नेपाली सेनाद्वारा वृक्षारोपण कार्यक्रम प्रारम्भ



काठमाडौँ । नेपली सेनाले तराई- मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको क्रममा हटाइएका रुख विरुवाहरुको बदलामा वृक्षारोपण कार्यक्रम गर्ने भएको छ । संविधान तथा राष्ट्रिय दिवसको अवसरमा शिनबार कोल्हवी न.पा. डिभिजन वन कार्यालय तथा द्रुतमार्ग सडक आयोजनाको संयुक्त सहभागितामा बारा जिल्लाको कोल्हवी नगरपालिकामा बृहत वृक्षारोपण प्रारम्भ भएको छ ।

कोल्हवी न.पा.वडा नं ८ शान्तिटोल स्थित राष्ट्रिय वन क्षेत्रमा रहेको ५। ६१ हेक्टर खाली जग्गामा टिक, सिमल, सिरिश तथा जामुन जातका करिब ५००० गोटा नयाँ विरुवा रोपिएका छन् । त्यस्तै सोही क्षेत्रमा आफैं उम्रिएका करिब ३००० साल तथा अन्य जातका रुख विरुवाहरु लगायत नयाँ रोपिएका विरुवाहरुलाई तारबार गरि संरक्षण गर्ने कार्य गरिएको छ । वन तथा भू-संरक्षण विभाग र द्रुतमार्ग आयोजना बीच भएको द्विपक्षीय समझदारी पत्र अनुरुप द्रुतमार्ग निर्माणको क्रममा हटाईएका र भविष्यमा पुल तथा सुरुङ्ग निर्माणका लागि हटाउनु पर्ने रुख गरी करिब छ लाखको संख्यामा विरुवा रोप्ने लक्ष्य नेपाली सेनाले लिएको छ ।

उक्त लक्ष्य अनुसार आयोजनाले गत वैशाखदेखि बारा जिल्लाको निजगढ तथा मकवानपुर जिल्लाको राजदमार ईलाकामा आफ्नै नर्सरी स्थापना विभिन्‍न प्रजातिका करिब १ लाख ५० हजार विरुवाहरु उत्पादन गरिसकेको छ । आवश्यकता अनुसारका थप विरुवाहरु निरन्तर उत्पादन गर्दै फलफुलका विरुवाहरु समेत संकलन गरि वृक्षारोपण गर्ने योजना नेपाली सेनाको रहेको छ ।

यसका साथै बारा र मकवानपुर जिल्लामा रहेका खाली जग्गाहरुको पहिचान र सर्भे कार्य गर्ने योजना सेनाको रहेको छ । डिभिजन वन कार्यालयबाट उपलब्ध हुने करिब ३१५ हेक्टर सरकारी खाली जग्गाका प्लटहरुलाई आवश्यक फेन्सिङ्ग, सिचाई तथा संरक्षणको व्यवस्था गरि ५ वर्षसम्म विरुवा हुर्काई सम्बन्धित डिभिजन वन कार्यालयलाई पुनः हस्तानन्तरण गर्ने योजना अनुसार आयोजनाले वृक्षारोपणको कार्यलाई तिब्र गतिमा अगाडि बढाईरहेको छ ।

उक्त वृक्षारोपण कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय निकायका जनप्रतिनिधीहरु, नेपाली सेनाका सकलदर्जा, सुरक्षा निकायका प्रमुखहरु, सम्बन्धित सरोकारवाला निकायहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्