दुर्घटना न्यूनीकरणमा जोड दिन आग्रह



नेपाल समाचारपत्र,पर्वत।ट्राफिक प्रहरीले सवारी साधनलाई कारबाही गरेर राजस्व संंकलन गर्ने भन्दा दुर्घटना न्युनीकरणमा जोड दिन सरोकारवालाले आग्रह गरेका छन्।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पर्वतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले राजस्व संकलन गर्नतर्फ मात्रै प्रहरी केन्द्रित भएकाले दुर्घटना शुन्यमा झार्नेतर्फ जोड दिन आग्रह गरेका हुन।

दशैं तिहार जस्ता चाडवाडमा धेरै दुर्घटना हुने भएकाले सवारी चेकजाँट र सडकको अवस्था सुधार गर्नुपर्ने धारणा पनि सहभागीको थियो। ट्राफिक प्रहरीले अनावश्यकरूपमा जरिवाना तिराउँदा पटक पटक मर्कामा परेको व्यवसायीहरूले गुनासो गरेका थिए।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले राजस्व संकलन गर्ने कुरा प्रहरीको प्राथमिकता नभएको स्पष्ट पार्नुभयो। उहाँले दुर्घटनालाई शून्यमा झार्ने प्रहरीलाई काम गर्न पनि निर्देशन दिनुभयो।

‘मैले अफू मातहतको युनिटको मूल्यांकन राजस्व उठाएको आधारमा होइन दुर्घटना कति कम भयो भनेर गर्ने छु,’ उहाँले भन्नुभयो– ‘चाडवाड आउँदै छ, कसैले पनि मृत्युलाई हत्केलामा बोकेर हिड्न र कसैको मृत्युको खबर सुन्न नपरोस्।’ नेपालमा मात्रै ट्राफिक राजस्व कम भएकाले पालना गराउन कठिन भएको हुँदा राजस्व मात्रा बढाउने हो भने उल्लंघनमा कमी आउँछ भन्नुभयो।

व्यवहारिकता हेर्न खोज्दा नै प्रहरी कमजोर बनेको बताउँदै नियम र कानुनलाई कडाइका साथ पालना गर्ने र गराउने भएकोले व्यवहारिकताका नाममा नियम र काननलाई उल्लघंन गर्न नुहुने बताउनुभयो।

कार्यक्रममा बोल्दै पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले पर्वत प्रशासन र प्रहरीले आवश्यक सुरक्षा रणनीति तयार पारिरहेको जानकारी गराउँदै चाडवाडको बेलामा ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनका सञ्चालक र जुवातास खेल्नेहरूलाई कडा कारबाही गरिने बताउनुभयो।

चाडपर्वका बेलामा यात्रुहरूको चाप बढी हुने भएकोले रातो नम्बर प्लेट भएका सवारीले पनि यात्रु बोक्न दिने की ? भन्ने विषयमा मिल्नेसम्म सहज वातावरण बनाउन थालिएको तर जुवातास खेलेको सम्बन्धमा कडा कारबाही गरिने जानकारी दिनुभयो।

पर्वतका प्रहरी प्रमुख श्यामु अर्यालले सुरक्षा र कानुन कार्यान्वयनका सन्र्दभमा कससँग पनि सम्झौता नहुने स्पष्ट पार्दै गलत नियत राखेर कसैलाई दुःख दिने पक्षमा प्रहरी नरहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, उद्योगी तथा व्यवसायी, यातायात व्यवसायी, सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायतले कार्यक्रममा सहभागीले जिल्लाको यातायाता व्यवस्थापन, भाडादर, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनको विषय, अव्यवस्थित सडक तथा बसपार्क, चाडवाड केन्द्रित सुरक्षा योजनालगायतको विषयमा आफ्ना धारणा र सुझाब राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्