अझै लगानीको वातावरण बन्न सकेको छैन



रामचन्द्र शर्मा
अध्यक्ष
पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेड

पर्यटनको राजधानी पोखरा र आसपासको क्षेत्रमा पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यसहित स्थापित भएका बन्दीपुर केबलकार, पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेड, आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेडलगायतका पर्यटनसँग जोडिएका कम्पनीहरूको नेतृत्व गरिरहनुभएका युवा उद्यमी रामचन्द्र शर्मा गण्डकी प्रदेशमा आउने पर्यटकको बसाइ लम्ब्याउन र पर्यटनबाटै समृद्धी हासिल गर्न थप गन्तव्यहरूको विकासका लागि लागिरहनुभएको छ। गण्डकी प्रदेशमा पर्यटन नै सबैभन्दा दिगो उद्यमका रूपमा अगाडि बढाउन सकिने उहाँको धारणा छ। पर्यटन उद्योगमा लगानी गर्न खोज्नेहरूलाई वर्तमान सरकार आएपछि पनि व्यवहारिक रूपमा अनुकुल वातावरण बन्न नसकेको बताउने शर्मासँग गण्डकी प्रदेशको पर्यटन, नयाँ लगानीको अवस्थामा नेपाल समाचारपत्र दैनिकका पर्वत संवाददाता दुर्गाप्रसाद शर्माले गरेको कुराकानीको सम्पादित अंशः

 

पञ्चासे केबलकारसहितको परियोजना कसरी अगाडि बढिरहेको छ ?

सैद्धान्तिक रूपमा ‘समृद्ध नेपाल सुखी नेपालीको’ राष्ट्रिय आकांक्षा पूरा गर्ने एउटा उत्पादन आन्दोलनको अपरिहार्यता भइसकेको छ। संविधानले दिशा निर्देश गरेको समाजवादी सपना पूरा गर्नका लागि नयाँपन दिएर समग्र समाजलाई उद्धेलित गर्न सक्ने खालको सैद्धान्तिक मान्यता र विधि स्थापित गर्नुपर्दछ।

गण्डकी प्रदेशको पर्यटन वर्ष घोषणा त भयो। तर कार्यान्वयनको प्रक्रिया धेरै ढिला भयो। निष्कर्षमा औसत सफलता प्राप्त गर्न नसकेको मूल्यांकन गर्नुपर्दछ।

स्थापित विधि र मान्यताको परिधिभित्र कानुनले तोकेको मापदण्डसँग समझदारी गरेर व्यवहारिक रूपमा लागू गर्न सकियो भने मात्र समग्र राष्ट्रलाई समृद्धिको बाटोमा हिँडाउन सक्छौं भन्ने बुझाइ हुनुपर्दछ।

यो परियोजना विशुद्ध मौलिक आर्थिक ढाँचामा ‘निजी–सामुदायिक–सरकारी–सहकारी र संस्थागत साझेदारी एवं व्यवस्थापन’ लाई एकिकृत गरी राष्ट्रिय पुँजीको विकासमा केन्द्रित छ।

पर्यटनबाट नै समृद्धि, प्राप्त उपलब्धिबाट जेनेरेसन इलेक्ट्रोनिक्स, प्रविधि, अबको देशको यातायातको विकल्प दिनुपर्दछ भन्ने हो।

यो परियोजना अगाडि बढाउनका लागि आर्थिक सर्भे, व्यवसायिक सर्भे, जनप्राविधिक सर्भे, वातावरणीय सर्भे र स्थानीय सरकारबाट परियोजना निर्माणका लागि समझदारी पत्र गरी सैद्धान्तिक सहमति लिई सकिएको छ। अहिले लगानी बोर्डको विशेष कार्यदलमा विस्तृत छलफलको विषय बनेको छ।

देश विदेशबाट यस्तो चासोपूर्वक हेरिएको परियोजना किन ढिला भइरहेको छ ?

