नर्भिकमा तौल कम गर्ने जटिल शल्यक्रिया सफल



नर्भिक इन्टरनेसनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरूको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको शुरूआत गरिएको छ।

जनरल, जीआई एन्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ वर्षीय महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।

इमाडोल निवासी ६५ वर्षीय श्रीमती अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित हुनुहुन्थ्यो। हिँडडुल गर्न गाह्रो, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने समस्या, अलिकति हिँड्दा पनि स्वाँ–स्वाँ हुने समस्या त छँदै थियो, त्यसमाथि राति निन्द्रा नपर्ने समस्याले बढी नै सताएको थियो।

साथै राति तारान्तार पिसाब फेर्न गइरहनुपर्ने अर्को विकराल समस्या पनि थियो उहाँलाई। विभिन्न हस्पिटलमा जचाउनुभयो, तर समस्या ज्यूँका त्यूँ।केही समयपूर्व उहाँ नर्भिकको जनरल, जीआई एन्ड ल्याप्रोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आउनुभयो।

अब्स्ट्रक्टिभ स्लिप अप्निया (राति घुर्ने र निन्द्रा नपर्ने) समस्याका लागि नर्भिकका वरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्राडा रमेश चोखानीसँगको परामर्शपश्च्यात् जीआई एन्ड ल्याप्रोस्कोपिक शल्यचिकित्सकको टोलीसँगको परामर्शमा रहनुभएको थियो।

शुरूमा निर्णय लिन निकै गाह्रो परेपछि शल्यचिकित्सकको टिमको लगातार परामर्श र सहयोगका कारण यो शल्यक्रिया गर्ने निर्णयमा पुग्नुभएको कुरा उहाँले बताउनुभयो।

बेरियाट्रिक शल्यक्रिया (जसलाई तौल कम गर्ने शल्यक्रिया वा मेटावोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ) विशेषतः ज्यादा मोटोपन भएका (जसको बीएमआई ४०/केजी वा ३५ केजीभन्दा बढी भई मोटोपनका कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्नियालगायत डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपन जस्ता समस्याको उपचार गर्ने गरिन्छ।

यसखाले शल्यक्रियाका फाइदामा केवल शारीरिक तौल कम गर्ने मात्र नभएर माथि उल्लेख गरिएका चिकित्सकीय समस्याको न्यूनीकरण वा निराकरण गर्नुसमेत हुन्छ।

नर्भिकको जनरल, जीआई एन्ड ल्याप्रोस्कोपिक शल्यक्रिया विभागले ल्याप्रोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्याप्रोस्कोपिक हर्निया शल्यक्रिया, ल्याप्रोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्त थैली, एपेन्डिक्स, र सानो आन्द्राका विविध शल्यक्रिया), पेट/आमाशय, प्याङ्क्रियाजका शल्यक्रिया तथा ल्याप्रोस्कोपिक लिभर (कलेजो) शल्यक्रिया सफलताका साथ नियमितरूपमा गर्दै आएको छ।

यसखाले तमाम शल्यक्रियात्मक उपचार विश्वसनीयरूपमा स्वदेशमै र सर्वसुभलरूपमा उपलब्ध हुन थालेपश्चात् स्तरीय शल्यक्रियाका लागि अथाह धनराशी खर्चेर विदेश धाउनुपर्ने बाध्यता अब नरहेको शल्यक्रिया टोलीका सदस्य डा. प्रकाश चौधरीले बताउनुभयो।

हिँड्डुल गर्न नसक्नु, श्वास–प्रश्वासमा समस्या हुनु, निन्द्रा नपर्नु, रक्तचाप बढ्नु र राति तारन्तार पिसाब फेर्न गइरहनु आदि सबै समस्या उहाँको अश्वाभाविक मोटोपनबाटै सिर्जित भएका थिए। त्यसर्थ, उक्त मोटोपन कम नगरिएसम्म उहाँमा प्रभावकारी उपचार गर्ने/गराउने सम्भावना थिएन नै।

त्यसैले पारिवारिक सरसल्लाहपश्चात् उपयुक्त शल्यक्रिया गराउन श्रीमती अञ्जु तयार हुनुभयो। साथै उहाँको पित्तथैलीमा स–साना धेरै पत्थरी (मल्टिपल कोलिलिथियासिस) पनि थिए। उक्त समस्याको समेत उपचार गराउनुपर्ने आवश्यकता उहाँमा थियो।

सोहीअनुरूप गत भदौ २५ गते बुधबार श्रीमती अञ्जु नर्भिकमा भर्ना हुनुभयो। भदौ २६ गते बिहीबार उहाँको दुवैखाले सफलतम शल्यक्रिया गरियो।

शल्यक्रियापूर्व हस्पिटलमा भर्ना हुँदा उहाँको तौल ९० केजी थियो हाल उहाँको तौल ८५ केजीमा झरिसकेको र बीएमआई पनि केवल ४१ मात्रै रहेको छ।

के हो त ल्याप्रोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी शल्यक्रिया ?

स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्दछ। यस प्रक्रियामा आमाशयको करिब ७५ प्रतिशत भाग हटाइन्छ र आमाशयलाई नली आकारमा परिवर्तन गरिन्छ, ताकि त्यहाँ कम मात्रै खाना अट्न सकोस्।

उहाँको सफलतम् शल्यक्रियात्मक उपचार नर्भिकका वरिष्ठ जनरल, जीआई एन्ड ल्याप्रोस्कोपिक सर्जन प्राडा मुकुन्दराज जोशीको टोलीले गरेको थियो।

उक्त टोलीमा प्राडा जोशीका अलावा डा. सञ्जय पौड्याल, डा. टंकप्रसाद बोहरा, डा. प्रकाश चौधरी र एनेस्थेसियोलोजिस्ट डा. सुरेश लामिछाने संलग्न हुनुहुन्थ्यो।

शल्यक्रियापश्चात् उहाँलाई एकदिन आईसीयूमा राखी तत्पश्चात् वार्डमा सारिएको थियो। यसपूर्व नर्भिकमा त्यसखाले शल्यक्रिया नभएका भने होइनन् तर विदेशी विशेषज्ञहरूको प्रत्यक्ष संलग्नतामा मात्रै।

नर्भिकमा नेपाली चिकित्सकको टोलीद्वारा मात्रै गरिएको यसखाले सफलतम् शल्यक्रिया भने यो पहिलो थियो। श्रीमती बुढाथोकी एक साताअघि डिस्चार्ज भइसक्नुभएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्