सुन्दर सुदूरका सम्भावना र समस्या



सुन्दर सुदूरपश्चिमका कतिपय ठाउँमा खानेपानीको समस्या रहेको पाइन्छ। जस्तै– बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडीलगायत कतिपय ठाउँमा अझै पिउने पानी भर्न बिहान ३ बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता छ। कतिपय ठाउँमा दुई–तीन घण्टा उकालो–ओराले बाटो हिँडेर पिउने पानी बोक्न बाध्य छन्।

समस्या पानीको मात्र होइन, बाटोघाटोको पनि कतिपय ठाउँमा राम्रो व्यवस्था हुन सकेको छैन। त्यसै गरी नदी वारपार गर्नका लागि राम्रो पुलको व्यवस्था पनि हुन सकेको छैन।

सुदूरपश्चिमवासीहरू नदी वारपार गर्न कहीँ–कतै तुइनबाट आवतजावत गर्नुपर्ने बाध्यात्मक परिस्थिति झेलिरहेका छन्।सामान आयातनिर्यात गर्न यातायातको साधनका रूपमा खच्चडहरूको प्रयोग भइरहेको छ।

त्यस्तै, गाउँघरमा गुणस्तरीय स्वास्थ्य चौकी र स्वाथ्यकर्मीहरूको राम्रो व्यवस्था हुन सकेको छैन।कोही बिरामी पर्यो भने अझै पनि पिठ्युँमा बोकेर सदरमुकामसम्म पुर्याउन नपाउँदै बाटोमा मृत्यु हुने गरेको समाचार तपाईं–हामीले पढ्दै, सुन्दै र देख्दै आइरहेका छौं।

सुदूरपश्चिमका पहाडी जिल्लामा अझै गुणस्तरीय विद्यालय र शिक्षकको अभाव रहेको देखिन्छ। गुणस्तरीय शिक्षा आजको आवश्यकता हो। आवश्यकता हुँदाहुँदै पनि पहाडी जिल्लाका बालबालिकाले गुणस्तरीय शिक्षा आर्जन गर्न पाइरहेका छैनन्। समयमा पाठ्यपुस्तक नपुग्ने र पढाउने विषयगत शिक्षकको अभाव रहेको पाइन्छ।

त्यस्तै, सुदूरका कतिपय पहाडी तथा तराईमा झन् कुरीति प्रथाहरू व्याप्त रहेको पाइन्छ। त्यसमध्येकै छाउपडी प्रथा पनि एक सामाजिक समस्याभित्रै सुदूरपश्चिमवासीमा रहेको छ। त्यहाँका महिलाहरू महिनावारी भएको बेला गाईवस्तु राखिएको गोठमा सुत्छन्।

त्यहाँको सामाजिक विश्वासअनुसार महिनावारी भएको बेला घरमा बस्दा कुलदेवता रिसाउने डरले गोठमा बस्ने चलन रहेको पाइन्छ। जसले गर्दा महिला तथा बालबालिका शारीरिक र मानसिकरूपमा शोषित र पीडित हुन पुगेको पाइन्छ।

सुदूरपश्चिमको जुम्लामा गरिएको एक सर्वेक्षणमा २५ प्रतिशत महिला तथा १३ प्रतिशत बालिका महिनावारी भएको बेला छाउगोठमा बस्छन् भन्ने तथ्यांक ‘आत्मसम्मानका लागि सहकार्य नेपाल’ जुम्लाले गरेको सर्वेक्षणले देखाएको छ।
सर्वोच्च अदालतको आदेशपछि सरकारले २०६३ वैशाख २६ गते छाउपडी प्रथालाई कुरीति घोषणा गर्नुका साथै निर्देशिका र आवश्यक कानुन निर्माण गर्नका लागि सरकारलाई निर्देशन दिएको थियो।

जारी भएको निर्देशन निर्देशनमा मात्रै सीमित भएको पाइन्छ। यसको लागि कुनै पहल तथा कार्यक्रम सञ्चालन समिति गठनसमेत भएका छैनन्। सुदूरपश्चिमको जुम्लामा भएको समस्या यहाँ मात्रै नभएर सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा व्याप्त रहेको पाइन्छ।