महत्वपूर्ण कुरा उठाउनुभयो। यो परियोजना मात्र भनेर बुझियो भने गलत हुन्छ। एक, यो राष्ट्रिय पुँजीवाद की दलाल पुँजीवाद भन्ने वहससँग जोडिन पुगेको छ। आज हामीले जतिसुकै समाजको क्रान्तिकारी रुपान्तरणको कुरा गरौं।

प्रत्येक विचारहरू बजारका विकाउ मालजस्ता बनिरहेका छन् फलस्परुप समुदायमा सामूहिक भावना र पुँजीलाई हतोत्साहित गर्ने एवं नयाँ सोचलाई गर्भमा तुहाउने गम्भीर भूमिका खेलाउने काम भइरहेको छ।

तीनै संसारभरिबाट नेपालीहरूले यो परियोजनाबाट आफ्नो जीवन देख्न सकिन्छ कि भनेर चासोका साथ अध्ययन र समर्थन गरिरहेका छन्।

जनतासँग, समुदायसँग, विभिन्न, तह र तप्कासँग जोडिनु कै कारण एकाधिकारवादको निद हराम भएको छ। फलस्वरुप केही दिन ढिला लागेजस्तो देखिन पुगेको मात्रै हो।

राज्यले ‘समृृद्ध नेपाल सुखी नेपालीको सपना’ दलाल पुँजीको प्रर्वद्धन की जनताको पुँजीको प्रवद्र्धनबाट सम्भव हुन्छ भन्ने बुझ्यो भने अझ तिव्र गतिमा परियोजना अगाडि बढ्छ।

लगानी बोर्डले स्वीकृत नदिँदै सेयर रकम उठाइयो, लगानीकर्तालाई गुमराहमा राखियो भनेर आरोप लागेको छ नि ?

कम्पनीले कानुनलाई आमा जत्तिकै सम्मान गर्दछ , प्रवद्र्धकहरू कोही पनि भ्रममा हुनुहुन्न। कम्पनी र परियोजना भिन्नभिन्न कुरा पनि हो।

एउटा परियोजना कुनै खास परियोजना गर्नेका लागि मात्र स्थापित हुने गर्दैनन् तर प्रत्येक परियोजना कम्पनीहरूबाट मात्र स्थापित हुने गर्दछन्।

कम्पनीले आफ्नो शेयर सार्वजनिक निष्काशन गरी बिक्री गरेको छैन। कम्पनी ऐनले दिएको अधिकार प्रयोग गरी प्रवद्र्धकहरूले कम्पनी प्रवद्र्धनका लागि लगानी गर्नुभएको छ।

विभिन्नवर्ग र क्षेत्रका व्याक्तिसँग कम्पनी र परियोजनाको विषयमा गरिएका अन्तरक्रियालाई कसैले गलत व्याख्या गरिदिएको हुन सक्दछन्। त्यो स्वाभाविक पनि छ। हाम्रो समाज अझ पनि सामूहिक व्यावसायिक वातानुकुलित बन्न सकेको छैन।

लगानीकर्ताहरू कसरी आश्वस्त हुने त? परियोजनामा लगानी गर्नेले मुनाफा पाउने आधार के–के हुन्?

हाम्रो कम्पनी गु्रप अविभाज्य लगानी प्रणालीलाई अंगिकार गरेको छ। मुख्य कम्पनी आरकेडी रियल स्टेट, साहायक कम्पनीहरू पञ्चासे र बन्दिपुर केबलकार रहेका छन्।

पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडको नेतृत्वमा बन्दिपुर केबलकार परियोजनाको निर्माण भइरहेको छ। आगामी १८ महिनाभित्र केबलकार र ३ स्टार होटलसहितको सेवा सञ्चालनमा ल्याउँदै छौँ। प्रवद्र्धकहरू विचार र योजनाबाट निर्देशित हुनुहुन्छ।

यो परियोजना राष्ट्रिय महत्वको छ समग्र देशलाई व्यवसायीकरणको बाटो देखाउने सपनाका रूपमा आश्वस्थ र विश्वस्त हुने वातावरण बनाएको छ। लगानीकर्ताको सबै कम्पनीमा लगानी डाइभरसिफाइ गरिएको छ।

यसले जोखिम न्यूनीकरण गर्न र एकएक गरी परियोजना सम्पन्न गर्ने गरी मुनाफा आर्जन गर्नेछ र पुनः नयाँ परियोजना निर्माण गर्ने सिलसिलेवार प्रणालीमा पुँजी परियोजनाको चुस्त व्यवस्थापन गर्न सक्नु नै मुनाफा आर्जन गर्न सक्ने विश्वस्त आधार हुन्।

बन्दिपुर परियोजना सञ्चालनमा आएपछि पञ्चासे परियोजना निर्माणमा जानेछ। बन्दिपुरले मुनाफा आर्जन गरी पञ्चासे निर्माणपूर्व नै बोनस वितरण गर्ने आधार बनाउनेछ।

पञ्चासे निर्माणमा आएको सात वर्षभित्रमा लगानीकर्ताहरूको लगानी मुनाफाको रुपमा फिर्ता आउने अवस्था आर्थिक र व्यवसायिक सर्वेक्षणले देखाएको छ।


तपाईंहरूले निर्माण गरिरहेको बन्दीपुर केबलकार परियोजना कहाँ पुगेको छ ? यो परियोजनाले पर्यटन प्रर्बद्धनमा कस्तो टेवा पुग्छ ?

