विद्यार्थी र अभिभावकलाई जन्मदिनमा बिरुवा



हेटौंडा, (नेस)।प्रदेश–३ सरकारले प्रदेशभरका सामुदायिक विद्यालयमा बिरुवा रोपेर विशेष कार्यक्रम शुरू गरेको छ। संविधान दिवसको अवसर पारेर हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट शनिबार यस्तो कार्यक्रम शुरू गरिएको हो।

सरकारले करिब २ लाख खर्च गरेर बिरुवा रोपेको छ। त्यहाँ बगैंचा पनि बनाइएको छ। चन्द्रोदयबाट शुरू भएको कार्यक्रम प्रदेशका सबै सरकारी विद्यालयमा लागू गरिने भएको छ।

प्रदेश सरकारले सबै विद्यार्थी र अभिभावकलाई जन्मदिनमा बिरुवा उपहार लेनदेन गरेर रोप्ने अभियान थाल्न आग्रह गरेको छ।

प्रदेशका कतिपय विद्यालयमा अध्ययनरत विद्यार्थीले अनिवार्यरूपमा एउटा बिरुवा रोपेर संरक्षण गर्नुपर्ने र बिरुवा संरक्षण गरेबापत अतिरिक्त क्रियाकलापअन्तर्गत परीक्षामा नम्बर थप गर्ने नीति लिएको छ।

सोही नीतिलाई सकारात्मकरूपले सघाउन ‘विद्यालय हरित कार्यक्रम’ मा प्रदेशको वन मन्त्रालयले १५ डिभिजन कार्यालयमार्फत १३ जिल्लामा १३ हजार २ सय बिरुवा रोप्ने लक्ष्य लिएको प्रदेश वन सचिव शिवकुमार वाग्ले जानकारी दिनुभयो। कार्यक्रमका लागि मन्त्रालयले २६ लाख ४० हजार बजेट छुट्याएको छ।

कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको संख्याअनुसार वृक्षरोपण गर्ने र विद्यालयले विद्यार्थीलाई बिरुवा संरक्षणको जिम्मा दिने छ।

जिल्लामा रहेका वन कार्यालयमार्फत इच्छुक विद्यालयले बिरुवा माग गरेपछि बगैंंचा निर्माण गर्ने गरी फलफूलसहित बिरुवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई अध्ययनसँगै बिरुवा संरक्षणको जिम्मेवारी थपिदिएको छ। प्रदेश सरकारले ‘एक विद्यार्थी–एक बिरुवा’ कार्यक्रम लागू गरेसँगै सामुदायिक विद्यालयका विद्यार्थीको काँधमा अब अध्ययनसँगै बिरुवा बचाउने जिम्मेवारी थपिएको हो। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेपछि विद्यालयमा एभोकाडो, लिची, अम्बा, आँप, कटहर, अमला, तेजपात, नासपाती, हलुवावेद र रुद्राक्षलगायत फलफूलसहित २ सय बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिनुभयो।

कृषि पेशाप्रतिको अनिच्छाका कारण विभिन्न भागमा जग्गा बाँझिएको अवस्थामा प्रदेश सरकारले ‘एक विद्यार्थी–एक बिरुवा’ कार्यक्रम अघि सारेको हो।

बाँझिएका जग्गामा कृषकलाई फलफूलका बिरुवा लगाउन अभिप्रेरित गर्दै स्थानीयलाई आयआर्जनसँग जोड्न बिरुवा राप्ने अभियान थालिएको हो।

प्रतिक्रिया दिनुहोस्