नेपालको सिरिजमा दोस्रो हार



नेपाल समाचारपत्र, काठमाडौं।सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत मंगलबार भएको खेलमा नेपालले पराजय बेहोरेको छ। सिंगापुरको एआई मैदानमा भएको खेलमा नेपालले जिम्बावेसँग ४० रनले हार आत्मसात गरेको हो।
जिम्बावेले दिएको १ सय ६१ रन लक्ष्य पछ्याउन कोसिस गरेको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रनमा समेटियो। यो नेपालको सिरिजमा दोस्रो हार हो। सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँगै ५ विकेटले हारेको थियो।
यो नतिजापछि जिम्बावे ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा उक्लियो भने नेपालको ३ खेलबाट ३ अंक छ। नेपालले आज सिंगापुरसँग खेल्नेछ। फाइनल पुग्नका लागि नेपालले सिंगापुरलाई हराउनै पर्छ।

यदि नेपालले यो खेल पनि गुमाएमा नेपाल सिरिजबाट बाहिरिनेछ। त्यसो त नेपालले यसअघिको खेलमा सिंगापुरलाई सहजै पराजित गरेको थियो। सिंगापुरले भने जिम्बावेलाई हराएर आश्चर्यजनक नतिजा निकालेको थियो।

नेपालको ब्याटिङ निकै दवावबाट शुरू भएको थियो। कप्तान पारस खड्का र पवन शर्राफले ओपनिङ गरेको सो खेलमा यी दवै जना छिटै आउट भएका थिए।

पवन पहिलो ओभरको छैटो बलमा सीन विलियम्सको बलमा शून्यमै पवेलियन फर्केका थिए। उपकप्तान दीपेन्द्र सिंह ऐरी पनि दोस्रो ओभरमा चताराका सिकार भए।

उनले चौका प्रहार गरेर खाता खाले तर उनी सोही ओभरमा आउट भएका थिए। यसपछि कप्तान खड्का पनि उनीहरूकै पथ लागे। उनले २२ बलमा २ चौकाको सहयोगमा १२ रन बनाउँदा विलियम्सको बलमा आउट हुन पुगे। उनी आउट हुँदा नेपालको स्कोर ३–३३ को स्थितिमा थियो।

आरिफ शेख र विनोद भण्डारीले चौथो विकेटका लागि २० रन जोडे। आरिफ २५ रन बनाएर मुटोमबोड्जीको बलमा पवेलियन फर्केका थिए। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। यो साझेदारी टुट्नु नेपालको लागि निकै घाटा भएको थियो।
यहीबाट नै नेपाल पराजित हुने तय भएको थियो। कुनै पनि ब्याटसम्यानले जमिरहेका विनोदलाई साथ दिन नसक्नु नै नेपालको हार पक्का भएको थियो। कुशल मल्ल ५, सोमपाल कामी ७, सन्दीप लामिछाने ५, सुसन भारी शून्यमा आउट भएका थिए।

करण केसीले १८ रन जोडे भने विकेट किपर विनोदले सर्वाधिक ३३ रनको योगदान दिएका थिए। विनोदले ३५ बलमा ४ चौका प्रहार गरेका थिए। नेपालको ब्याटिङ जम्न नदिन म्यान अफ द म्याच विलियम्स कारक बनेका थिए। उनले ३ विकेट लिएर २१ रन खर्चेका थिए।

यसअघि ब्याटिङमा पनि कप्तान विलियम्स नै नेपालका लागि घातक ब्याटसम्यान सावित भएका थिए। टस हारेर ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानमा १ सय ६० रन बनाउँदा विलियम्सले ५३ रन जोडेका थिए।

कप्तान पारसकै बलमा बोल्ड भएका उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए। उनको अलावा रायन बुरी नटआउट हुँदै २८ रन जोडेका थिए।

नेपालका बलरमा सन्दीप लामिछानेले शुरूमा दुई विकेट लिएर नेपाललाई राम्रो शुरुआत गराएका थिए। पछिको स्पेलमा भने उनले विकेट लिन सकेनन्। यस्तै सोमपाल कामीले पनि २ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्