निशा मिस ग्रान्ड इन्टरनेसनल–२०१९ मा



भेनेजुयलाको काराकासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता मिस ग्रान्ड इन्टरनेसनल–२०१९ मा नेपालको प्रतिनिधित्व निशा पाठकले गर्ने भएकी छन्।

९ देखि २६ अक्टोबरसम्म हुने प्रतियोगितामा निशा नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेकी हुन्। उनी नेपालको एक्लो प्रतिनिधि हुन्।

निशालाई कस्मो ट्रेडिङ प्रालिले बुधबार राजधानीमा एक कार्यक्रमका बीच नगद रु. ५० हजार रुपियाँ सहयोग गरेको छ। नेपालको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय कार्यक्रमा सहभागी हुन लागेको निशालाई हौसला प्रदान आफूले साना सहयोग गरेको कस्मो ट्रेडिङका अध्यक्ष रेशम लामाले बताए।

बलिउड शो डाउन नेपाल नामक संस्थाले निशालाई मिस ग्रान्ड नेपाल–२०१९ को उपाधिसहित मिस ग्रान्ड इन्टरनेसनल–२०१९ मा पठाउन लागेको हो।

८० देशका सुन्दरीको सहभागिता रहने प्रतियोगितामा निशाले भिजिट नेपाल–२०२० को प्रचार गर्दै विश्वका प्रतिनिधिलाई नेपाल भ्रमणको निम्तोसमेत दिनेछिन्।

इप्लानेट प्रालिको संयोजनमा प्रतियोगितामा सहभागी हुन लागेकी निशाले नेपाली कला संस्कृति झल्कने विभिन्न भेषभूषासहितको नृत्यसमेत कार्यक्रममा प्रस्तुत गर्ने छिन्। प्रतियोगिताका लागि निशाले प्रशिक्षणसमेत लिएकी छन्।

२२ वर्षीया निशासँग मिस हेरिटेज इन्टरनेसनल–२०१५, मिस्टर एन्ड मिस कल्चर वल्र्ड–२०१९ लगायत सौन्दर्य प्रतियोगिताको समेत अनुभव रहेको छ।

नेपालका लागि शीर्ष उपाधि भित्याउने लक्ष्यसहित आफू प्रतियोगितामा सहभागी हुन लागेको निशाले बताइन्। नेपाल चिनाउन मेरा लागि यो एउटा अवसर हो। सफल भएर फर्किनेछु।’ –उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्