अन्तरदेशीय नदीबारे सामूहिक धारणा



नेपाल समाचारपत्र, काठमाडौं। अन्तरदेशीय नदी र जल सञ्जालसँग जोडिएका मुद्दा सम्बोधनका लागि सामूहिकरूपमा अघि बढ्नुपर्ने विज्ञहरूले खाँचो आंैल्याएका छन्।

चीनको तिब्बत र नेपालका हिमालका स्रोत भएर वहने नदीबारे सामूहिक अध्ययन अनुसन्धानलाई निरन्तरता दिन जलविज्ञ सहमत भएका छन्।

नेपाल नदी संरक्षण संस्था (एनआरसीटी) र वाटर किपर एलायन्स्को आयोजनामा काठमाडौंमा आइतबार सम्पन्न तीन दिने सम्मेलनका सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन्।

पानीका स्रोत र मुहान संरक्षण गर्न, एक अर्को मुलुकमा जोडिएका नदीको समग्र वस्तुस्थिति र तथ्यांक अद्यावधिक गर्न नेपाल, भारत, बंगलादेश, श्रीलंका, चीन र बेलायतका अनुसन्धाता सहमत भएका हुन्।

गंगा, ब्रह्मपुत्र र मेघना नदीसहित अन्य नदीका मुहानदेखि तल्लो तटीय क्षेत्रको अवस्थाबारे नियमित अध्ययन अनुसन्धान गर्न ६ मुलुकका ३० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका एनआरसीटीका कार्यकारी निर्देशक मौसम खनालले बताउनुभयो।

‘अन्तरदेशीय नदीको विषयबारे नेपालमा भएको सम्भवतः यो पहिलो र ठूलो जमघट हो’, उहाँले भन्नुभयो– ‘ज्ञान र अनुभव बाँढ्न आगामी दिनमा एक अर्को मुलुकमा यस्तो सम्मेलन र अन्तक्र्रिया गर्ने सहमति भएको छ।’

प्रतिक्रिया दिनुहोस्