ह्याकरलाई सोधौं



कृषि विकास बैंक यतिखेर कसरी डेढ करोड रुपियाँ ह्याक गरेर लुटियो भनेर अनुसन्धान गर्दै छ। उसले विज्ञहरूसँग सोधखोज भइरहेको जनाएको छ तर अझै यसैगरी लुटियो भन्न सकेको छैन।

धरहरा निःशुल्क सुझाव दिन चाहन्छ– ‘दशतिर के खोज्दै हिँडेको, तिनै ह्याकरलाई सोधे त कुरै खत्तम ! विज्ञ शुल्क पनि बच्ने, नेपाली ह्याकरको सम्मान पनि हुने।’

हामीले नेपाली श्रम र सीपको सम्मान गर्न जानेका छैनौं क्या ! इन्टरनेट प्रविधिमा नेपाल कमजोर छ, यस्ता ह्याकिङ स्याकिङ गरेर बैंक रित्याउनुछ भने छिमेकी चीनतिरका साथी वा अन्यत्र कतैका मित्रहरूको मुख ताक्नुपर्छ भन्ने जो हीनता भाव थियो, अब त्यस्तो रहेन। यी १२ ह्याकहरहरू वास्तवमै सयपत्रीको माला नभए पनि क्यात्तुके फूलसम्मको मालाका हकदार छन्।

कतिलाई लाग्नसक्छ, १२ जना मिलेर जाबो डेढ करोड लुटे त के लुटे ! मुस्किलले जनही १२–१२ लाख भागमा पर्ने ! धरहरा त के दाबी गर्छ भने बिचराहरू रातभरि करायो दक्षिणा हरायोको अवस्थामा परे, अन्याय भयो विचराहरुमाथि !

कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी त्यसरी रकम लुट्न कम बुद्धि चाहिन्छ? सो रकम कसरी सिरहा शाखा हुँदै केन्द्रीय बैंकबाट बाहिरियो भन्ने विषयमा प्रहरी र बैंक दुवै दंग छन्। स्याबास ह्याकर टिम !

प्रतिक्रिया दिनुहोस्