विराटनगर मगन्तेमुक्त अभियानमा



सरोज यादव, विराटनगर।प्रदेश १ का एकसय विद्यालयमा पहिलोपटक डिजिटल साक्षरता अभियानको शुरुआत गरेको प्रदेश १ सरकारले प्रदेशलाई सडक मानवमुक्त प्रदेश बनाउने अभियानको थालनी गरेको छ।

शनिबार विराटनगर–३ मदननगर टोलबाट एक महिलाको उद्धार गरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले अभियानको थालनी गर्नुभएको हो। विसं २०४३ सालमा हस्तबहादुर कार्कीसँग वैवाहिक जीवनमा बाँधिएकी लिला कार्र्की २०४७ सालबाट नै मानसिक समस्यामा परिन्।

उनको उपचारका लागि परिवारले ५–६ वर्षसम्म विभिन्न ठाउँ डुलाएपनि २० को १९ भएन। दुई छोरा र एक छोरीकी आमासमेत रहेकी कार्कीको मानसिक सन्तुलन गुमएपछि गास र बासको टुङ्गो नभएको श्रीमान् हस्तबहादुर कार्की बताउनुहुन्छ।

उद्धार गरेर कार्कीलाई विराटनगर–१० मा रहेको मानव सेवा आश्रम तीनटोलियामा लगेपछि अब उनको उपचार तथा खान बस्नको सम्पूर्ण प्रबन्ध आश्रमले गर्नेछ।

परिवार नभएका र विचल्लीमा परेकालाई परिवारको जस्तो वातावरणमा राखिने आश्रमका सेवक नवराज केसी बताउँछन्। सडक मानवमुक्त प्रदेश बनाउन प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सक्दो सहयोग गरिरहेको उहाँको भनाइ छ।

सडक मानवरहीत प्रदेश बनाउन प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुरुप काम थालनी गरिएको मन्त्री घिमिरेले बताउनुभयो। उहाँले केही समयमै प्रदेश एकलाई सडक मानवरहीत प्रदेश बनाइने बताउँदै वेवारिसे ढंगबाट कसैले पनि सडकमा बस्नुपर्ने बाध्यता नआउने बताउनुभयो।

मानसिक रोगी महिला विभिन्न हिंसाका शिकार बन्ने गरेको पाइएकोले पहिलो चरणमा मानसिक रोगी महिलाको उद्धार गरिने उहाँको भनाइ छ।
प्रदेश सरकारले यसअघि पनि सामूहिक बलात्कारको शिकार भएकी भोजपुरकी एक महिलालाई शिशुसहित उद्धार गरी आश्रममा ल्याएको थियो।

यस किसिमका व्यक्तिको तथ्यांक संकलन भइरहेको र चाँडै कार्ययोजना बनाएर अगाडि बढ्ने प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्