नैतिकताको प्रश्न



सत्ताधारी नेकपाका प्रभावशाली नेता कृष्णबहादुर महराको नामका अगाडि ‘पूर्वसभामुख’ विशेषण लागिसकेको छ। संघीय प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा रहेका व्यक्ति बलात्कार जस्तो फौजदारी र सरकारवादी विवादमा फसेपछि पदमा बसिरहने अवस्था पनि थिएन।

आरोप लगाउने महिलाले प्रहरीसमक्ष लिखित उजुरी नदिए पनि महराविरुद्धको आरोप सञ्चारमाध्यममा व्यापक बन्यो। सत्ताधारी दल नेकपाको सचिवालको बैठकले महरालाई सभामुख तथा सांसद पदबाट राजीनामा दिन निर्देशन दिएपछि उहाँले पालना गर्नैपथ्र्याे।

आरोप लगाए जस्तै बलात्कारको दुस्प्रयास नभए पनि कुनै प्रकारको असामाजिक सम्बन्ध थियो भन्नेमा नेकपा सचिवालय विश्वस्त बनेपछि नै राजीनामाका लागि निर्देशन आएकाले महराले नैतिकताका कारण पनि पदमा बसिरहन सम्भव थिएन।

जति बढी पदीय जिम्मेवारी त्यति बढी नैतिक दायित्वको नियम लागू हुन्छ। तर, आम नागरिक र सामान्य कर्मचारीले पनि नैतिक दायित्व निर्बाह गर्नुपर्छ।

संघीय संसद्कै स्वास्थ्य सेवा विभागमा कार्यरत महिला जसले महरालाई बलात्कारको दुस्प्रयासको आरोप लगाउनुभयो, उहाँले पनि नैतिक जिम्मेवारी बहन गर्नुपर्छ।

तर, बलात्कार जस्तो जघन्य अभियोग लगाउने महिला भोलिपल्टै ‘उहाँ त मेरो पितासमानको व्यक्ति’ भन्नुहुन्छ। उहाँले पनि नैतिक धरातल गुमाउनुभएको प्रस्ट हुन्छ।

माओवादी जनयुद्धमा जनसेनाको स्वास्थ्य विभागमा कार्यरत रहेकी ती महिलालाई संसद् भवनमा कार्यरत रहँदा महराको नाम र पद देखाएर काममा अटेर गर्ने र सुविधाका लागि दबाब दिने व्यक्तिका रूपमा उनका सहकर्मीहरूले टिप्पणी गरेका छन्।

डिप्रेसनको औषधि सेवन गर्ने गरेकी महिलाले तीन महिनाअघि घरमा झगडा परेपछि बिष सेवन गरी २६ दिन सिभिल अस्पतालमा उपचार गराएर घर फर्कनुभएको र बिरामीलाई भेट्न महरा दुईपटक जानुभएको विवरणले एकातिर महिलाको मानसिकता चित्रण गर्दछ भने अर्कातिर दुई व्यक्तिबीचको सम्बन्ध ‘पारिवारिक’ स्तरमै विकास भएको पुष्टि हुन्छ।

महराले आफ्नो स्तर र पदीय मर्यादालाई बिर्सेर महिलाको ओछ्यानसम्म पुग्ने हदको ‘पारिवारिक सम्बन्ध’ राख्नु नैतिक दृष्टिले गम्भीर कमजोरी हो।

महिलाको सामाजिक सञ्जाल अध्ययन गर्दा उहाँ शिष्ट र सभ्य पनि देखिनुहुन्न, भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालप्रति महिलाको टिप्पणी हेर्दा मात्र पनि यही तथ्य पुष्टि हुन्छ।

व्यक्ति नैतिकवान भएर मात्र पुग्दैन, नैतिकवान देखिनु पनि पर्छ। महराको सम्बन्ध पितातुल्य नै होला, तर बाहिर त्यस्तो देखिएन। नैतिक सवाल खडा भयो, उहाँले राजीनामा नै दिनुपर्यो। तर, राजीनामाभन्दा पनि एक प्रभावशाली व्यक्तिको राजनीतिक जीवन समाप्त भयो।

उहाँसँग सम्बन्धित दलको मात्र होइन मुलुककै बद्नाम हुने काम भयो। यी सबै अप्रिय कार्य भवितव्य मात्र होइन, महराले नैतिक पक्षलाई समयमै स्थान दिन नसकेका कारणले नै यो अप्रिय घटनाको सामना गर्नुपरेको पाठ सबैका लागि मननीय भएको छ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली तथा माओवादी सशस्त्र विद्रोह कालदेखिकै महराका नेता रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि उपयुक्त व्यक्तिलाई गरिमामय पदमा आसीन गराउन नसकेको पुष्टि भएको छ।

पहिला पनि टेप प्रकरणमा विवादित महरालाई ढाल बनेर रक्षा गर्ने नेताहरूले पनि यस प्रकरणमा केही हदसम्म नैतिक जिम्मेवारी लिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्