“आउँदो चुनावसम्म गुमेको साख कांग्रेसले फर्काउँछ”



रमेशप्रसाद हुमागाईं
कांग्रेस नेता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेशप्रसाद हुमागाईं पेसाले अधिवक्ता हुुनुहुन्छ। २०५४ सालदेखि नियमित वकालत गर्दै आउनुभएका हुमागाईं छुवाछुत र महिला हिंसाविरुद्ध मात्र हैन बालको अधिकारको क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ। उहाँ बंैक, सहकारीलगायत दर्जनौं वित्तीय संस्थाको कानुनी सल्लाहकारको भूमिकामा पनि हुनुहुन्छ। आफ्नो पेसासँगै राजनीतिलाई पनि एकसाथ अघि बढाइरहनुभएका हुमागाईं हाल प्रदेशसभा क्षेत्रको सभापति हुनुहुन्छ। स्कुलमा अध्ययन गर्दादेखि नै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी हुनुभएका उहाँमा कांग्रेसको संगठनमा गाउँ तहदेखि नै कार्य गरेको लामो अनुभव छ। प्रमुख प्रतिपक्ष दल कांग्रेस केन्द्रदेखि टोल तहसम्म गुट–उपगुटमा विभाजित भएको, पार्टी संगठन लथालिंग भएको, प्रतिपक्षको भूमिका प्रभावहीन भएको तथा सरकारका गलत क्रियाकलापविरुद्ध जनदबाब बढाउन नसकेको जस्ता आरोप तथा कांग्रेसको भावी कार्यदिशा बारे केन्द्रीय तहबाट विभिन्न विचार आइरहे पनि जिल्ला तहको अवस्था कस्तो छ भन्ने सन्दर्भलाई लिएर नेपाल समाचारपत्रका प्रतिनिधि रामकृष्ण चापागाईंले गरेको कुराकानीको सारसंक्षप ः

नेपालको राजनीतिमा लामो इतिहास बोकेको नेपाली कांग्रेस गत निर्वाचनपछि इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ। कांग्रेस यति धेरै कमजोर हुनुको कारण के होला ?

नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको हैन। जनताबाट दुई तिहाइ बहुमत ल्याउँदासमेत जनमुखी नीति, कार्यक्रम र प्रस्तुत गरेको बजेट कार्यान्वयन गर्न नपाउँदै तत्कालीन राजाले ‘कू’ गर्दा होस् काम गरी रहेको सरकारले संविधानअनुसार गरेको सिफारिसविपरीत सरकारलाई अक्षम भनी ‘कू’ गर्दा हामी इतिहासमा कमजोर भएका र जनताको बलले फेरि बलिया भएका छांै यो कुरा तपाईंहरूलाई थाहा छ।

नेपालमा जे–जति राजनैतिक आन्दोलन भए ती सबै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा अन्य राजनैतिक दललाई समेत साथमा लिई सदैव नेतृत्वदायी भूमिका निर्वाह गरेकोे एउटा मात्र प्रजातान्त्रिक पार्टी हो कांग्रेस।नेपाली कांग्रेसको स्थापना नै निरंकुशता र सबैखालका सामन्तवादको अन्त र आम नागरिकको स्वतन्त्रताका लागि भएको हो।

यसरी सबै रूपान्तरणको नेतृत्व गर्दै कम्युनिस्टहरूलाई बहुमत दिँदा र ४–४ जना कम्युनिस्टका नेता प्रधानमन्त्री हुँदासमेत संविधान निर्माण हुन नसकी पहिलो संविधानसभा असफल पारेपछि दोस्रोपटक भएको संविधानसभाको निर्वाचनमा सबै अतिवादी शक्तिहरूले संविधान बन्न नदिन लागि परेका राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्तिसमेतलाई मिलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कांग्रेसको नेतृत्वमा निर्माण भयो।

संविधान निर्माणपश्चात् संविधानसभाबाट बनेको संविधान नै मान्दिनँ भन्ने शक्तिलाई समेत साथमा लिई गराएको निर्वाचनमा नेपालको राजनितिमा दोस्रो र तेस्रो शक्तिको कम्युनिस्ट गठबन्धन मिलेका कारण नेपाली कांग्रेस दोस्रो पार्टी बन्न पुग्यो।

