यौनका विषयमा खुल्ला बनौं



यौन हाम्रो समाजमा खुला छ तर मानिसको सोचाइ भने खुला हुन सकेको छैन। किनभने यौन, प्यान्डोराज बक्सजस्तै हो। जुन बक्सलाई खोल्न निषेध गरिन्छ तर मानिस त्यो बक्स खोल्न चाहन्छ र त्यहाँ के छ भन्ने विषयमा जान्न चाहन्छ।

त्यसैले यसलाई हामीले सभ्य तरिकाले बुझ्न पनि जरुरी छ। भोगबाट त्याग हुन्छ, मानौं यदि कुनै मानिसलाई जेरी खाने मन छ तर उसले जेरी खान पाएको छैन भने जबसम्म उसले अमन हुने गरी जेरी खान पाउँदैन तबसम्म उसमा जेरी खाने लालसा रहिरहन्छ।

उसलाई अमन हुने गरी जेरी खुवाइदिने हो भने फेरि तत्काल थप जेरी खाने लालसा नहुन सक्छ। यसको मतलब हामीले जथाभावी यौनसम्बन्ध स्थापित गर्दै हिँड्न पाउनुपर्छ भन्नेचाहिँ होइन।

हामी जति यौनलाई दबाएर राख्ने कोशिश गर्छौं उति खतरनाक बन्न सक्छ भन्ने मात्रै हो। केही समयअघि नुवाकोट घर भई काठमाडौं बालाजु बस्ने एक महिलाले आत्महत्या गरिन्। बिहे भएको तीन महिनामै आत्महत्या गर्ने उनको ज्यान हीनताबोधले लिएको थियो।

बिहेअघि उनको प्रेम अर्के केटोसँग रहेछ तर अन्तिम समयमा ती महिलाको प्रेम सफल हुन सकेन।जसका कारण उनको विवाह अर्कै केटोसँग हुन गयो। विवाह हुँदा उनको पेटमा तीन महिनाको बच्चा रहेछ।

उनको श्रीमान्ले पेटको बच्चा स्वीकार गर्दा समेत उनले आत्महत्या गरिन्, यसको कारण थियो ग्लानि तथा हीनताबोध। यौन फराकिलो विषय हो तर हामी यसलाई साँघुरो बनाउने कोशिश गरिरहेका छौं।

जुन समयमा किशोर किशोरी वयष्क हुन्छन् र आफ्नो शारीरिक बनावटका बारेमा जिज्ञासु बन्छन्, त्यही समयमा यी विषयहरूको पढाइ हुन जरुरी थियो।

किशोरीहरूलाई गुड टच र ब्याड टचका बारेमा जानकारी दिनु आवश्यक थियो, त्यही समयमा उनीहरूलाई उचित स्वास्थ्य परामर्श दिनु अत्यन्तै जरुरी छ।

कतै हामी बिकिनी लगाएर स्वीमिङ पुलमा फोटो खिचाउनुलाई त यौनका मामिलामा खुला भनिरहेका छैनौं ? कतै छोटा कपडा लगाउनु र बिहेअघि सँगै बस्नुलाई यौनबारे खुल्दै गएको भनिरहेका त छैनौं ?

यदि यसैलाई खुला भनिरहेका छौं भने हामी गलत छौं। हाम्रो समाज त पहिलेदेखि नै यौनका बारेमा खुला थियो, अब सोचाइलाई मात्रै खुला बनाउन जरुरी छ।

– कविता सैपाल,
कोटेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्