मेरो मनमा उठ्ने अनेक प्रश्न



स्थापित सरकार बनेको यतिका समय भैसक्यो। स्थानीय तह, प्रदेश, केन्द्र सरकार कुनैले पनि आफ्नो मर्यादामा बसेको काम गरेको पाइँदैन। यत्रो अवधिमा हामीले के पायौं?

यो सोचनीय विषय नै छ अर्थात् सरकारले यो अवधिमा देखिनलायकका काम के–के गर्यो त। म कुनै पार्टीको कार्यकर्ता पनि होइन र कसैको कामप्रति आग्रह र पूर्वाग्रहका साथ यो लेखेको पनि होइन।

जीवनमा धेरै त्यस्ता कुरालाई देखेको छु, जहाँ साँच्चिकै पीडितले पीडा भोगिरहेकै छन्, उनीहरूको स्तर हिजो जहाँ थियो आज पनि त्यहीँ नै रहेको छ। साँच्चिकै परिवर्तन केका लागि र किन भएको थियो त ? मनमा अनगिन्ती प्रश्नहरू उठ्ने गरेका छन्।

किनकि हिजोका दिनमा हरेक नागरिकले न्याय पाउँछन्, अधिकारबाट कसैलाई वञ्चित गरिनेछैन, विभेद कसैले कसैलाई गर्नेछैन भन्दै सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउने भन्दै प्रचार गरियो।

तर आजका दिनमा पनि शासन व्यवस्था त उस्तै नै रहेको छ, हिजोका दिनमा भनेजस्तो अधिकार र दरबार कता हरायो कुन्नि, सिंह भने गाउँमा प्रवेश गरेकै छ।सरकार दिन–प्रतिदिन निरीह बन्दै गएको छ। पीडित पीडित नै छन्।धनी धनी नै छन्।तर फरक केही छैन। सबै उस्तै।

सडकको बिजोग अवस्था र खोलामा समयमा पुल नबन्दा नागरिकले भोग्नुपरेको पीडा, स्वास्थ्य उपचारका लागि नजिकैको छिमेकी मुलुक धाउनुको पीडा, स्थानीय उत्पादनलाई प्राथमिकताका साथ उद्योग प्रवद्र्धनका सवालमा सरकार मौन बनिदिँदा युवा विदेश पलायन हुनेदेखि अनेकौं समस्यालाई सबैले सहर्ष स्वीकार गर्दै बसेको मैले दैनिकरूपमा देखेको छु। स

मस्या अनगिन्ती छन् तर पनि ती समस्यालाई कसरी समाधान गर्ने भन्ने ध्याउन्नमा सरकार पनि लागेकै होला। त्यसै त सरकार पनि काहाँ बसेको होला र ? मेरो मनमा पनि यस्ता प्रश्न कहिलेकाहीँ उठ्ने गर्छन्।

– सुविन कार्की, डाँडागाउँ, बूढानीलकण्ठ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्