सुरक्षा योजनामा नागरिक



हिन्दू धर्मावलम्बीको महान् चाड दशैं–तिहार–छठ नजिकिँदै छन् । चाडपर्वमा आफन्त भेटघाट, घुमफिर गरेर मानिसले आनन्द लिने गर्दछन् ।

तर, यही मौकामा चोरी, लुटपाट, कालोबजारी, कुटपिट, पाकेटमारी, जुवातास, अवैध मदिरा बिक्री–वितरण, आगजनी, विस्फोटन, तस्करी, चोरी–निकासी, ट्राफिक दुर्घटना, ठगी, ट्राफिक नियम उल्लंघनजस्ता घटना अत्यधिक हुने भएकाले सोहीअनुरूप सुरक्षा रणनीति तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने खाँचो छ यसै परिप्रेक्षमा संघारका पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटना र अपराध न्यूनीकरणका लागि सुरक्षा योजना बनाएको छ । तर, सुरक्षा निकायका हरेक योजनाको प्रभावकारिता जनताको साझेदारीमा निर्भर गर्दछ । प्रहरीले यस पक्षमा पनि ध्यान दिएको देखिएको छ, जसलाई सराहनीय मान्नुपर्दछ ।

वर्ष दिनको ठूलो चाड मनाउन हजारौं मानिस आफ्नो घर जाने गर्दछन् । यस्तो बेला खाली रहेको घर तोडफोड हुन सक्ने, घरभित्र रहेका सम्पत्ति चोरी हुन सक्ने र सरकारी सम्पत्ति हानी–नोक्सानी हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

अतः आफ्नो घर छोडेर जाँदा छिमेकी र नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउन तथा कुनै शंकास्पद व्यक्ति तथा वस्तु देखेमा अथवा कुनै घटना घटेमा तत्काल खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

सर्वसाधारणले सूचना दिएमा सुरक्षा रणनीति कार्यान्वयन गर्न सहज हुने प्रहरीको विश्वास रहेको छ । प्रहरीले चाडबाड लक्षित सुरक्षाअन्तर्गत आर्थिक कारोबार हुने बैंक, वित्तीय संस्था, सहकारीहरूमा चोरी तथा लुटपाट हुन सक्ने, पर्याप्त सवारीसाधनको उपलब्धता तथा सहज ट्राफिक सञ्चालन हुन नसक्ने, सवारी दुर्घटनामा वृद्धि हुन सक्ने, सवारीसाधनभित्र यात्रुहरूको पकेट मारी, चोरी र लुटपाट हुन सक्ने सम्भावना पनि औंल्याएको छ ।

सोहीअनुरूप सुरक्षा योजनामा सुरक्षाकर्मीको प्रभावकारी परिचालन, प्रभावकारी कारबाही, शीघ्र र सहज सेवा पहुँचको पक्षलाई विशेष ध्यान दिने बताइएको छ ।प्रहरीले जतिसुकै निगरानी र गस्ती गरे पनि समाजमा अपराधको सम्भावना रहिरहन्छ ।

प्रहरी, प्रशासनको बलमा अपराधको न्यूनीकरण मात्र गर्न सकिन्छ, यसलाई शून्यमा ल्याउन प्रायः असम्भव छ । प्रहरीले आफ्नो सुरक्षा रणनीतिअनुसार काम गर्न समाजका विविध तह र तप्काको साथ र सहयोग पाएको हुनुपर्दछ । नागरिकको सहयोगबिना प्रहरी एक्लैले मात्र सुरक्षा प्रत्याभूत गर्न सक्दैन ।

सुरक्षा योजनाको प्रभावकारिताका लागि समुदाय र प्रहरी हातेमालो गरेर अघि बढ्नु आवश्यक छ । यस आवश्यकतालाई प्रहरीले पनि नीतिगतरूपमा स्वीकार गरेको देखिन्छ । पछिल्ला वर्षहरूमा नेपाल प्रहरीले समुदायसँग मिलेर राम्रा काम गरेका उदाहरणहरू उल्लेख्य छन् ।

सामुदायिक प्रहरी सेवामा प्रहरी र स्थानीय नागरिक हातोमालो गरेर काम गरेको पाइन्छ । नागरिकलाई बिनाबर्दीका प्रहरी मानिएको अवस्थामा सुरक्षाकर्मी र सर्वसाधारण व्यक्तिबीच एक–आपसमा विश्वासको भावना अभिवृद्धि हुनु अनिवार्य छ ।

खास गरी तीन महिनापछि शुरू हुने पर्यटन वर्षको सफलता पनि सुरक्षा अवस्थामा निर्भर हुनेछ । पर्यटक नेपाल आउने भनेको सुरक्षित ढंगले मनोरञ्जन गर्नका लागि हो ।

त्यसैले समुदायसँगको सहयात्रालाई सफल बनाउन प्रहरी र नागरिक विश्वासमा रहने वातावरण अभिवृद्धि गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्