संविधान दिवसका अवसरमा टेलिकमका विभिन्न अफर



संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपियाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ।
यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो। यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ।

त्यस्तै भारतबाट पुनः सञ्चालन गरिएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरिएको छ। संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि टेलिकमले डाटा रोमिङ सेवा उपलब्ध गराउने छ।

कम्पनीका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरू चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्वीट्जरल्यान्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जादा भ्वाइस, एसएमएसका अलावा डाटा रोमिङ सेवा पनि चलाउन सक्ने छन्।

साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकले समेत अब भारत र चीन जाँदा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्ने छन्।

हाल अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरूलाई यो सेवा स्वतः उपलब्ध हुनेछ भने नयाँ रोमिङ सेवा लिने ग्राहकहरूलाई सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा डाटा सेवा उपलब्ध हुनेछ।

नेपाल टेलिकमले बिगत लामो समय देखि आफ्ना पोस्टपेड ग्राहकलाई लक्षित गरी ८७ मुलुकका १९२ भन्दा बढी दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ।

गत वैशाख १६ गतेबाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरूका लागि पनि दुई छिमेकी मुलुकहरू भारत र चीनमा रोमिङ सेवा (भ्वाइस तथा एसएमएस) उपलब्ध गराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्