बन्दिपुर परियोजना निर्माणको चरण द्रूतगतिमा अगाडि बढिरहेको छ र आगामी डेढ वर्षभित्रमा केबलकार, भ्यू टावर, थ्री स्टार होटलका सम्पूर्ण कार्यहरू सम्पन्न भइसक्नेछन्।

परियोजना गण्डकी प्रदेशको स्वागत गन्तव्यका रूपमा डिजाइन गरिएको छ। यसले समग्र प्रदेशको पर्यटनको अवस्थाका बारेमा प्रारम्भिक रुपमा सकारात्मक धारणा बनाउन मुख्य भूमिका खेल्दछ। यो डेढ अर्ब लागतमा बनिरहेको छ।

 

आरकेडी रियलस्टेट कम्पनीमा सर्वसाधारणको ठूलो लागनी छ? घरजग्गाको कारोबार घटेको बेला यसले कसरी नाफा दिन सक्छ ?

आरकेडी घर जग्गा व्यवसाय गर्ने नेपालको पहिलो पब्लिक कम्पनी हो। रियल स्टेट भनेको फिक्स सम्पत्ति भन्ने बुझ्न आवश्यक छ। हाम्रो कम्पनीले फिक्स सम्पत्तिको निरन्तर कार्य गर्ने गर्दछ।

संगसंगै यो कम्पनी पूर्वाधार निर्माण कम्पनी पनि हो। यसले निर्माणसम्बन्धी कार्य गर्दछ। नेपालमा कस्ट इफेक्टिभ केबलकार परियोजना निर्माणका लागि एक मात्र अन्तर्राष्ट्रिय फ्रान्चाइजी कम्पनी हो।

केबलकारको इन्जिनियरिङ, डीपीआर, कन्सल्टिङ, निर्माण र उपकरणहरूको आपूर्ति गर्ने कार्य गर्दछ। घरजग्गालाई मन्दीको बेला यथास्थानमा व्यवस्थापन गर्दै यसकै जगमा पर्यटन पूर्वाधारको क्षेत्रमा कार्य गर्ने गरी सहायक कम्पनीहरू पञ्चासे र बन्दिपुर केबलकारको स्थापना गरेको छ।

साथै पर्यटन क्षेत्रमा लगानी बढाउन र व्यवस्थित गर्नका लागि गैरआवासीय र प्रवाशी नेपालीसँगको साझेदारीमा उनीहरूको लगानी प्रर्वद्धन गर्ने उद्देश्यले अधिकृत पुँजी एक अर्ब रुपियाँ रहेको टुरिजम इनभेस्टमेन्ट फन्ड लिमिटेड स्थापना गर्ने निर्णयमा पुगेको छ। समग्र साहायक कम्पनी र साहायक कामहरूको प्रतिफलस्वरुप शेयरधनीलाई नाफा दिने प्रस्ट आधारहरू दिएको छ।

गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष मनाइरहेको छ, संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गइरहेको छ। पर्यटक भित्याउन र बसाइ लम्ब्याउन के गर्नुपर्छ भन्ने लाग्छ ?

 

गण्डकी प्रदेशको पर्यटन वर्ष घोषणा त भयो। तर कार्यान्वयनको प्रक्रिया धेरै ढिला भयो। निष्कर्षमा औसत सफलता प्राप्त गर्न नसकेको मूल्याङ्कन गर्नुपर्दछ। यसबाट गम्भीर शिक्षा लिएर पर्यटन वर्ष २०२० सफल बनाउन आवश्यक छ।

तर यसको कुनै रिहर्सल गरिएको छैन। महत्वपूर्ण नीति योजना र पूर्वाधारहरू बन्न सकेका छैनन्। मन्त्रीज्यू खट्नुभएको छ। तर समस्या सामाधानको सञ्जीवनी बुटी भेटिएको छैन।

जसका कारण पर्यटन वर्ष सफल हुन कठिन छ। पोखराको उदाहरण लिनुहुन्छ भने फेवाताल मुख्य गन्तव्य हो। त्यसको गति हेर्नु त ⁄ दलाल र बिचौलियाले ताल अतिक्रमण त गरे गरे अहिले जलकुम्भीले झन् विकृत बनाएको छ।

सर्वोच्च अदालतको निर्णय त मान्न आवश्यक कसैलाई पनि देखिएन। यो सामान्य प्रतिनिधि पर्यटकीयको गन्तव्यको हालत त यस्तो छ अरु के होलान् ?

