मनपरि गाडीभाडाले हैरान



चाडबाडको समयमा विभिन्न बहानामा यातायात व्यवसायीहरूले यात्रुलाई ठग्ने गर्छन्। एउटै गन्तव्यको लागि फरक–फरक भाडा लिने प्रवृत्ति पनि यद्यपि कायमै छ। तर सम्बन्धित निकायले उचित अनुगमनको व्यवस्था गर्न सकेको देखिँदैन।

केही हप्ताअघि चितवन ट्राफिक प्रहरीले छड्के चेक जाँच गर्दा यात्रुबाट बढी भाडा लिइएको फेला पारेको थियो। ट्राफिकले यात्रुलाई बढी तिरेको भाडा ठाउँका ठाउँ फिर्ता गराएको थियो।

यात्रुका बाध्यात्मक परिस्थितिको फाइदा उठाउँदै व्यवसायीहरूले मनलाग्दी भाडा उठाउने गर्छन्। प्रशासनको जिम्मेवारी भनेको यात्रुलाई सुरक्षित र भरपर्दो यात्राका लागि व्यवस्था मिलाउने, सार्वजनिक यातायातमा यात्रुले प्रस्टसँग देख्ने गरी भाडादर टाँस्न लगाउने, सरकारले तोकेको भाडादर पूर्णरूपमा कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने हो।

तर मनपरि भाडा असुले पनि प्रशासन मौन रहनु व्यवसायीलाई लुट्न प्रश्रय दिनु हो।सरकारले पहाडी क्षेत्रमा प्रतिकिलोमिटर २ रुपियाँ ९ पैसा प्रतिव्यक्ति भाडा लिने सहमति गरे पनि यात्रुले भने झन्डै दोब्बर भाडा तिर्नुपर्ने नियति छ।

तत्काल उजुरी गर्ने र उजुरीअनुसार यात्रुले अनुभूति गर्ने गरी सम्बन्धित व्यवसायीलाई कारबाही हुने व्यवस्था हुन सके व्यवसायीको दादागिरी केही हदसम्म मत्थर हुने थियो।

– विनोद पोख्रेल,
सानोठिमी, भक्तपुर।

प्रतिक्रिया दिनुहोस्