मनले मनलाई जोड्ने “मनोनेट”



मनको भाषा र भाका केले र कसरी बुझ्छ ? स्वाभाविकरूपमा मनले नै बुझ्छ। र, मनले नै अर्को मनलाई सञ्चार गर्छ। चञ्चल मन। अस्थिर मन। शंकालु मन। प्रार्थना गर्ने र सधैं अरूको भलो चिताउने मन। चेतन मन। अवचेतन मन। जे भने पनि आखिर मन त मनै हो।

‘मन’ का यही अनेक रूप र प्रवृत्तिको स्वरूपलाई एउटै जालोमा बेरेका छन्, पत्रकार तथा लेखक तीर्थ सिग्देलले कथासंग्रह ‘मनोनेट’ मा। मनभित्रका सबै कुरा कहाँअभिव्यक्त हुन्छन् र ?

त्यस्तो मनभित्र उकुसमुकुस भएका कुरा कसरी प्रकट गर्ने ? यस्ता विवाद र तर्कनाले मानिसको मन अझै रुमल्लिएको मात्र हुँदैन, पीडित र दुःखी पनि बनिरहेको हुन्छ।

अझ एकोहोरो प्रेमले घाइते भएको मनको पीडाको त कुरा गरिसाध्ये नै हुन्न। त्यति बेला पनि मनलाई नै पीडा हुन्छ। ‘मनमा अनेक कुरा खेल्छ।

तर, सबै बाहिर अभिव्यक्त हुँदैन’, लेखक सिग्देलले भने– ‘अभिव्यक्त नहुने कुराहरू चाहिँकस्ता हुन्छन् त ? मैले तिनै कुराहरूलाई पाठकमाझ पस्किएको छु।’

नेपाली शब्दकोशमा नभएको एउटा नयाँशब्द ‘मनोनेट’ उनको सृष्टि हो। ‘कहिलेकाहीं मुखले नबोले पनि मनको कुरा बुझ्ने मान्छे भेटिन्छ। संसारलाई जोड्ने इन्टरनेट भएजस्तै मनसँग मनलाई जोड्ने ‘नेट’ भएरै त यो सम्भव भएको होला।’ –उनले भने।

सिग्देललाई लाग्छ, मानिसका मनमा सायद दुःख, पीडा, सुख, आनन्द र सन्तुष्टि, माया प्रेमका कुरा बढी खेल्छन्। तीमध्ये माया प्रेम र यौनका कुरा मनभित्रै गुम्सिएर रहन्छन्। सहजै बाहिर व्यक्त हुन सक्दैनन्। ती अव्यक्त भाव जसरी प्रकट गर्न सकिएको हुँदैन, त्यो भेटिन्छ, यसमा।

दुई दशकदेखि पत्रकारितामा क्रियाशील सिग्देलले कथासंग्रहमा २२ वटा कथा समावेश गरेका छन्। सबै कथाहरू मनोवैज्ञानिक छन्। लेखकले कथाहरूलाई मनोवैज्ञानिक ढंगले साहित्यिक रस भरेका छन्।

तर, यौनलाई ‘नाङ्गो’ बनाएका छैनन्। उनी भन्छन्– ‘बिम्बको माध्यमबाट ‘यौन’ लाई बुझाउन सकिन्छ।’ आजको साहित्यमा ‘यौन’ बिकिरहेको तथ्य भने उनी स्वीकार्छन्। उनी थप्छन्– ‘त्यसलाई कसरी प्रकट गर्ने र बुझ्ने भन्ने मात्र मूल कुरा हो।’

उनको दाबी छ– ‘कथाहरू मनोवैज्ञानिक भए पनि पुस्तक एक्लै कुनै प्रेमी वा प्रेमिकाले मात्र होइन, सबै परिवारबीच पढ्न सकिन्छ।’ कतिपय पुस्तकले त्यो ओज लिन सकेको देखिँदैन।

तर, आफ्नो तेस्रो पुस्तकसम्म आइपुग्दा लेखकले कथासंग्रहलाई यथार्थपरक बनाउन भरपुर मेहेनत गरेका छन्। जसको माध्यमबाट एउटा छलफल हुने उनको आशा छ, अव्यक्त भाव, मनको अवचेतन मनको तर्कना जे भने पनि यो एउटा नवीन प्रयोग हुनेछ।

जस्तो, फ्रायडवाददेखि, बीपीको यौन मनोविज्ञान हुँदै आजसम्म आइपुग्दा यसको प्रयोगलाई नेपालीपनमा ढालिएन। यो अभाव मनोनेटले पूरा गर्ने विश्वास छ, सिग्देलको।

उनी थप्छन्– ‘अहिले बजारमा आएका उपन्यास हुन् वा कथा ती पुस्तकमा पात्रहरूबीचको संवाददेखि लेखकले प्रकट गर्ने पात्रको अन्तरमनको भाव नै मनोनेट हो।

जसलाई त्यो पात्रले अर्को पात्रलाई भन्न सकेको हँुदैन।’सिग्देलले आफ्नो पत्रकारिताको दुई दशकलाई चित्रण गर्ने गरी ०७३ मा ‘जीवनको गति’ र कोशी पूर्वका राजनीतिक घटनाक्रमलाई समेटेर ०७४ मा ‘पूर्वको राजनीति’ नामक पुस्तक लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्