यसरी दोस्रो र तेस्रो शक्तिको कम्युनिस्ट गठबन्धन हुँदा पनि नेपाली कांग्रेसको जनताबाट प्राप्त पपुलर मत कम आएको होइन। अघिल्लोपटक भएको निर्वाचनभन्दा नेपाली कांग्रेसको धेरै बढी मत आएको थियो।

एकातर्फ कम्युनिस्ट गठबन्धन बन्नु र अर्कोतर्फ उनीहरूले निर्वाचनलाई प्रभावित गर्न एनसेललगायतसँग लिएको अबैध पैसा परिचालनका कारण सोझा सीधा नेपालीलाई प्रभावित पारेका कारणले मात्र नेपाली कांग्रेस दोस्रो भएको हो।

जागरण अभियानबाट के उपलब्धि भयो ?

पछिल्लो निर्वाचनमा नेपाली कांग्रेस दोस्रो पार्टी बन्न पुगेपछि निरास भएका आम कार्यकर्ता र विभिन्न नारा दिएर सरकारमा आएको तर सम्वृद्धिको नारामा वर्तमान कम्युनिस्ट सरकार संघदेखि प्रदेश र स्थानीय तहसम्म भष्ट्राचारमा चुलुम्म डुबेको, संविधान कार्यान्वयन गर्ने दायित्व बोकी सरकारमा आएको तर सरकार गठन प्रारम्भदेखि नै संविधान मिचिरहेको, देश चरम महँगीको मारमा पुगेको, गरिब नेपालीलाई अझै गरिब गराउने गरी मजदुर किसानसमेतलाई पल–पलमा महँगो करको मारमा पारिरहेको, कञ्चनपुरकी निर्मला पन्तलगायत देशभरि हत्या हिंसा र बलात्कारको घटनाका दोषीलाई सरकारले जोगाइरहेको, सरकारले शान्ति सुरक्षा गर्न नसकिरहेको अवस्थामा सबै तहका आम नागिरक र नेपाली कांग्रेसलाई जोड्ने काम गरेको छ।

गुमेको साख जोगाउन कांग्रेस जिल्लामा कसरी क्रियाशील भइरहेको छ ?

नेपाली कांग्रेस हरेक गाउँ टोलसम्म तथा आम नागरिक र क्रियाशील सदस्यसँग जोड्ने काम गरिरहेको छ। लोकतन्त्र नै लोकतन्त्रको विकल्प हो, लोकतन्त्र विकल्प कुनै पनि नामको अधिनायकवाद होइन भन्ने कुरा आम नागरिकले बुझाउने काम भइरहेको छ।

हाम्रो शासन व्यवस्था विश्वको उत्कृष्ट व्यवस्था हो। लोकतन्त्रमा मात्र सबैका अधिकार सुरक्षित हुन्छ भन्ने कुरा बुझाउन सफल भएको छ जागरण अभियान। साथै स्थानीय तहको २ वर्षको समीक्षा गरेको छ।

सरकारले विकास गर्न नसके पनि केन्द्रदेखि स्थानीय तहको वडास्तर र उपभोक्ता समितिसम्म भष्टाचारको जालो पुराएको कुरा आम समीक्षा भएको छ। सरकारका कारण राजनीतिबाट निरास जनता नेपाली कांग्रेसमा आबद्ध भएका छन्।

जहाँ–जहाँ कार्यक्रम भए युवाको नेपाली कांग्रेसमा पार्टी प्रवेशमा वृद्धि भएको छ। यसबाट संगठनमा वृद्धि भएका कारण हामी उत्साही भएका छांै।

धेरै ठाउँमा युवा कम्युनिस्टलाई मतदान गरेर पछुताएका छन्। पछुताएका ती युवा अब नेपाली कांग्रेमा अबद्ध हुँदा नेपाली कांग्रेसको संगठनमा अभूतपूर्व सफलता प्राप्त गर्नेछ।

केन्द्रीय तहदेखि टोलसम्म कांग्रेस गुट–उपगुटमा विभाजित भएको देखिन्छ। यस्तो अवस्थामा गुमेको साख फर्काउन सकिएला त ?

