लुइँटेल–भच्चेक सडकको ठाउँठाउँमा पहिरो, मर्मतमा ढिलासुस्ती



गोरखा, (नेस)।गोरखाको लुईंटेल भञ्ज्याङ भच्चेक सडकको ठाउँठाउँमा गएको पहिरो पन्छाएर मर्मतको काम थालिएको छ। गत जेठमा कालोपत्रे सकिएको सो सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको थियो।

सानाठूला गरी ५० देखि ६० वटासम्म पहिरो गएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईका इन्जिनियर शैलेन्द्र भट्टले बताउनुभयो। सानो पहिरो पन्छाउने काम सकिएपनि सडक भासिएका ठाउँमा मर्मतको काम चलिरहेको उहाँको भनाइ छ।

उक्त सडकखण्डअन्तर्गतको बोहोरागाउँ, आँपपिपल र थुम्कीमा भने सडक नै भासिएको छ। त्यसमध्ये बोहोरागाउँमा सडक भासिएको ठाउँमा टेवा पर्खाल लगाउने काम भइरहेको भट्टले जानकारी दिनुभयो।

बोहोरागाउँ नजिकै सडक भासिएपछि सवारी आवागमन नै अवरुद्ध भएको छ। करिब एक सातादेखि सवारी साधन आउजाउ गर्न नसक्ने गरी सडक भासिए पनि मर्मत भने सन्तोषजनक गतिमा नभएको स्थानीय रमित ढकालले बताउनुभयो।

दशैं अघि नै यातायातका साधन आउजाउ गर्न सक्ने गरी सडक मर्मतको काम चलिरहेको इन्जिनियर भट्टले जानकारी दिनुभयो।

आँपपिपल नजिकै र थुम्कीमा भने सडक भासिए पनि सडक अवरुद्ध भने भएको छैन। उक्त ठाउँमा वर्षा सकिएपछि मर्मत हुने उहाँको भनाइ छ।

सडक मर्मतका लागि पुननिर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइले २ करोड ३ लाख रुपियाँ छुट्याएको छ।

शियाली विकास बंैङ्क एडीबीको आर्थिक सहयोगमा लुर्इंटेल भञ्ज्याङदेखि नयाँगाउँसम्मको करिब ३० किलोमिटर सडक स्तरोन्नति गरिएको थियो।

गतजेठ महिनामा सडक कालोपत्रेको काम सकिए पनि त्यसलगत्तै ठाउँठाउँमा पहिरो जान थालेपछि स्थानीय बासिन्दा चिन्तित छन्।

सडक निर्माण गर्दा पुरिएको ठाउँमा राम्ररी सेट हुन नपाउँदै कालोपत्रे गरेका कारण कालोपत्रे हुनेबित्तिकै पहिरो गएको स्थानीयवासीको गुनासो छ। पहिरो, मर्मत तथा उकास्के काम पनि कमजोर सतहमै भएकाले फेरि पनि पहिरो जान सक्ने उनीहरूको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्