इन्डोनेसियामा श्रेष्ठलाई दोस्रो स्थान



नेपाल समाचारपत्र, काठमाडौं । इन्डोनेसियामा जारी ५३औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स प्रतियोगितामा नेपालकी रजनी श्रेष्ठले दोस्रो स्थान हासिल गरेकी छन्।

सोमबार इन्डोनेसियाको बाताम शहरमा भएको सो प्रतियोगिताअन्तर्गत ३० वर्षभन्दा माथिको महिला शारीरिक सुगठन प्रतियोगितामा समेत श्रेष्ठले तेस्रो स्थान प्राप्त गरेको जनाएको छ।

३६ वर्षीया श्रेष्ठले पहिलो सहभागितामै राष्ट्रको झण्डा फहराउन सफल भएकी छिन्। ५५ केजी तौल समूहमा भारतकी ब्रह्मचारी अमला प्रदीपलाई पछि पारेर उनले रजत पदक प्राप्त गरेकी हुन्। उक्त विधामा भियतनामकी तोन हायाङ खान लानले स्वर्ण पदक जितेकी छिन्।

यसै गरी ३० वर्षभन्दा माथिको समूहमा भने श्रेष्ठले कांस्य पदक जितेकी हुन्। उक्त समूहमा भियतनामकी नुगुयेन बिच ट्रामले स्वर्ण पदक जितिन् भने भियतनामकै तोन होयाङले रजत पदक हासिल गरेकी थिइन्। उक्त प्रतियोगितामा २८ राष्ट्रका करिब ३ सय ५८ खेलाडीले सहभागिता जनाएका छन्।

यसै गरी नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोट्र्स महासंघको उपाध्यक्षमा मनोनित भएका छन्। एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोट्र्स महासंघको इलेक्टोरल कंग्रेसको बैठकले श्रेष्ठलाई दोस्रोपटक मनोनित गरेको हो।

प्रतिक्रिया दिनुहोस्