नेपाली कांग्रेसमा मात्र नभई जीवन्त पार्टीमा गुट–उपगुट हुनु नयाँ होइन। हाम्रो पार्टीमा केन्द्रदेखि स्थानीय तहसम्म सैद्धान्तिक मतभेद छैन। विचारमा एकरूपता छ।

आफूले जिम्मेवारी नेतृत्व पाए नपाएको विषयमा हुने छलफलले लोकतन्त्र र जीवन्त पार्टीलाई अझै मजबुत बनाउँछ। अधिनायकवादी पार्टीमा जस्तो नेतृत्वले भनेको कुरामा हँुदैन, नाइँ भन्न नपाउने हाम्रो पार्टीमा हुन सक्दैन। ‘वादे वादे जायते तत्व बोध’ भन्ने कुरा हाम्रो पार्टीमा छ, रहन्छ।

विचार समूह नेपाली कांग्रेसको जन्मदेखि नै थियो भन्ने कुरा सबै नेपालीलाई थाहा छ। यही विशेषताका कारण नेपालको मात्र नभई विश्वको इतिहासमा यति लामो समयसम्म नागरिकले विश्वास र माया गरेको नेपाली कांग्रेसबाहेक अर्को कुनै पार्टी छँदै छैन।

एकपटक अलिक कमजोर देखिए पनि अर्कोपटक नेपाली कांग्रेसलाई नेपाली नागरिकले मन पराउने गरेको नेपालको राजनैतिक इतिहास छ। २०५१ सालको मध्यावधिमा पराजित कांग्रेस २०५६ सालमा बहुमतमा जनताले पुराए।

२०६४ सालमा दोस्रो भएको कांग्रेस २०७० सालमा फेरि ठूलो पार्टी भएको थियो। हामीलाई विश्वास छ नेपालीको आशा र भरोसाको पार्टी नेपाली कांग्रेस नै हो र रहन्छ पनि। अर्को चुनावसम्म हाम्रो गुमेको साख फर्किन्छ फर्किन्छ।

कांग्रेसले अबको एक वर्षमा महाधिवेशन पनि गर्नुपर्ने छ। महाधिवेशन पछि स्थानीय निर्वाचन हुन्छ। यहि तरिकाले चुनाव जितिन्छ त ?

अबको एक वर्षपछि नेपाली कांग्रेसले महाधिवेशन गर्छ। महाधिवेशनपछि नयाँ जोश र जाँगरका साथ आउने नेतृत्वले आम नागरिक र नेपाली कांग्रेसलाई जोड्दै कम्युनिस्ट सरकारबाट आजित हुन पुगेका आम नागरिकले नेपाली कांगे्रसलाई फेरि बहुमत दिने गरी हामी हाम्रा गल्ती कमजोरी सच्चाएर लाग्छौं र हामीलाई नेपाली जनताले बहुमत दिन्छन्।

कम्युनिस्ट सरकारको दोष देखाएर मात्र चुनाव जितिने हो र ?

यसअघि कम्युनिस्टसँग हामीसँग आफ्नो पार्टीको संगठन बहुमत भएन गर्न पाएनौं भनी रहेका थिए। आम मतदाताले बहुमत कम्युनिस्ट सरकार परीक्षण गर्न पाएका थिएनन।

२ नम्बर प्रदेशबाहेक सबै सरकारमा बहुमत रहेको कम्युनिस्ट सरकाले केवल अत्यधिक कर लगाउने सरकार कहाँबाट बढी भ्रष्टाचार गर्नेभन्दा बाहेक कुनै सोचमा छैन।

वर्तमान सरकारको सोच हामी यो अन्तिमपटक सरकारमा पुगेका छौं जति सकिन्छ लुटौं भनेर लुट्न लागि रहेको छ। संविधानले सिंहदरबारको अधिकार गाउँमा पठाएकोमा केवल सिंह मात्र आएझंै गरी सबै क्षेत्रमा हाहाकार र त्रसित बनाएका छन्।

