नागढुंगा–धार्के सुरुङमार्ग जापानी कम्पनीलाई जिम्मा ४२ महिनामा काम सक्ने सहमति



नेपाल समाचारपत्र, काठमाडौं।बहुप्रतिक्षित नागढुंगा–धार्के सुरुङमार्ग बनाउने सम्झौता भएको छ। काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्मको २ दशमलव ६ किलोमिटर लामो यो सुरुङमार्ग बनाउन सोमबार जापानी कम्पनी हाज्मा–आन्द्रो जेभी र सरकारबीच सहमति भएको हो।
निर्माण शुरू भएको ४२ महिनामा सुरुङमार्गको सम्पूर्ण काम सकेर हस्तान्तरण गर्ने सहमति भएको छ। हाज्मा–आन्द्रो जेभीका विजनेस म्यानेजर र नेपालका तर्फबाट सडक विभागअन्तर्गतको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
आयोजना निर्माणको लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को आर्थिक सहयोग हुनेछ। यसअघि नै जाईकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ। शून्य दशलव शून्य प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।

‘दुई पक्षबीच सुरुङमार्ग निर्माणको सम्झौता भएको हो,’ नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना प्रमुख श्याम खरेलले भन्नुभयो–‘कम्पनीले नोभेम्बर अन्तिमदेखि काम थाल्ने छ र ४२ महिनामा सम्पन्न गरी नेपाल सरकारलाई हस्तारन्तरण गर्ने सम्झौतामा उल्लेख छ।’

निर्माण शुरू गर्न निर्माणको सम्झौता, आर्थिक स्रोत, आयोजना स्थलको उपलब्धता र मोबिलाइजेसन खर्च आवश्यक हुने उहाँले बताउनुभयो।

अन्य सर्तहरू पूरा भए पनि आयोजनास्थल पूर्ण रूपमा उपलब्ध नभइसकेकाले समय लाग्न सक्ने उहाँले बताउनुभयो।

उहाँका अनुसार, सुरुङमार्गका लागि धादिङतर्फको जग्गाको समस्या समाधान एक महिनाभित्रमा हुनेछ।

सुरुङमार्ग निर्माणका लागि सरकारले चालू आर्थिक वर्षको बजेटमा ६ अर्ब २७ करोड विनियोजन गरेको छ। सुरुङमार्ग निर्माणपछि २० मिनेटमा धार्केबाट काठमाडौं आउन सकिने बताइएको छ।

१२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १÷१ मिटरको पेटी राख्ने गरी डिजाइन भएको छ।

निजगढ विमानस्थल स्वीस कम्पनीले बनाउने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा स्वीटजरल्यान्डको ज्युरिच एयरपोर्ट इन्टरनेशनल एजीले पाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको लगानी बोर्डको बैठकले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाउने समेत निर्णय गरेको छ।
निजगढ विमानस्थल बनाउन आशयपत्र पेश गरेका सात वटा कम्पनीमध्ये ज्युरिच छानिएको हो। यो विमानस्थल बनाउन चीन, भारत र फ्रान्सको कम्पनीले इच्छा देखाएका थिए।
बोर्डले विज्ञप्ति जारी गर्दै भनेको छ–‘निजगढ विमानस्थल परियोजना सार्वजनिक–निजी साझेदारीमा विकास गर्नका लागि आशयपत्र पेश गरेका कम्पनीमध्ये तोकिएको मापदण्ड पूरा गरेको ज्युरिच एयरपोर्ट इन्टरनेसनल एजी संक्षिप्त सूचीमा समावेश गर्ने निर्णय भएको छ।’

यो निर्णयपछि कम्पनीले प्राविधिक तथा वित्तीय प्रस्ताव पेस गर्नेछ। कम्पनीले पेस गरेको प्राविधिक र वित्तीय प्रस्तावका आधारमा विमानस्थल निर्माणको जिम्मा दिइनेछ।

बाहिरी चक्रपथ चिनियाँ कम्पनीलाई
लगानी बोर्डले बाहिरी चक्रपथ निर्माण गर्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ। बोर्ड बैठकले उपत्यकाको बाहिरी चक्रपथ विस्तार गर्न चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीको आशयपत्र स्वीकृत गरेको हो।

यससँगै बैठकले उपत्यकाको सवारी व्यवस्थापनमा भएका प्रगतिलाई एकीकृत गर्ने निर्णयसमेत गरेको छ। ८ लेनमा बन्ने यस सडकको लम्बाई ७२ किलोमिटर रहनेछ। यो चक्रपथ निर्माणका लागि शुरूमा ६ अर्ब लागत लाग्ने भनिएता अहिले भने यसको लागत बढीसकेको छ।

तल्लो अरूणको सर्ट लिस्ट

तल्लो अरूण जलविद्युत् आयोजना निर्माण गर्न इच्छा देखाएका तीन कम्पनीलाई सरकारले संक्षिप्त सूची (सर्ट लिस्ट) मा राख्ने निर्णय गरेको छ। लगानी बोर्डको ४०औं बैठकले चीन, जापान र भारतीय कम्पनीलाई यस्तो सूचीमा राखेको हो।
६ सय ७९ मेगावाट क्षमता रहेको यो आयोजना निर्माण गर्न संक्षिप्त सूचीमा परेका कम्पनीमा नेपालको हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल) सँगको संयुक्त उपक्रममा चीनको पावर कन्स्ट्रक्सन अफ चाइना, भारतको सतलज जलविद्युत् निगम र नेपालकै ग्रिन रिसोर्सेस प्रालिसँगको उपक्रममा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जे पावर) छन्।

संक्षिप्त सूचीमा राख्ने मितिबाट शुरू गरेर ४५ दिनभित्र कम्पनीलाई आरएफपी (रिक्वेस्ट फर प्रोपोजल) दिने र ६० दिनभित्र उनीहरूबाट प्रस्ताव संकलन गर्ने निर्णयसमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्