करदातालाई सहज हुँदै गएको विभागको दाबी



डीबी बुढाथोकी, काठमाडौं। आन्तरिक राजस्व विभागले फर्म दर्ता, कर विवरण दर्ता र कर भुक्तानीलाई प्रविधिमैत्री बनाएको छ। कार्यालयमा लाइन लाग्नुपर्ने अवस्था नरहेको र बैंकमार्फत भुक्तानी गर्दा मूल्य अभिवृद्धि करको हकमा प्रत्येक २५ गते र आयकरको हकमा प्रत्येक तीन महिनाको मसान्तमा सामान्य लाइन लाग्नुपर्ने आन्तरिक राजस्व विभागका प्रवक्ता मुक्तिप्रसाद पाण्डे बताउनुभयो।

करदातालाई सर्वसुलभ सेवा सुविधा उपलब्ध गराउन सधैं लागि परेको बताउँदै पाण्डे भन्नुहुन्छ–‘करदाताले दुःख बेहोर्नु नपरोस, कर बुझाउने लाग्ने लागत निकै न्यून होस् भन्ने कुरामा हामी सधै प्रयत्नशील छौं। यसै उद्देश्यका साथ सबै कार्यालयमा हेल्प डेक्स स्थापना गरेका छौं।

घरमा कम्प्युटर तथा इन्टरनेट सुविधा उपलब्ध नहुने करदाताका लागि प्राविधिक जनशक्तिसहित छुट्टै डेलिकेटेट कम्प्युटर निःशुल्क उपलब्ध गराएका छौं। कर भुक्तानी गर्न करदाता ठाउँ–ठाउँमा जानु पर्दैन। हरेक कर कार्यालय परिसरमा एभरेष्ट बैंक वा अरू कुनै वाणिज्य बैंंकको शाखा व्यवस्था गरेका छौं।

करदताले प्रत्येक कार्यालयमा सूचना अधिकारी, गुनासो सुन्ने अधिकारी र करदाता बडापत्र प्राप्त गर्न सक्नुहुन्छ। बिकट भौगोलिक स्थानमा रहेका करदातालाई सुविधा होस् भन्ने हेतुले व्यवसाय दर्ता, कर विवरण भर्ने, कर संकलनार्थ मोबाइल सेवा समेत उपलब्ध गराएकाछौं।’

आन्तरिक राजस्व विभागको सिस्टमले दलालको परिकल्पना नगरेको अनुगमन तथा मूल्याङ्कन शाखाका निर्देशक महाराज कोइरालाले बताउनुभयो। कोइरालले भन्नुभयो–‘हाम्रा ऐन, कानुन, कार्यविधिले र सिस्टमले दलालको परिकल्पना गरेको छैन।

बरु निकायको हकमा सबै कारोबार र प्राकृतिक व्यक्तिको हकमा एक करोड बढीको कारोबारको आय विवरण पेस गर्दा लेखापरीक्षकको प्रमाणित विवरण आवश्यक पर्छ। करतादालाई सजिलो होस् भन्नका लागि विभागले कर सहयोग नियुक्त गरेको छ।’

आन्तकिर राजस्व विभाग मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क प्रशासनको जिम्मेवार निकाय हो। स्वैच्छिक कर सहभागिता, करदातामैत्री सेवा, न्यायपूर्ण र सक्षम कर प्रणाली आन्तरिक राजस्वको मुल लक्ष्य मानिन्छ।(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्