यसअघि भएको हाम्रो नेतृत्वको सरकाले यस्तै गरेको थियो ? थिएन नि। सबै वर्ग र क्षेत्रमा रुवाबासी र सन्त्रास फैलिएको छ। सरकारमा बस्ने मालिक र अरू सबै दास हुन् र दासकै व्यवहार गर्नुपर्छ भनेर यो सरकार लागिपरेको छ। यो सरकारसँग अहिलेको अवस्थामा कोही खुसी छन् भने केवल दलाल र माफिया मात्र छन्।

सरकार सञ्चालन गर्ने र हुनेका बीचमा ठूलो अन्तर छ। लोकतन्त्रमा यस्तो हँुदैन। वर्तमान सरकारले राणा र पञ्चायतको झल्को दिने गरी शासन गरी रहेको छ। नेपाली कांग्रेस आम जनतालाई भार र मार पर्ने गरी सरकार सञ्चालन गरेको टुलटुलु हेरेर बस्न सक्दैन।

राणा हुँदा पञ्चायत हुँदा र राजा हुँदा जनतालाई दुःख दिएको हेर्न नसक्ने कांग्रेस यो सरकारले जनतालाई दुःख दिएको हेर्न सक्दैन र हेरेर बस्दैन पनि। यसकै लागि आम जनतासम्म पुग्नका लागि फेरि पनि जागरण अभियानमार्फत जनताकोमा कांग्रेस पुगेको हो।

जनतालाई सबै ठाउँमा अत्यधिक सेवा सुविधा दिन्छौं भनेर घोषणापत्रमा लेखेर आएको वर्तमान सरकारले आफू विलासितामा लिप्त बनी गरिब किसान मजदुर र सुकुम्बासीसमेतलाई करको मारमा पारेको छ। जनतालाई सेवा गर्ने संविधानको सफल कार्यान्वयन गरिरहेको छैन।

आम जनता त प्रतिपक्षको भूमिका प्रभावकारी भएन भनिरहेका छन् नि त ?

यसअघिको हाम्रो पार्टी सरकारमा हुँदा कम्युनिस्टहरू प्रतिपक्षमा थिए उनीहरू विरोध गर्दा तोडफोड बन्द–हड्ताल र जनताको दैनिकी नै रोकिने गरी विरोध गर्दथे आम जनताले त्यस्तो प्रतिपक्ष खोजेका पक्कै होइन होलान्।अहिले हामीले त्यस्तो प्रतिपक्षको भूमिका निर्वाहा गर्दा जनता अझै मारमा पर्दछन् भन्ने नेपाली कांग्रेसलाई राम्रोसँग थाहा छ।

नेपाली कांग्रेसले वर्तमान सरकारका विरुद्ध बन्द–हड्तालसहितको विरोध गर्न लागेको भए एकातर्फ जनताको दैनिक रोजीरोटी नै रोकिन्थ्यो भने अर्कोतर्फ यो सरकारले नेपाली कांग्रेसले सरकार नहँुदाको रुवाबासी गर्यो हामीलाई काम गर्न दिएन भन्दथ्यो।

त्यसैले हामीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेका हौं। सारा नेपालीलाई थाहा छ नेपाली कांग्रेसले राणाविरुद्ध कस्तो आँधिबेहरी ल्यायो र राणा इतिहासको पानामा सीमित हुन पुगे पञ्चायतविरुद्ध नेपाली कांग्रेसले खेलेको भूमिकाका कारण प्रजातन्त्र प्राप्त भएको कुरा तथा राजाको शासनविरुद्ध नेपाली कांग्रेस लाग्दा तत्कालीन माओवादी सशस्त्र विद्रोह गरी १७ हजार मानिस मारेर नआएको लोकतन्त्र नेपाली कांग्रेस लाग्दा राजा दरबार छोडेर भाग्नुपर्ने अवस्था सिर्जना भयो।

यो कुरा आम नेपाली जनतालाई थाहा छ। आवश्यक परे नेपाली कांग्रेस त्यस्तै प्रतिपक्षाको भूमिका निर्वाहा गर्न सक्दछ र यो सरकारको अतिवादी र अधिनायकवादी सोच र शैलीमा परिवर्तन नआए नेपाली कांग्रसले आफ्नो असली प्रतिपक्षको रूप देखाउँछ।

यसका लागि त आफ्नो पार्टीलाई बलियो बनाउने र नेताहरू एकताबद्ध भएर अघि बढ्नु पर्दैन ?