पर्यटक हाम्रो मायाले नेपाल आउने हैनन् नेपाली संस्कृति र वैभवहरूले आफ्नो आत्मालाई शान्ति दिन सकिन्छ कि भनेर पर्यटक आउने गर्दछन्। पूर्वाधारहरूको तयारी र भएका गन्तव्यको सम्वद्र्धन गर्ने र पर्यटकलाई स्वागत सत्कार गर्ने खालका व्यापक प्रशिक्षण कार्यक्रमहरू चलाउन आवश्यक छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामबाट ब्रान्डिङ गर्ने हो भने पर्यटकहरू भित्रिन सक्नेछन्। मुख्य कुरा त संस्कार र पूर्वाधार नै हो।पर्यटन नीति र लगानी नीति कस्तो भयो भने पर्यटन तथा अन्य उद्योगबाट देशले समृृद्धि हासिल गर्न सक्छ ?

संक्षेपमा भन्नुपर्दा नीतिहरूमा त्रुटी कमी हुन सक्छन्। महत्वपूर्ण कुरा नीति त हो। तर कर्ता, राम्रो भयो भने नीतिले गति र जीवन पाउने हो। नीति जतिसुकै राम्रो किन नहोस्, कर्ता अल्छी र अनिच्छुक भयो भने सजीव नीतिसमेत मुर्दाघरजस्तो लाग्छ। अहिले यति नै भनौँ। यसको निर्माणमा लागौँ।

वर्तमान सरकार आएपछि लगानीको वातावरण बनेको छ कि बिग्रेको छ ?

सरकार सार त सैद्धान्तिक रूपमा सकारात्मक वर्गविभेद गर्ने चरित्रको हुने गर्दछ। तर यहाँ कुन वर्ग एवंम् पुँजीलाई प्रवद्र्धन गर्ने अस्पष्ट देखिन्छ। रूप पक्ष हेर्दा लगानीको अवस्था भएजस्तो देखिन्छ।

व्यवहारिक रूपमा जाँदा अनुकुल वातावरण भेटिँदैन। सरकारले उदियमान नयाँ सोच र युवापुस्तालाई स्वीकार र विश्वास गर्न हिच्किचाइरहेको महशुस भइरहेको छ।

वैदेशिक लगानीलाई मात्र केन्द्रमा राखेर लगानी समिट गर्यो तर लगानी अपेक्षाकृत आएन। विदेशी लगानीकर्ता आउँदा, घरेलु लगानीकर्ता र देशको लगानीको सार्वभौम रेटिङ स्थितिलाई समेत हेर्ने गर्दछन्।

तर हाम्रोमा रेटिङको व्यवस्था नै छैन। घरेलु लगानीकर्ता सरकारसँग विश्वस्थ भएको प्रमाण नपाउन्जेल विदेशी लगानीकर्ताहरू कुनै हालतमा नेपाल आउँदैनन्। घटनाक्रमले यसको पुष्टि गरिसकेको छ। 

घरेलु लगानीकर्ताहरूलाई नयाँ अवधारणासहितको उद्योग खोल्नका लागि र आवश्यक राष्ट्रिय सम्पत्ति उपयोगमा ल्याउनका लागि पार्र्टीको गुटको शिकारसमेत बन्ने अवस्था सिर्जना भएको छ।

यसले लगानीको वातावरण बिथोल्छ। लगानी बोर्डले स्वीकृती दिएको अधिकांश ठुला परियोजनाहरू कार्यन्वयन प्रक्रियामा लैजान अनिच्छुक देखिएको अवस्था छ । युवा उद्यमशीलता नयाँ सोच, र समुदायको पुँजीको तागतलाई नबुझेसम्म लगानीको वातावरण बन्दैबन्दैन।

समृद्ध नेपाल, सुखी नेपालीको ‘सपना आकाशको फल आँखा तरि मर भन्न’ जस्तै हुन्छ। सबैले ठन्डा दिमागले सोचौँ। हामी सरकारलाई हर हालतमा सधैँ सहयोग गर्न तत्पर छौँ।

 

प्रतिक्रिया दिनुहोस्