नाकाको अपराध रोक्न समन्वय गर्ने



बाँके, (नेस)।नेपाल र भारतका सीमावर्ती सुरक्षा अधिकारीहरूले नाकामा हुने अपराध रोक्न समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता गरेका छन्।भारतको बहराइचमा भएको नेपाल र भारतका सीमावर्ती सुरक्षा अधिकारीहरूको बैठकमा नाकामा हुने अपराध रोक्न दुवै देशका सुरक्षा अधिकारी चनाखो हुनुपर्ने बताएका हुन्।

भारतमा हुन थालेको उपनिर्वाचनको विषयलाई लिएर सीमावर्ती सुरक्षा अधिकारीहरूको बैठक बसेको थियो।
बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका एसपी र भारतका बहराइच, श्रावस्ती र बलरामपुरका सुरक्षा अधिकारीहरूको बैठकले नाकामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीहरूले समन्वय गर्ने प्रतिबद्धता गरेको बाँकेका एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो।

बाँके प्रहरीले नाकामा लागूऔषध नियन्त्रणमा जोड दिएको थियो। एसपी वलीले भारतमा सहजरूपमा लागूपदार्थ बिक्री–वितरण हुँदा त्यसको असर नेपालमा परेको अवगत गराउनुभएको थियो। त्यसबारेमा भारतीय अधिकारीहरूले आफ्नो तर्फबाट पनि नाकामा निगरानी गर्ने प्रतिबद्धता गरेका छन्।

दशगजामा पिलर हराएको, जीर्ण भएको सम्बन्धमा पनि कुरा उठेको छ। यस विषयमा दुवै देशका अधिकारीहरूले आ–आफ्नो माथिल्लो निकायमा जानकारी गराउने सहमति भएको छ।

हिन्दूको महान् चाड बडादशैं नजिकिँदै गर्दा भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने र उनीहरूलाई नाकामा दुःख दिने तथा लुटपाट हुने भएकाले त्यसतर्फ सजक रहन भारतीय अधिकारीहरूको ध्यानाकर्षण गराइएको थियो।

नेपालतर्फ यात्रु सहायता कक्षा सञ्चालन हुने भएकाले भारतले पनि रुपैडिहामा त्यस प्रकारको जाँच र निगरानी बढाइदिन बाँके प्रहरी प्रमुख वलीले आग्रह गर्नुभएको थियो।

बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बर्दियाका रामकुमार कुरुङवाङ, दाङका गोविन्द रिजाल, एसपीहरू बाँकेका वीरबहादुर वली, बर्दियाका राजेश बास्तोला र दाङका जनक भट्टराई, सशस्त्र प्रहरीका एसपीमा बाँकेका दीपक अधिकारी, बीके यादव, दाङका रामबहादुरलगायतको उपस्थिति रहेको थियो।

भारततर्फबाट बहराइचका जिल्ला अधिकारी शम्भु कुमार, बलरामपुरका कृष्ण करुणेश, श्रावस्तीका ओपी आर्यलगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्