चीन र कोरियाले दिए संविधान दिवसको शुभकामना



काठमाडौँ । संविधान दिवसका अवसरमा चीन र गणतन्त्र कोरियाका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ र गणतन्त्र कोरियाका राष्ट्रपति मुन जेइनले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश पठाउँदै अति निकटको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आफूहरु क्रियाशील रहेको बताउनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी ले यसै वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीबाट सफलतापूर्वक सम्पन्न चीनको राजकीय भ्रमणपछि चीन र नेपालबीचको विविध क्षेत्रमा फैलिएको सहयोगात्मक द्विपक्षीय सम्बन्धलाई नयाँ गति प्राप्त भएको बताउनुभएको छ ।

चीन–नेपाल सम्बन्धलाई आफूले उच्च महत्व दिएको बताउँदै चिनियाँ राष्ट्रपतिले अनन्तकालसम्म रहिरहने दुई देशबीचको विस्तृत सहयोगात्मक साझेदारीलाई अझ सुदृढ तुल्याउन आफू तयार रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले चीन सरकार र त्यहाँका जनताका साथै आफ्ना तर्फबाट समेत नेपाल र नेपाली जनतासहित राष्ट्रपति भण्डारीको सुख सुस्वास्थ्य र निरन्तर प्रगतिको कामना गर्नुभएको छ । यसैगरी कोरियाली राष्ट्रपति मुनले पनि सन्देशमा विविध क्षेत्रमा सहकार्य गर्दै अघि बढेको कोरिया–नेपाल सम्बन्धलाई आपसी लाभका निम्ति भविष्यलक्षित भएर आफू अघि बढ्न तयार रहेको बताउनुभएको छ । दक्षिण कोरियाली जनता र नेपालीबीचको सम्बन्धलाई दुवै देशको हितमा थप प्रगाढ बनाइने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्