एक बोट गुलाफ



भरत पौडेल

सौन्दर्यको मोहनी हो या
मेरो मनको लगाव छ ऊसँग
थाहा छैन न माया गर्छु न प्रेम ऊसँग
माया भनौं भने–
ऊ जहाँफुलिरहेछ आरिस लाग्छ
प्रेम भनौं भने–
चटक्क उखेलेर ल्याउन पनि सक्दिनँ
उत्ताउलो हावाले सर्लक्कै नुहाउँछ भुइँसम्म
अल्लारे घामले उडाउन खोज्छ उसको रंग
तन्नेरी वर्षात्ले भिजाउँछ उसको सर्वाङ्ग
पारदर्शी हुस्सुले छोपिदिन्छ सौन्दर्य
आरिसे जुन छतमा ठोकिन्छ
र, ओझेल पार्छ उसलाई
मलाई तारा टिपेर ल्याऊँ
र, जोडिदिऊँ लाग्छ
कोपिला बनाएर उसको हाँगा–हाँगामा

एकाबिहानै नजर ठोकिन्छ यादको
मनभरि सुगन्ध आउँछ आभाषको
तन्द्रामा झस्काउँछ मध्यरात
उसको मुलायम काँडाहरूले घोचेझैं गरेर
छाती छाम्छु र उसको जरा महसुस गर्छु
यतै कतै छ उसको जीवनका रेशाहरू
मुटुभरि नसा बनेर गढेको
सेती नदीझैं कताकता भासिएको
हिउँपहिरोझैं लडिरहन्छ मनभरि
अनि बग्छ सलल हिमनदी जस्तै

जमिनसँग एउटा सुर्को
सागरसँग एउटा लहर
घामसँग पहेंलपुर बिहानी
हावासँग थोरै शीतलता
सुटुक्क चोर्ने निधो गरेको छु
मादक साँझको निम्तोमा
मदहोस एक स्पर्शले
प्रेमको सन्देश पठाएको छ
पलाए फेद घेरेर निशानीहरू
अब गमलाले मात्रै पुग्दैन
एक बोट गुलाफलाई।

प्रतिक्रिया दिनुहोस्