लाङटाङ राष्ट्रिय निकुञ्जमा ५ करोड राजस्व संकलन



सरस्वती न्यौपान, रसुवा। लाङटाङ राष्ट्रिय निकुन्ज स्थापना कालदेखि आर्थिक वर्ष २०७५/०७६ सम्म आइपुग्दा करिव ५ करोड ७२ लाख ९८ हजार ४ सय ३७०४५ राजस्व संकलन गरेको छ।

लाङटाङ राष्ट्रिय निकुन्जको कार्यालय रसुवाको अनुुसार पर्यटन वन पैदावार वन रोयल्टी सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय अन्य प्रशासकीय सेवा शुल्क न्यायिक दण्ड जरिवाना र जाफत, प्रशासनिक दण्ड जरिवाना र जफत बेरुजु मूल्य अभिवृद्धि पर्यटन सेवा शुल्कलगायत भृकुटीमण्डप टिकट काउन्टरबाट संकलित राजस्वबाट सो रकम उठेको हो।

निकुन्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी शिवलाल गैरेका अनुसार पदयात्राका लागी सगरमाथा राष्ट्रिय निकुन्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तव्यस्थलको रूपमा परिचित रहेको यस निकुन्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुन्ज भएका कारण २०३२ साल चैत ९ गते स्थापना भएको यो निकुन्ज रसुवा (५७ प्रतिशत) नुवाकोट (७ प्रतिशत) सिन्धुपाल्चोक (३६ प्रतिशत) गरी १७१० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

यस निकुन्जको सुरक्षार्थ नेपाली सेना कालिजंग गण रहेको छ। हालसम्म ११ वटा गणले आफ्नो डिउटी निभाइसकेको छ। निकुन्जअन्तर्गत ३ जिल्ला गरी १७ वटा पोष्टहरू रहेका छन।

निकुन्जको प्रभावित क्षेत्रलाई समेटेर २०५५ वैशाख १४ गते ४१८.३० वर्ग किलोमिटर निकुन्ज क्षेत्रमा हुने वनपैदावारको चापलाई न्यूनीकरण गर्न र निकुन्जको मध्येवर्ति क्षेत्रमा रहेको प्राकृतिक स्रोतको उचित व्यवस्थापनका लागी निकुन्ज अन्तर्गत २१ वटा मध्येवर्ती क्षेत्र, उपभोक्ता समूह नुवाकोट रसुवा र सिन्धुपाल्चोक गरी तिन जिल्लाका १० वटा गाउँपालिकामा गठन भएका छन्।

नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित रहँदै आएको यस निकुन्जमा आर्थिक वर्ष २०७५/०७६ मा ३२ हजार ४ सय १७ जना (३२४१७) जना पर्यटकले भ्रमण गरेका छन।

२०७५ असोजभन्दा अघि निकुन्ज भ्रमणमा आउने नेपालीले निकुन्ज प्रवेश शुल्क बुझाउनुपर्ने व्यवस्था थिएन। २०७५ मा नेपाल राजपत्र अनुसार नेपालीहरूलाई समेत निकुन्ज भ्रमणका लागि प्रवेश शुल्क लिनुपर्ने नियम अनुसार कार्तिक महिनादेखि नेपालीहरूलाई शुल्क लिने व्यवस्था गरिएको हो।

यसरी निकुन्ज भ्रमणमा आउने पर्यटकहरूलाई नेपाली सार्क मुलुकका र विदेशी मुलुकका गरी ३ समूहमा वर्गिकरण गरी मूल्य अभिवृद्धिकर सहित प्रतिव्यक्ति क्रमशः रु १००, रु १५००, र ३००० प्रवेश शुल्क लिने व्यवस्था रहेको छ।

लाङटाङ राष्ट्रिय निकुन्ज घुम्न आउने पर्यटकका लागि निकुन्जका कार्यालय (धुन्चे) मैलुङ पोष्ट घोडा तवेला पोष्ट, कुटुमसाङ, (रसुवा नुवाकोटको सिंमाना) शेर्माथाङ शेर्पा थाङ पोष्ट (सिन्धुपाल्चोक) र तिम्बुसेक्टर(सिन्धुपाल्चो) गरी ६ स्थानबाट प्रवेश अनुमति उपलब्ध गराउने व्यवस्था रहेको छ।

लाङटाङ राष्ट्रिय निकुन्जको कार्यालयको तथ्याङ्क अनुसार आव २०५४/५५ देखि २०७५/०७६ सम्म आइपुग्दा पाँच करोड ७२ लाख ९८ हजार रुपियाँ राजस्व संकलन भएको छ।

नेपाली सेनाको भैरवी दल गण २०४७ साल बाट यस निकुन्ज को सुरक्षार्थ आएको थियो। त्यसपछि फेगश महेन्द्र दल गण, बर्दबहादुर गण, शम्सेर दल गण, दुर्गा बक्स गण, इन्द्रबक्स गण, अह्रिदमन गण, नारायण दल गण र हाल कालिजंग गण सुरक्षार्थ खटिएको छ।

प्रतिक्रिया दिनुहोस्