आयात वृद्धि घट्यो, शोधनान्तर स्थिति बचत



Rastra Bank-Janaboli

नेपाल समाचारपत्र, काठमाडौं।चालू आर्थिक वर्षको शुरूवातमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड रुपियाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७७ करोड रुपियाँले घाटामा रहेको थियो।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा एक वर्षको अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिमा साउन महिनामा चालू खाता घाटा ९ अर्ब ३७ करोड रुपियाँ रहेको देखिएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ अर्ब १६ करोड रुपियाँ रहेको थियो।समीक्षा अवधिमा कुल आन्तरिक कर्जा १ दशमलव ४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा शून्य दशमलव ८ प्रतिशतले घटेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा यस्तो कर्जा २० दशमलव ७ प्रतिशतले बढेको छ।समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १ दशमलव १ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १ दशमलव ३ प्रतिशतले बढेको थियो।

वार्षिक बिन्दुगत आधारमा २०७६ साउन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा खुला बजार कारोबारमार्फत्कुल ३० अर्ब रुपियाँ तरलता प्रशोचन गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ८० अर्ब ३५ करोड रुपियाँ तरलता प्रशोचन भएको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ३ अर्ब ३० करोड रुपियाँ स्थायी तरलता सुविधा उपयोग गरेका छन्।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १७ करोड ८६ लाख खुद खरिद गरी २० अर्ब ११ करोड रुपियाँ खुद तरलता प्रवाह गरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ८ करोड ७८ लाख खुद खरिद गरी ९ अर्ब ६९ करोड रुपियाँ खुद तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी ४६ अर्ब ८१ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३२ करोड लगायत अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी ३९ अर्ब १३ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद भएको थियो।

चालू आर्थिक वर्षको साउनमा ऋणको ब्याजदर घटेको छ। राष्ट्र बैंकका अनुसार, कर्जाको भारित औसत ब्याजदर कम भएर १२ दशमलव शून्य ८ प्रतिशत रहेको छ। गत वर्षको साउन महिनामा कर्जाको औसत ब्याजदर १२ दशमलव ४७ प्रतिशत रहेको थियो।

एक वर्षको अवधिमा कर्जाको ब्याजदर शून्य दशमलव ३३ प्रतिशतले सस्तो भएको देखिएको छ। गत वर्ष आर्थिक वर्षको साउनमा १० दशमलव १२ प्रतिशत रहेको आधार दर यो साउनमा शून्य दशमलव ६७ प्रतिशतले घटेर ९ दशमलव ४५ प्रतिशतमा झरेको देखिएको छ।

राष्ट्र बैंकका अनुसार अन्तर बैंक कारोबारको औसत ब्याजदर घटेर १ दशमलव १९ प्रतिशत कायम भएको छ। गत वर्षको साउनमा यस्तो ब्याजदर १ दशमलव ८८ प्रतिशत थियो। राष्ट्र बैंकको तथ्यांकले औसतमा निक्षेपको ब्याजदर भने बढेको देखाएको छ।

२०७६ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ७७ प्रतिशत रहेको छ। विगत २०७५ साउनमा यो ब्याजदर ६ दशमलव ४० प्रतिशत रहेको थियो।

राष्ट्र बैंकका अनुसार, ट्रेजरी बिलको औसत ब्याजद दर घटेर शून्य दशमलव २१ प्रतिशतमा झरेको छ। गत वर्ष साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ३ दशमलव ३४ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्