सुदूरपश्चिममा अन्य थुप्रै प्रथाहरू पनि रहँदै आएको पाइन्छ। जस्तै– झुमा प्रथा, बोक्सी आरोप, कमैया प्रथा, दाइजो प्रथा आदि। जसले गर्दा समाजमा विभिन्न समस्या उत्पन्न हुने गरेका छन्। यस्ता समस्या तथा अन्धविश्वास समाजको विकासमा समस्या खडा गर्ने तत्वका रूपमा देखा परेका छन्।

त्यस्तै यस क्षेत्रमा देउकी प्रथा पनि एक कुप्रथाको रूपमा रहेको पाइन्छ। देउकी प्रथा भन्नाले एक पुरातन कुप्रथा हो, जसमा एक किशोरीलाई केही धर्मको नाममा मन्दिरमा देउकीको रूपमा चढाउने गरिन्छ। यो प्रथा नेपालको सुदूरपश्चिमा अझै पनि व्याप्त रहेको पाइन्छ।

देउकीको रूपमा मन्दिरमा चढाइएकी किशोरीहरू आफ्नै छोरीहरू वा गरिब परिवारका छोरीहरूलाई प्रयोग गर्ने गरिएको पाइन्छ। यस्ता देउकी बनाइएका किशोरीहरूले मठ–मन्दिरको परिधिभित्र रही बाँच्नुपर्ने बाध्यता रहेको पाइन्छ।

उनीहरूलाई वैवाहिक जीवनमा बाँधिनबाट वञ्चित गरिएको हुन्छ, जसले गर्दा यस्ता देउकी किशोरीहरूको स्वतन्त्ररूपमा बाँच्न पाउने मानवअधिकार हनन भइरहेको पाइन्छ। यस्तो किसिमको कुप्रथाले समाजमा नकारात्मक असर पारिरहेको हुँदा सुदूरपश्चिमको शान र गौरवमा नराम्रो प्रभाव पारेको पाइन्छ।

सुदूरपश्चिम प्रदेशलाई नजिकबाट नियाल्ने प्रयासरत नेताहरूको त्यस ठाउँको विकास, समृद्धि र पर्यटन विकास प्रवद्र्धनमा ध्यान नजाँदा अझै सुदूरपश्चिमवासीहरू पीडामा जीविकोपार्जन गर्न विवश रहेको पाइन्छ। समस्या धेरै भए पनि सुदूरपश्चिम अत्यन्तै राम्रो छ।

हराभरा जंगल, पशुपक्षी, सांस्कृतिक तथा धार्मिक क्षेत्रहरूले गर्दा यहाँको पहिचान छुट्टै छ। सुन्दर सुदूरपश्चिममा भएका प्राकृतिक सौन्दर्यले पर्यटकलाई लोभ्याउने गर्छन्। यहाँ थुप्रै सम्भावना र समृद्धिका हजारौँ बाटाहरू रहेका छन्। सुदूरपश्चिमका थुप्रै ठाउँहरूलाई पर्यटकीय स्थल बनाई आन्तरिक तथा बाहिरी पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ।

भौगोलिक अवस्थामा जति नै विकट वा पछाडि परे पनि प्राकृतिक सुन्दरता अतुलनीय रहेको पाइन्छ। बडिमालिका क्षेत्र प्राकृतिकरूपमा सुन्दर छैन। यससँग हजारौं धार्मिक आस्था जोडिएको छ। पर्यटनको प्रचूर सम्भावना भए पनि यसको प्रचारप्रसार हुन सकिरहेको छैन।

बाजुरा र कालिकोट सिमानामा पर्ने स्थल धार्मिक र पर्यटकीय क्षेत्रको संगम स्थल मानिन्छ। बाजुरा सदरमुकामको मार्तडीबाट करिब ३ दिनको पैदलयात्रापछि पुगिन्छ। चाडपर्वमा भक्तजनहरूको बाक्लो भेट हुने गर्दछ।

समुन्द्री सतहबाट ४,२०० मिटरको उचाइमा अवस्थित यहाँ हिउँदमा हिउँ पर्छ। सधैँजसो सिरेटो चलिरहन्छ। यहाँ जनैपूर्णिमाका दिन पश्चिमकै ठूलो मेला लाग्ने गर्दछ। हरेक वर्षमा यस ठाउँको अवलोकन गर्न हजारौं पर्यटकहरू देश तथा विदेशबाट समेत आउने गर्दछन्।

– बबिता मल्ल
कालिकोट।

प्रतिक्रिया दिनुहोस्