भारतका प्रधानमन्त्री मोदी अमेरिकामा ‘हाउडी मोदी’लाई सम्बोधन गर्दै



ह्युस्टन, (एजेन्सी)।अमेरिकाको भ्रमणमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय समुदायका जनताले भव्य स्वागत गरेका छन्।

मोदीले टेक्सस राज्यको ह्युस्टनमा आयोजना हुने एक कार्यक्रममा भारतीय नागरिकलाई सम्बोधन गर्ने छ।‘हाउडी मोदी’ अर्थात् ‘हाउ डु यु डु मोदी’ नामको उक्त कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित हुने बताइएको छ।

आइतबारको उक्त कार्यक्रमका लागि टेक्सस पुगेका मोदीलाई सबैभन्दा पहिला शिख समुदाय, काश्मिरी पंडित र बोहरा समुदायका सदस्यहरूले भेटे।

शिख समुदायले काश्मिरबाट अनुच्छेद ३७० हटाएकोमा प्रधानमन्त्रीको प्रशंसा गरेका छन् भने त्यसैगरी करतारपुर कोरिडोरका लािग उनलाई धन्यवाद पनि दिए।

शिख समुदायका नागरिकले प्रधानमन्त्रीलाई एक मेमोरेन्डम पनि सुम्पेका छन्। उक्त मेमोमा उनीहरूले सन् १९८४ को शिख विरोधी दंगा, भारतीय संविधानको अनुच्छेद २५ र आनन्द मेरिज एक्ट, भिसा तथा पासपोर्टजस्ता मुद्दा उठाएका छन्।

त्यसै गरी उनीहरूले दिल्लीको इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टको नाम परिवर्तन गरी गुरु नानक देव इन्टरनेसनल एयरपोर्ट राख्न पनि माग राखेका छन्।

क्यालिफोर्नियाको अर्विनस्थित नियोगका कमिस्नर अरविन्द चावलाले मोदीलाई मेमोरेन्डम बुझाएको र शिख समुदायका लागि उनले गरेका योगदानका लागि धन्यवाद दिएको बताए।

‘हामीले करतारपुर कोरिडोरका लागि आभार व्यक्त गरेका छौं। हाउडी मोदी कार्यक्रममा डोनाल्ड ट्रम्प पनि आइरहेका छन्। यसले पनि देखाएको छ कि मोदी कति महत्वपुर्ण नेता हो।’

मोदीले आइतबार ह्युस्टनको एनआरजी स्टेडियममा करिब ५० हजारको संख्यामा उपस्थित हुने भारतीय समुदायलाई सम्बोधन गर्ने बताइएको छ।

टेक्ससका सिनेटर जोन कोरनिन पनि हाउडी मोदी कार्यक्रममा सहभागी हुने बताइएको छ।हाउडी कार्यक्रमपूर्व प्रधानमन्त्री मोदीले अमेरिकाका प्रमुख कम्पनीका सीइओसँग बैठक गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्