म्याग्दीको बगरफाँटका बाढीपीडितलाई सहयोग एवं राहत वितरण र व्यवस्थापन

बेपत्ता दुई बालिका अझै भेटिएनन्



प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटका बाढीपीडित तथा प्रभावितहरुलाई आर्थिक तथा जिन्सी सहयोग गरिएको छ । बगरफाँटस्थित कोटखोलामा आएको बाढीले विस्थापित बनेकाहरुलाई जिल्लास्थित विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाले सहयोग गरेका हुन् ।

बेनी नगरपालिकाले बाढीमा परी पूर्णरुपमा क्षति बेहोरेका पार्वती परियार र अनिता परियारलाई नगद एकएक लाख रुपैयाँको चेक उपलब्ध गराएको छ । यसैगरी दिलप्रसाद जुग्जालीलाई नगद ५० हजार रुपैयाँ तथा राममाया परियारलाई २५ हजार रुपैयाँ दिएको हो ।

त्यस्तै विष्णु परियार, रमेश परियार, सेते किसान र रेशम परियारलाई आठहजार रुपैयाँका दरले नगद चेक उपलब्ध गराइएको बेनी नगरपालिकाले जनाएको छ ।

सोही अवसरमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफूले पाएको सेवासुविधाबाट अनिता, पार्वती र राममाया परियार तथा दिलप्रसाद जुग्जालीलाई व्यक्तिगत रुपमा १० हजार रुपैयाँका दरले सहयोग गर्नुभएको छ । त्यसैगरी अन्य व्यक्तिहरुलाई पनि उहाँले नगद पाँचहजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउनुभएको छ ।

 

यसैबीच सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दीस्थित विभिन्न लायन्स क्लबहरुले नगद तथा जिन्सी गरी एकलाख पाँचसय रुपैयाँ बराबरको बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।

लायन्स क्लबहरुले नगद ४५ हजार पाँचसय र ५५ हजार रुपैयाँ बराबरको ग्यास सेट ६ थान, त्रिपाल र प्रेसरकुकर ९/९ ओटा सहयोग गरेको जानकारी दिएका छन् ।

यसैगरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले बाढीबाट पूर्ण क्षति बेहोरेका बगरफाँटका दिलप्रसाद जुग्जाली, पार्वती परियार र राममाया परियारलाई १२ हजार रुपैयाँका दरले नगदसहित व्ल्याङ्केट, त्रिपाल, कम्बललगायत लत्ताकपडा र भाँडाकुँडा सहयोग गरेको छ ।

त्यस्तै आंशिक क्षति बेहोरेका रमेश परियार, रेशम परियार, विष्णु परियार र सेते किसानलाई आठ हजारका दरले नगदसहित व्ल्याङ्केट, त्रिपाल, कम्बललगायत लत्ताकपडा एवं भाँडाकुँडाहरु सहयोग गरेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले पनि विस्थापितहरुलाई ११ थान त्रिपालसहित उनीहरु सबैलाई पुग्नेगरी लत्ताकपडा र भाँडाकुँडा सहयोग गरिएको उपसभापति अमर बानियाँले जानकारी दिनुभयो ।

अहिले विस्थापितहरुमध्ये दिलप्रसाद जुग्जाली आफ्नो छोरी ज्वाईँको घरमा बसेको र अन्य सबैलाई सरस्वती आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको बेनी–२, का वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

शनिबार राती ९ बजेदेखि परेको अविरल वर्षाका कारण बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बगरफाँटका तीनवटा घर पुरेको छ भने पाँच घरमा क्षति पु¥याएको छ ।

परम्परागत धार परिवर्तन गरेर आएको खोलाको बाढीले तीनवटा घर पुरिँदा भाग्ने क्रममा हराएका दुई बालिका १० वर्षीया प्रविना परियार र ६ वर्षीया अनुस्का परियार अहिलेसम्म भेटिएका छैनन् ।

उनीहरुको खोजीकार्य जारीरहेको प्रहरीले जनाएको छ । बुद्ध एकेडेमीको १५ ओटा कक्षाकोठा र खेलमैदानमा बाढीले पूर्णरुपमा क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्