दुई करोडको खानेपानी आयोजना



नेपाल समाचारपत्र,प्यूठान।प्यूठानको ऐरावती गाउँपालिका–६ बिजुलीमा करोडौंको लागतमा खानेपानी योजना निर्माण कार्यको शुरुआत भएको छ। लिफ्ट प्रविधिमार्फत एक वर्षभित्रै गाउँमा खानेपानी ल्याउने लक्ष्यका साथ काम अघि बढेको छ।

चौबीसै घण्टा खानेपानी सुविधा पुर्याउने गरी कुल २ करोड ५७ लाखको लागतमा बोलपत्र सदर गरी यसै चालू आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सक्ने गरी गाउँपालिका र जोसी, आशु इसान निर्माण सेवाबीच सम्झौता भएको गाउँपालिकाले जनाएको छ।

ऐरावती गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले एक वर्षभित्रै झिमरुकको पानी ‘लिफ्ट’ प्रणालीबाट तानेर गाउँमा पुर्याइने बताउनुभयो। योजना सकिएपछि ऐरावतीको बिजुलीकोटसहित यस आसपासका बरमपोखरा सेकेथुम कोटसेरा, च्युरापानी ओखलढुंगा, धाइरेचौर मडाई, थानटोला, थाम नयाँ गाउँलगायतका स्थानका १ हजार ५ सय उपभोक्तालाई फाइदा पुग्ने छ।

प्राविधिक अध्ययनबिनै जथाभावी खनिएका सडकले खानेपानीको मूल सुकेपछि लिफ्ट प्रविधिबाट खोलाको पानी डाँडामा तानेर वितरण गर्ने अभियान जिल्लाभर शुरू भएको छ। अग्ला पहाडमा पानीका ठूला मुहान पनि छैनन्। सानातिना मूलमा पनि पानी भासिँदै गएपछि गाउँमा खानेपानीको अभाव बढ्दो छ।

गाउँभन्दा माथि खानेपानी मुहान नभएपछि लिफ्ट प्रविधि प्रयोग गर्न लागिएको उपाध्यक्ष बस्नेतको भनाइ छ।‘वर्षौंदेखि खानेपानीको समस्या झेलेका गाउँबासीमा खुसीयाली छाएको छ’ उपाध्यक्ष बस्नेतले भन्नुभयो, ‘पानीकै कमीका कारण पशुपालन, कृषि उत्पादन घट्दो छ। बसाइँसराइ पनि रोकिएको छैन।

यसैले ५ वर्षभित्रमा पालिकाका सबै बस्तीमा खानेपानीको पहुँच पुर्याउने नीतिअनुसार काम गर्दै छौं’।उपाध्यक्ष बस्नेतका अनुसार आयोजनाको कार्यान्वयनमा प्रदेश र संघीय सरकारबाट सहयोग प्राप्त भएको छ।

यसको लागि ८ सय ५० मिटर तल रहेको झिमरुक खोलाबाट विद्युतीय मोटरले तानेको पानीलाई ट्यांकीमा भण्डारण गरी घरघरमा वितरण गरिनेछ। पानी संकलनका लागि २० घनमिटर क्षमताको रिजर्व ट्यांकी ४ ठाउँमा निर्माण गरी घरघरमा खानेपानी वितरण गरिने सब–इन्जिनियर प्रजापति ज्ञवालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्