जोरायल बस दुर्घटनाले उजाडेको जिन्दगी



विमल विष्ट, डोटी।स्नातकोत्तर तह अध्ययनरत कल्पना विष्टले आफ्नो जीवन यसरी एकाएक उजाडिएला भन्ने सपनामा पनि चिताउनुभएको थिएन। काखमा छोरी, जागीरे श्रीमान् डडेलधुरा जिल्ला सदरमुकामको बसाइ। खुसी र सुखी जीवन।

तर, एउटा सडक दुर्घटनाबाट डडेलधुरा अमरगढी नगरपालिका–४ की कल्पनाको परिवारको खुसी मात्रै खोसिएन, उहाँ आफैं पनि अर्काकोसहाराबिना बाँच्न नसक्ने हुनुभयो। विसं २०७१ असोज २० गते डोटीको जोरायल गाउँपालिका–२ (तत्कालीन छतिवन गाविस–५) कट्पत्तेमा भएको बस दुर्घटनाले यस्तो अकल्पनीय विपद् ल्याइदिएको हो। त्यस दुर्घटनामा कल्पनाले आफ्नो श्रीमान् र छोरी मात्रै गुमाउनु भएन, आफू पनि कहिल्यै निको नहुने गरी घाइते हुनुभयो।

दुर्घटना हुनुभन्दा तीन वर्षअघि मात्रैसँगै जिउने र सँगै मर्ने वाचासहित डडेलधुराका लक्ष्मण ठकुराठीसँग विवाह बन्धनमा बाँधिनु भएकी कल्पनाको लक्ष्मणसँग सँगै जिउने सपना चकनाचुर भयो। उहाँ अहिले काभ्रेको स्पाइनल इञ्जुरी पुनःस्थापना केन्द्रमा हुनुहुन्छ।

जोरायल गाउँपालिकामा आमाबुबाका हातबाट दशैंको टीका थापेर सपरिवार घर फर्किरहेका बेला भएको बस दुर्घटनाले कल्पनाको जीवन नै उजाड बनाइदियो। मेरुदण्डमा चोट लागेपछि पक्षाघात भएर बाँचिरहनु भएकी २९ वर्षीया कल्पनाले श्रीमान् र छोरीको शवसमेत हेर्न पाउनु भएन। दुर्घटनामा घाइते भइसकेपछि कल्पनाले जिउने आस मारिसक्नुभएको थियो।

उपचार गर्ने चिकित्सकले ‘निको हुन्छ’ भनेपछि उहाँ पहिलेजस्तै हिँड्डुल गर्न सक्ने आशामा हुनुहुन्थ्यो। ‘तत्कालै सात महिनासम्म भारत लखनऊको सिमरा अस्पतालमा उपचार गराएपछि डाक्टरले अब घरमा गएर थेरापी गर्नु, विस्तारै ठिक हुन्छ भनेर फिर्ता पठाए’ कल्पना भन्नुहुन्छ– ‘तर, घरमा बस्दा कुनै सुधार नभएपछि फेरि उपचारका लागि नयाँ दिल्ली गएँ र त्यहाँ पनि एक महिना बसें। निको भएन।’

एक महिनासम्म विभिन्न अस्पतालमा जाँच गराउँदा मात्रै कल्पनालाई थाहा भयो कि अब उहाँ कहिल्यै हिँड्न सक्नुहुन्न। मेरुदण्डको पक्षाघातको उपचार सम्भव नभएको कुरा उहाँलाई नयाँ दिल्लीमा थाहा भयो।

भारतको नयाँ दिल्लीबाट फर्केपछि उपचारका लागि कल्पना फेरि नेपालको काभ्रे जानुभयो। शौच भएको पनि जानकारी नहुने गरी तल्लो शरीर पूरै निष्कृय हुनुभएकी कल्पनालाई पुनःस्थापना केन्द्रमा मेरुदण्ड पक्षाघात भएकाले कसरी जिउने भन्ने कला सिकाइयो। अहिले उहाँ त्यही पुनःस्थापना केन्द्रमा परामर्शकर्ताको रूपमा काम गरिरहनुभएको छ।