पर्छ र त नेपाली कांग्रेस जागरण अभियान सञ्चालन गरिरहेको छ। एकातर्फ जनतालाई जागरुक गराउने र अर्कोतर्फ संगठनलाई चुस्त दुरुस्त बनाउने।

भद्र प्रतिपक्षको भूमिका निर्वाह गरिरहँदा पनि यो सरकारले आफ्नो संसारको भूतरूपी अराजक शासनको शैलीमा परिवर्तन नगरे जनताका सुखका लागि नेपाली कांग्रेस कुर्वान गर्न तयार रहेको छ र रहिरहन्छ पनि।

गत निर्वाचनमा लज्जासपद हार बेहोरेपछि आफ्नो संगठन सुदृढीकरण तथा आम जनतामा आफ्नो एजेन्डा स्थापित गर्न अहिलेसम्म कांग्रेसले के–के काम गर्यो ?

हामीले लज्जास्पद हार बेहोरेको होइन निर्वाचनबाट केही कुरा सिकेका छौं। लोकतन्त्रमा जनता सार्वभौम छन्। जनताको अभिमत हामीलाई स्वीकार्य छ।

हामीले नेतृत्व गरेको संविधानसभाले निर्माण गरेको संविधानले यहाँका आम किसान, मजदुर, महिला, आदिवासी, जनजाति, पीछडिएको क्षेत्र, वर्ग, लिंग र धर्मका सबैका अधिकार सुरक्षित गरेको छ।

संविधानको व्यवस्थाबमोजिम जनतालाई सेवा सुविधा दिउँ संविधानको सफल कार्यान्वयन गरौं। संविधानको सफल कार्यान्वयन गर्दा आम नेपालीले आन्दोलन गर्दा चाहेका र हामीले संविधान निर्माण गर्दा सोचेर संविधानमा लेखेका भावनाका कदर हुन्छ। नेपालका युवा पढ्नका लागि विदेश जानुपर्दैन।

रोजगारीका लागि अरबका खाडी जानुपर्दैन पैसा अभावका कारण खान नपाएर कोही पनि भोकै मर्नु पर्दैन घरबारविहीन कोही हँुदैन रोजगारविहीन कोही हुनु पर्दैन।

हामीले विश्वमा सफल सावित भएको लोकतान्त्रिक संविधान बनाएका छांै। हामी भनिरहेका छौं यो सरकार मानिरहेको छैन। तिमीलाई दुई तिहाइ दिएको जनताले सेवा सुविधाका लागि हो।

जनताले रगत बगाएको राष्ट्रपतिलाई अर्बौको हेलिकोप्टर चढ्न वा प्रधानमन्त्रीको विदेशमा मृगौलाको उपचार गर्नमात्र हैन र मन्त्रीहरूलाई अर्बाैं भ्रष्टाचार गर भन्नलाई हैन।

आम जनता कांग्रेसप्रति किन आकर्षित हुने ?

अहिलेसम्म नेपालमा जे–जति विकास निर्माण र प्रगति भएको छ केवल नेपाली कांग्रसको नीतिका कारण भएको हो। राणा शासनका बेलामा राणाबाहेकले शिक्षा स्वास्थ्य नपाउने अवस्थाको अन्त गरी वर्तमानको अवस्थाको परिकल्पना केवल प्रजातन्त्रका कारण भएको हो नि।

रैतीका रूपमा रहेका मानिसलाई नागरिक बनाएर सबैलाई शिक्षा स्वास्थ्य र विकासको जग २०१५ सालको निर्वाचन पछि बनेको नेपाली कांग्रेसका पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपी कोइरालाको खाका हो भन्ने कुरा त्यस बेला सरकारले पेस गरेको नीति तथा कार्यक्रम र बजेटलाई हेर्दा स्पष्ट छ।

अहिले हामीले निर्माण गरेको २०७२ मा आएको संविधान नै कासेढुंगा सावित हुन्छ। सबैले रोजे र खोजेको हक–अधिकार र सेवा सुविधा सबै हामीले संविधानमा लेख्यौं तर जसले संविधानको निर्माणमा नेतृत्व गर्यो उसले संविधान कार्यान्वयन गर्ने नेतृत्व पाउन सकेन।

आमाले बच्चा जन्माइन् तर सुढेंनीले बच्चा दाबी गर्दा वास्तविक आमा रनभुल्ल परेको अवस्थामा पुगेको अवस्थामा कांग्रेस परेका कारण जनतामा निराशापन आएको कुरा आम नागरिक भनिरहेका छौं।

१४औं महाधिवेशनमा नेतृत्व लिने बारे यहाँको धारण के छ ?

