नमुना कारागारमै छैन सवारीसाधन



इलाम, (नेस)।इलाम कारागार नेपालकै पहिलो नमुना कारागार हो। इलाम कारागारलाई सुधार गृहका रूपमा चिनाइन्छ। तर, व्यवस्थापकीय पक्षमा धेरै कुरा सुधार हुन सकेको छैन। नमुना कारागार भनिए पनि हालसम्म कारागारका लागि सवारीसाधनसमेत हालसम्म छैन।

जसले गर्दा कारागार प्रशासनलाई धेरै जटिलता उत्पन्न भएको छ। यसै क्रममा इलाम कारागारमा रहेका कैदीहरूलाई भाइरल ज्वरोले सताएको छ। एक हप्ताको अवधिमा १ सय ५७ जना कैदीबन्दी भाइरल ज्वरोबाट प्रभावित भएका छन्।

एकै समयमा ठूलो संख्यामा कैदीबन्दी बिरामी परेपछि उपचारमा समस्या भएको छ। सवारीसाधनको अभाव हुँदा कारागार प्रशासनले इलाम अस्पतालबाट स्वास्थ्यकर्मीको टोली कारागारमै बोलाएर उपचारै गरेको छ।

धेरै बिरामी कैदीलाई एकैपटकमा उपचारका निम्ति अस्पताल ल्याउन समस्या भएको र सवारीसाधनसमेत नभएकाले स्वास्थ्यकर्मीलाई कारागारमै बोलाएर उपचार गरिएको कारागार कार्यालयका शाखा अधिकृत (जेलर) प्रदीप श्रेष्ठले बताउनुभयो।

पुरुष १ सय र महिला २५ सहित जम्मा १ सय २५ जना कैदी आट्ने क्षमताको कारागार भए पनि हाल कारागारमा क्षमताभन्दा दोब्बर बढी २ सय ६० जना कैदी कोचाकोच गरेर बसेका छन्।

२ सय ३७ जना पुरुष, २१ जना महिला र दुईजना नाबालकले इलाम कारागारमा कैदीबन्दीको जीवन भोगिरहेका छन्। भदौको अन्तिम सातबाट ४/५ जना कैदीलाई ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, बान्ता आउने लक्षण देखिएपछि उनीहरूलाई केहिले जिल्ला प्रहरी कहिले भाडाको गाडीमा राखेर इलाम अस्पतालमा लगेर उपचार गराउँदै आइरहेको अवस्थामा असोज ३/४ गतेदेखि एक्कासी उक्त लक्षणका कैदीको संख्या ह्वात्तै बढेपछि झन् समस्या थपिएको थियो।

२ सय ३७ जना पुरुष, २१ जना महिला र दुई जना नाबालक रहेको उक्त कारागारका कैदीलाई भाइरल ज्वरोले सताएको हो।

प्रतिक्रिया दिनुहोस्