बुटवलमा दशैं सस्तो बजार शुरु



नेपाल समाचारपत्र, बुटवल।बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा आइतबारदेखि बुटवलमा १९औं संस्करणको दशैं सस्तो बजार शुरु भएको छ।

बुटवल उद्योग बाणिज्य संघ सचिवालय परिसर बालमन्दिरमा सञ्चालन गरिएको दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्नुभएको हो।

दशैं सस्तो बजार उद्घाटन कार्यक्रममा बोल्दै मेयर सुवेदीले चाडपर्वलाई लक्षित गरेर दशैंको समयमा बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गरेर राम्रो काम गरेको औंल्याउँदै सस्तो बजारमा बिक्री वितरण गरिने वस्तुको गुणस्तरमा कायम गर्न पनि आग्रह गर्नुभयो।

उहाँले बुटवल नगरपालिकाले आगामी तीन वर्षभित्रमा बेरोजगार युवालाई सीप सिकाएर बेरोजगारी समस्या निर्मुल गरिने बताउनुभयो।

त्यस अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीले उपभोक्तालाई ध्यानमा राखेर बुटवल उद्योग बाणिज्य संघले निरन्तर दशैं सस्तो बजार सञ्चालन गरेर राम्रो काम गरेको बताउनुभयो।

उहाँले अहिले पनि नेपाली उपभोक्ता सुनौली पारी बजार गर्न जाने प्रवृत्ति कायमै रहेको बताउँदै सस्तो मात्रै भन्दा पनि गुणस्तरीय सामानको उपभोगमा पनि ध्यान दिन आग्रह गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्