मैले जति बेला लोकतन्त्र भन्ने र मान्ने केवल नेपाली कांग्रेस हो भन्ने बुझें र म नेपाली कांग्रेमा लागें मैले कहिले पनि मलाई यो पद चाहिन्छ भनेर मरहत्ते गरिनँ।

हालसम्म म जहाँ छु मेरो निजी इच्छामा र चाहानामा नभई साथीभाइको सामूहिक इच्छामा र चाहानामा प्राप्त भएकाले म भागवत् गीतामा भनेझैं कर्म गर फलको आशा नगर भन्ने सिद्धान्त मान्ने व्यक्ति हुँदा यो पद चाहिन्छ भनेर भन्नेमा छैन। साथीभाइ मेरो योग्यता क्षमताका र क्रियाशीलताका सम्बन्धमा जानिफकार हुनुहुन्छ।

पछिल्लो समय कांग्रेसमा युवा पुस्ता आकर्षित हुन सकेन भन्ने छ नि ?

नेपाली कांग्रेस स्थापनाकालदेखि नै युवाले नेतृत्व गरेको पार्टी हो। युवा केवल उमेरले मात्र हुँदैन यो कार्यशैली र क्रियाशीलतामा निर्भर हुन्छ भन्ने कुरा २०६२–०६३ सालमा भएको पछिल्लो लोकतान्त्रिक आन्दोलनबाट पुष्टि भएको छ।

दुईवटा जागरण अभियान सम्पन्न भइसक्दा नेपाली कांग्रेसमा युवा अकर्षण बढेको छ। काभ्रेपलाञ्चोक जिल्लामा त सबै प्रदेशसभा क्षेत्रमा युवाले नेतृत्व गरेको अवस्था छ।

जिल्ला तहमा पनि युवाको उल्लेख्य उपस्थिति रहेको छ। देशभरि नै नेपाली कांग्रेसमा युवाको प्रवेशले तपाईंको प्रश्नलाई झूटा सावित गरिदिएको छ।

नेपालमा चिनियाँ राष्ट्रपति ‘सी’वादको पढाइ शुरू भएको छ यसलाई कसरी लिनुहुन्छ ?

मैले माथिकै प्रश्नमा भनिसकेको छु कि लोकतन्त्र विकल्प लोकतन्त्रको नै हो, लोकतन्त्र विकल्प कुनै पनि नामको अधिनायकवाद होइन।

नेपालीलाई कुनै पनि नामधारी अधिनायकवाद वा अतिवाद मन पर्दैन। २००७ सालदेख २०६२–०६३ सालमा भएको अन्दोलनले समेत पुष्टि गरेको छ। लोकतन्त्र र कांग्रेसलाई कमजोर पार्ने शक्ति नेपालको सत्तामा रहँदैनन् भन्ने कुरा इतिहासले पुष्टि गरेको कुरा हो।

आन्दोलनमा सहायकरूपमा रहेका वर्तमान सरकारको नेतृत्वलाई यो कुरा थाहा छ। त्यसैले एउटा शक्तिलाई खुसी पार्न भए गरेका कार्यले नेपाललाई हित गर्दैन यो हाम्रो असंलग्न परराष्ट्र नीतिविपरीत हुन जान्छ।

अझै यो सरकार संसारबाट असफल सिद्ध भएको कुनै सपना देख्छ भने उसको अन्त्य निश्चत छ। यो कुरा बुझेर सरकार नलागे पनि सरकारको नेतृत्व गरेको पार्टिले बुझ्छ होला नबुझे उनीहरूका लागि दुर्भाग्यपूर्ण हुन्छ।

प्रतिक्रिया दिनुहोस्