आफ्ना पीडा सम्झिँदै कल्पना भन्नुहुन्छ, ‘यो अवस्था होला भन्ने सोचेकी थिइनँ। हाँसीखुसी जीवन बित्छ भन्ने लागेको थियो तर, अर्काको सहारामा बाँच्नु पर्ने भयो।’आफ्नो परिवारै गुमाउनु भएकी कल्पनाले हिम्मत भने हार्नु भएको छैन। उहाँ अगाडि भन्नुहुन्छ– ‘मानव जीवन यस्तै हो भनेर चित्त बुझाउन सक्नुपर्छ। जे भयो त्यही कुरा सम्झेर के गर्नु ?’

कल्पनाको जस्तै उजाडिएको अर्को जीवन हो–३५ वर्षीया कृष्णा शाहीको। कैलालीको तेघरीमा बस्दै आउनुभएकी कृष्णाको परिवार दशैं मनाउन जिल्लाको जोरायल गाउँपालिकामा आएको थियो। दुई छोरा र एक छोरीलाई तेघरीमै छोडेर दशैं मनाउन आउनुभएको उहाँको जोडीलाई उक्त घटनाले कहिल्यै मिलन नहुने गरी बिछोड गरायो।

कृष्णाका श्रीमान् राजेन्द्र शाहीको दुर्घटनास्थलमै मृत्यु भयो। कृष्णा पनि कल्पना जस्तै मेरुदण्डको पक्षाघात भएर बाँचिरहनु भएको छ। ‘यस्तो घटना होला भन्ने सोचेका पनि थिएनंै’ कृष्णाका भतिजा शेरबहादुर शाही भन्नुहुन्छ– ‘काका–काकीको जीवन हाँसीखुसीसाथ बितेको थियो तर, दैवले एकाएक उजाड पारिदियो।’

मेरुदण्डको पक्षाघात भएर शौचसमेत भएको थाहा नपाउने कृष्णालाई अहिले उहाँका नाबालक छोराछोरी र भतिजी बुहारीले जिउने सहारा दिइरहेका छन्।
विसं २०७१ को दशैं सक्किएको भोलिपल्ट ना३ख ५७०७ नं. को सुदूरपश्चिम यातायातको बस जोरायलबाट धनगढी जाने क्रममा दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परी स्थानीय २९ जनाको अकालमै ज्यान गयो भने अन्य ६८ जना घाइते भएका थिए। बसको क्षमताभन्दा बढी यात्रु भएर बसको पत्ता टुटेपछि दुर्घटना भएको थियो। बस चालक विष्णु साहु अहिले कारागारमा सँजाय भुक्तान गरिरहेका छन्।

जिल्लामा वर्षेनी दशैं र तिहारको समयमा सवारी दुर्घटना हुने गरेका छन्। चाडबाडको समयमा बढी जसो दुर्घटना हुने भएकाले यहाँको प्रहरी प्रशासनले सवारी अनुगमनमा कडाइ गर्दै आएको छ।

यद्यपि, चालकको लापर्बाही र बढी यात्रु बोक्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढ्न थालेको दीपायलका समाजसेवी घनश्याम पाठकले बताउनुभयो। उहाँले भन्नुभयो– ‘चाडपर्वकै बेलामा जिल्लामा ठूला सवारी दुर्घटना हुन्छन्।

प्रहरी पनि यसैबेला बढी सक्रिय हुन्छन् तर पनि दुर्घटना कम भएको छैन।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलको तथ्यांकअनुसार चाडपर्वमा भएका सवारी दुर्घटनामा मात्रै यस जिल्लामा १ सय भन्दा बढीले अकालमै ज्यान गुमाउनुपरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामी ग्रामीण सडकमा ट्राफिक प्रहरी नहुने र चालकले आफूखुसी क्षमताभन्दा बढी यात्रु कोच्ने गरेका कारण वर्षेनी दुर्घटना हुने गरेको बताउनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्