशिष जम्मै
विजय र जय नारा भाक्छ देवी रमाई

सबसँग शुभ आशा छैन भन्दै निराशा
किन किन मन घुम्दै घुम्छ ऊ गर्छ हिंसा
तनमन नमिलेमा रिस ठूलो बनाई
जनजति पशु मार्छन् रक्त रातो बहाई
सुखसँग सुख साट्ने हर्ष बाँड्ने दशैंमा
किन नर पशु मार्छन् भोग अर्पी दशैंमा

प्रतिक्रिया दिनुहोस्