बैंकका पूर्वप्रशासकमाथि कारबाही बैंकर्स संघको मुख्य एजेन्डा

पुलिस भन्छ– आदेशको पालना गर्यौं



परिवर्तन देवकोटा, काठमाडौं। बैंक अफ काठमाडौंका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठको पक्राउबारे नेपाल बैंकर्स एसोसियसनको आज बस्ने बैठकको मुख्य एजेन्डा बनाउने भएको छ।

‘यस विषयमा गहनरूपमा छलफल गर्न मंगलबारका लागि बैठक बोलाइएको छ, त्यसपछि हाम्रो आधिकारिक धारणा सार्वजनिक हुनेछ।’ –बैंकर अनिल केशरी शाहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

मुद्रा अपचलन गरेको आरोपमा बैंक अफ काठमाडौंका पूर्वकार्यकारी अधिकृत (सीईओ) श्रेष्ठ पक्राउ परेसँगै बैंकिङ क्षेत्र आतङ्कित भएको छ।

बैंकका पूर्वसीईओ श्रेष्ठलगायत बैंकका बहालवाला र पूर्वकर्मचारीहरूलाई नक्कली धितोमा ऋण प्रवाह गरेको आरोपमा प्रहरीले शुक्रबार पक्राउ गरेको थियो।

‘धितो लिने र ऋण प्रवाह गर्ने एक प्रक्रिया हुन्छ, हरेक ठाउँको धितो परीक्षण गर्न सीईओ आफंै जाँदैन, स्थानीय कर्मचारी पठाउँछ, झापाको जमिज जाँच्न काठमाडौंको व्यवस्थापक कसरी जान सक्छ।’ –एक बैंकर्सले श्रेष्ठको गिरफ्तारीप्रति क्षोभ प्रकट गरे।

पूर्वसीईओ पक्राउ प्रकरणमा बैंकिङ क्षेत्र नै अहिले तरङ्गित बनेको छ। बैंकका कर्मचारीहरूले अनुसन्धानका लागि प्रहरीलाई सहयोग गर्दागर्दै पनि पक्राउ गरेको भन्दै गुनासो गरेका छन्। ‘

हिजो सबै कागजपत्र मिलाएर ऋण दिएको भए पनि अहिले ऋण नउठे कारबाहीमा परिने डर भयो।’ –नाम उल्लेख नगर्ने ती बैंकरले बताए।

र्वसीईओलाई चियापानका लागि बोलाएर प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिने शैली ठीक नभएको बैंकर्सहरूले बताएका छन्। बैंकबाट बाहिरिसकेका कर्मचारीलाई प्रहरीले त्यो ढंगले नियन्त्रणमा लिन नहुने बैंकर्सहरूको तर्क छ।

बैंकर्स संघ भन्छ– छलफल गर्दै छौं

पूर्वसीईओ पक्राउपछि तरङ्गित बनेको बैंकिङ क्षेत्रमा अब उनलाई के हुन्छ भन्ने विषयले चर्चा पाउन थालेको छ। सादा जीवनयापन भएका उनी जोखिमबारे राम्रो विज्ञता राख्ने गरेको भन्दै उनले कसरी गलत काम गरे, यो रहस्यमय बनेको बैंकर्सहरू बताउँछन्।

यसै सेरोफेरोमा रहेर मंगलबार नेपाली बैंकर्सहरूको छाता संगठन नेपाल बैंकर्स एसोसियसनको बैठक बस्न लागेको शाहले जानकारी दिनुभयो।

शाहले पूर्वसीईओ पक्राउपछि यसमा बैंकर्स एसोसियसनको औपचारिक धारणा के हो, त्यो सार्वजनिक गरिने बताउनुभयो।

छलफल चलिरहेको छ ः राष्ट्र बैंक

पूर्वसीईओ पक्राउपछि विभिन्न ढंगले कुराकानी भइरहेको छ। यस बीचमा राष्ट्र बैंकले छलफल गरिरहेको बताएको छ। बैंकका बैंक तथा वित्त अनुसन्धान प्रमुख देवकुमार ढकालले यस विषयमा राष्ट्र बैंकले छलफल गरिरहेको बताउनुभयो

आदेशको पालना गर्यौं ः प्रहरी

पूर्वसीईओ पक्राउपछि बाहिर अनेक हल्ला भइरहँदा नेपाल समाचारपत्रले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सम्पर्क गरेको छ।

सीआईबीका प्रमुख प्रहरी नायव महानिरीक्षक निरज शाहीले बैंक अफ काठमाडौंले कमसल जग्गा धितोमा राख्नमा पूर्वसीईओको पनि हात रहेको भन्दै कारबाहीका लागि अनुरोध गरेको बताउनुभयो।

उहाँले बैंकको त्यस्तो आग्रह आएपछि हामीले अदातलसँग आदेश मागेको र अदालतको आदेश पाएपछि पक्राउ गरिएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘हामीले अदालतको आदेश पालना गरेका हौं, उनलाई पक्राउ गर्नुमा अरू कुनै सम्बन्ध छैन।’

जग्गाको मूल्यांकन गर्नेले मात्रै नभई यसमा बैंकको पनि संलग्नता स्वतः देखिएको उहाँले बताउनुभयो। ‘मूल्यांकन गर्नेले मूल्यांकन गरेपछि त्यो जग्गालाई बैंक स्वयंले पनि मूल्यांकन गर्नुपर्छ, यो सार्वजनिक दायित्वअन्तर्गत पर्छ’, उहाँले भन्नुभयो– ‘यसमा बैंक वा बैंकका पूर्वकर्मचारी भन्ने कुरा हुँदैन।’

प्रतिक्रिया दिनुहोस्