बजारमा प्याज एक्कासी महँगियो



नेपाल समाचारपत्र, काठमाडौं।भारतको केन्द्रीय सरकारले प्याज निर्यातमा रोक लगाउँदा नेपाली बजारमा प्याजको मूल्य उच्च भएको छ। भारतीय बजारमा प्याजको मूल्य उच्च भएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्नका लागि भारतले प्याज निर्यातमा रोक लगाएको हो।
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा दशैंको मुखमा प्याजको मूल्य बढेको छ। भारतले मागको आन्तरिक माग धान्न इजिप्ट र अफगानिस्तानबाट प्याज आयात गर्ने निर्णय गरेको छ। भारतबाट प्याज नआउने भएपछि स्थानीय बजारमा व्यवसायीले प्याज लुकाउनुका साथै महँदो दरमा बेच्न थालेपछि प्याजको भाउ उच्च भएको छ।

आइतबारसम्म ८५–९० रुपियाँ प्रतिकिलो प्याज बिक्री गर्दै आएका व्यवसायीले सोमबार एकैपटक प्रतिकिलो १३५ रुपियाँमा बिक्री गर्न थालेका छन्।बजारमा प्याज बढी मूल्यमा बिक्री गरेको तथा अभाव हुँदै गएको गुनासो बढ्दै गएपछि सरकारले बजार अनुगमन गरेको छ।

कालीमाटी तरकारी तथा फलफूल बजारलगायतका क्षेत्रमा प्याजको अनुगमन गरेको र कैफियत देखिएकालाई बयानका लागि बोलाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको द्ध। मन्त्रालयले प्याजको स्टक पर्याप्त रहेकाले अभाव नहुने दाबी गरेको छ।

बजारमा प्याजको मूल्य एक्कासी बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ।

व्यापारीले मौज्दातमै रहेको प्याजको मूल्य बढाएर बिक्री गरेको हो वा उनको खरीद मूल्य नै बढी परेको हो भन्नेमा अनुसन्धान भइरहेको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताउनुभयो।

यसैबीचनेपाल चेम्बर अफ कमर्शले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा देखिएको असहज अवस्था हटाउन आग्रह गरेको छ। ठूला गाडीको प्रवेशमा रोक लगाइएसँगै राजधानीमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या भएको ठहर गर्दै चेम्बरले तत्काल आपूर्ति व्यवस्थामा ध्यान दिई ढुवानीका साधनलाई काठमाडांै प्रवेशमा सहज वातावरण बनाउन अनुरोध गरेको छ।
राजधानी प्रवेशको मुख्य नाका नागढुङा क्षेत्रमा अत्यधिक ट्राफिक जाम भएको भन्दै सरकारले तत्कालका लागि छ चक्केभन्दा ठूला ट्रकको काठमाडौँ प्रवेशमा रोक लगाएको छ।
आयातित वस्तुमा कारोवार मूल्यलाई मान्यता नदिइएको कारणले पनि मूल्यवृद्धि हुन पुगेको चेम्बरले जनाएको छ। चाडबाडका बेलामा मात्र गरिने बजार अनुगमन मूल्यवृद्धिको प्रमुख कारक बनेको चेम्बरको निष्कर्ष रहेको छ।

प्रतिक्रिया दिनुहोस्