विपन्न महिलाको निःशुल्क शल्यक्रिया

समयमै उपचार नहुँदा खुट्टा गुम्यो, अरूकै सहयोगमा ज्यान बच्यो



नरेन्द्र केसी, घोराही, दाङ।गोरखा अस्पताल घोराहीमा फेरि एक महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ। चार महिनादेखि खुट्टामा काँडा बिझेपछि तत्काल उपचार पाउन नसकेकी राप्ती गाउँपालिका–१ कटेसनालाकी ३४ वर्षीया वसन्ती कुमालको निःशुल्क शल्यक्रिया गरिएको हो।

यो उपचारका लागि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. पोख्रेल र एनेस्थेसिया डा. सुरेन्द्र कुँवरले दुईपटकको शल्य गरी झन्डै ५२ हजारको शुल्क लिनुभएन भने अस्पताले पनि कुनै शुल्क नलिएर क्याबिनमा राखेर उपचार गरेको छ।

चिकित्सक शुल्कसहित कुल ९९ हजार ७ सय ५० रुपियाँ खर्च भएकोमा सम्पूर्ण शुल्क मिनाह गरिएको अस्पतालका प्रशासक दिनेश आचार्यले जानकारी दिनुभयो।

यसअघि गोरखा अस्पतालमै डा. पोख्रेल र कुँवरको टिमले हात भाँचिएको आधा महिनासम्म आर्थिक अभावका कारण उपचार पाउन नसकेकी शान्तिनगर ३ माइलीपानीकी तुलसी विकलाई पनि निःशुल्क उपचार गरेको थियो।

सफल शल्यक्रियापछि निकै भावुक र प्रसन्न देखिनुभएको डा. पोख्रेलले भन्नुभयो– ‘उहाँ केही दिन मात्रै घरमै बसेको भए पूरै शरीर संक्रमण भएर ज्यान जाने खतरा रहेछ, ढिलै भए पनि सहयोगीहरूले ल्याउनुभयो र मलाई पनि एउटा पुण्य काममा जोडिने मौका दिनुभयो।

मैले धेरै शल्यक्रिया गरें र आर्थिक हैसियतअनुसार शुल्क पनि छुट गर्ने गरेको छु तर यो शल्यक्रियाबाट मैले वसन्तीलाई साँच्चिकै नयाँ जीवन दिएको छु, यसमा निकै सन्तोष मिलेको छ।’

काँडा बिझेर पूरै खुट्टा संक्रमण भई कुहिए पनि आर्थिक अभावका कारण उपचार पाउन नसक्दा ज्यान जाने अवस्था आएको थाहा पाएपछि हनि मेडिको डिस्ट्रिब्युटर घोराहीका सञ्चालक दीपेन्द्र न्यौपानेले उद्धार गरी उपचारका लागि पहल थाल्नुभएको थियो।

अस्पताल खर्चबाहेकको सम्पूर्ण खर्च उहाँले नै बेहोर्नुभएको छ। झन्डै ४० हजारको औषधि, खाने बस्नेलगायतका सबै खर्च उहाँले बेहोर्नुभएको छ।

आफ्नै प्रयासमा दाताहरू खोजेर ८ पिन्ट रगतको व्यवस्था गरी उहाँले कुमालको ज्यान जोगाइदिनुभएको छ। अस्पताले डिस्चार्ज गरेको भए पनि अझै एक हप्ता घरमै राखेर रेखदेख गर्ने न्यौपानेले जानकारी दिनुभयो।

अस्पताल आउँदासम्म वसन्तीको रगतको मात्रा निकै भइसकेको थियो। हेमोग्लोबिनको मात्र न्यूनतम १० हुनुपर्ने भए पनि ३.५ मा झरिसकेको थियो। अहिले रगत चढाएपछि रगतको मात्र ११.३ पुगेको छ। ‘

अब शरीर रिभर हुने क्रममा छ’, डाक्टर पोख्रेलले भन्नुभयो– ‘६ हप्ताभित्र नक्कली खुट्टा हाल्न पनि मिल्छ।’
ज्याला मजदुरीबाट जीवन निर्वाह गर्ने वसन्ती श्रीमान् रामबहादुर कुमालसहित गत जेठ ७ गते अरू कसैको धान रोप्न गएका बेला उनको खुट्टामा काँडा बिजेको थियो।

समयमै उपचार हुन नसक्दा खुट्टा संक्रमण भएर कुहेपछि खुट्टा नै काट्नुपरेको छ। विपन्न कुमाल दम्पतीका चार छोराछोरी छन्। जसमध्ये दुई छोरीको अरूको घरमा काम गर्दै पढिरहेका छन् भने साना एक छोरा र एक छोरी मामाघरमा छन्।

प्रतिक्रिया दिनुहोस्