कर्णालीको बजेट खर्चमाथि छानबिन



दिपेन्द्र शर्मा, सुर्खेत।कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ।

असोज ३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले डा.भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको जानकारी दिनुभयो।

आ.व.२०७५–०७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासाहरू र प्रदेश सभामा समेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उहाँले बताउनुभयो।

‘समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समय दिईएको छ’, प्रवक्ता केसीले भन्नुभयो, ‘जुन प्रतिवेदनले संसद तथा अन्य क्षेत्रबाट प्राप्त गुनासोहरूलाई सम्बोधन गर्ने छ।’

त्यस्तै, उक्त बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजताका लागि आदेश जारी गर्ने निर्णय गरेको उहाँले जनाउनुभयो।

त्यसैगरी, प्रदेश सरकारको सो बैठकले दैलेख निवासी सुर्खेत साझा बिसौनी दैनिकमा कार्यरत पत्रकार डीलप्रसाद शर्मालाई बोनम्यारो ट्रान्सप्लान्टको लागि उपचार खर्चवापत् रु.५लाख र करेन्ट लागेर बिरामी हुनुभई काठमाडौंमा उपचारत सोरु गाउँपालिका–१ मुगुका भ्यागे नेपाली भन्ने अमर दमाईलाई रु.१ लाख खर्च सहयोग निर्णय गरेको प्रवक्ता केसीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्