अब काठमाडौंबासीलाई दुई दिन बिराएर खानेपानी



काठमाडौं, (नेस)।काठमाडौंबासीले अब दुई दिन बिराएर खानेपानी पाउने भएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा दुई दिन बिराएर पानी वितरण थाल्ने जनाएको छ।

यसअघि ५/६ दिन बिराएर खानेपानी वितरण गर्दै आएकोमा लिमिटेडले अब भने आपूर्ति सहज बनाउन लागेको हो। बाग्मतीमा पानीको प्रवाह बढेकाले अहिले काठमाडौंका विभिन्न ठाउँमा पानीको आपूर्ति सहज बनाउन लागिएको लिमिटेडले जनाएको छ।

महाराजगन्ज र बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा जम्मा भएको पानी दुई दिन बिराएर वितरण गर्न लागिएको हो।

लिमिटेडका अनुसार महांकालचौरस्थित पानी ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ। महांकालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हँुदै आएको छ।

महाराजगञ्जस्थित पानी ट्यांकीमा अहिले दैनिक ४५ लाख लिटर पानी थपिएको छ भने नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ।

खानेपानी तथा सरसफाई मन्त्री बीना मगरको निर्देशनमा लिमिटेडले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्