१७ पैदलयात्रुको ज्यान गयो व्यापारी र मोटर सडक पेटीमा, यात्रु सडकमा



नेपाल समाचारपत्र,हेटौंडा।सडकमा हिँडिरहेका हेटौंडाका ५० वर्षीय नारायण लम्साललाई अटोले ठक्कर दिँदा केही समयअघि उनको मृत्यु भयो। उनी त उदाहरण मात्र हुन्।

आर्थिक वर्ष २०७५–०७६ मा यसरी १४ जनाको ज्यान गएको थियो भने चालू आर्थिक वर्ष २०७६–०७७ को साउनमा २ जना र भदौमा १ जनाको मृत्यु भइसकेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक नवनितकुमार झाले जानकारी दिनुभयो।

सडक–पेटीको प्रयोग सही तरीकाले नगरिँदा दुर्घटना बढिरहेका छन्।‘सडकको पेटीमा व्यापार गर्दा हामीलाई हिँड्न अप्ठ्यारो भएको छ,’ पैदलयात्रु सञ्जिता आलेले भन्नुभयो– ‘म दैनिक जसो राप्तीरोडको बाटो हिँड्छु।

सडकमा समान किन्ने र बेच्नेको भीडले सडकमा हिँड्न बाध्य हुन्छु। मलाई एक पटक मोटरसाइकलले ठक्कर दिएको थियो।’ बजारमा पैदलयात्रुले चालकलाई समेत गाह्रो पर्ने गरेको मोटरसाइकल यात्रु अनुज कार्कीले बताउनुभयो।

‘जहाँ पायो त्यहीँबाट बाटो काट्ने यात्रुले अल्मलाउने गरेका छन्’ –कार्कीले भन्नुभयो। यसको समस्या समाधानका लागि नगरपालिकाले गम्भीररूपमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ छ।

हेटौंडा उपमहानगरपालिकाले पैदलयात्रु हिँड्न सडकपेटी बनाएको छ। तर, पेटीमा निर्वाधरूपमा व्यापार–व्यवसाय गरिन्छ र, पैदलयात्रु भने सडकबाटै हिँडीरहेका हुन्छन्।

बिहान–बेलुका व्यस्त बजारका सडक–पेटीमा व्यापार त हुने नै भयो। यता, बजारबाहेक बाहिरका क्षेत्रमा समेत सडक–पेटीको व्यवस्था नगरिँदा पैदलयात्री तथा सवारी चालकले सास्ती खेप्नुपरेको छ।

हेटौंडा उपमहानगरपालिकाले ‘सडकका पेटीमा व्यापार हुन दिन्नौं’ भनेर बेलाबेलामा भन्दै आए पनि उक्त भनाइ व्यवहारिकरूपमा लागू भएकै छैन। उपमहानगरपालिकाले हटाउने भनिएको सडक–पेटीको व्यापार पछिल्लो समय झन् बढेको छ।

कहिलेकाँही झारा टारे जसरी नगरपालिकाले हटाउने प्रयास गरेजस्तो गर्छ। तर, व्यापारीलाई हटाए पनि फेरि व्यवसायीले सडक–पेटी ओगट्ने क्रम भन्ने रोकेका छैनन्। विशेषगरी मौसमी व्यापारीले बन्दोबस्ती र तरकारी तथा फलफूल व्यापारीले मुख्य सडकका पेटीमा व्यापार गरिरहेका छन्।

सडक पेटीमा हुने व्यापार रोक्न उपमहानगरपालिकाका प्रहरीले अनुगमन गर्नुपर्ने भए पनि नगर प्रहरी प्रायः ड्युटीमा नदेखिने गरेको एक ट्राफिक प्रहरीले बताए। ‘आउँछन्, कराए जस्तो गर्छन्। अनि जान्छन्, फेरि उस्तै,’ उनले भने– ‘पैदलयात्रु हिँड्ने ठाउँमा व्यापार हुन्छ। यात्रु सडकमा हिँड्न बाध्य छन्।’

त्यतिमात्र होइन, सडक पेटीमा पहिलेजस्तै व्यापार हुन थालेपछि हेटौंडाका विभिन्न ठाउँमा व्यवस्थित गरिएका व्यवसायीबीच नै विवाद हुने गरेको राप्तीरोडका व्यापारी बताउँछन्।

अन्य व्यापारीले सडकमै बसेर सामान बिक्री गरेपछि आफूहरूको व्यापार घटेको भन्दै अन्य व्यवसायी आक्रोशित छन्।सडकपेटीमा मोटरसाइकल गुडाउँदा पैदलयात्रुलाई सास्ती हुने गरेको छ। हेटौंडा बजारका मुख्य सडकहरू ‘नो पार्किङ’ बनाइएपछि सडक छेउका फुटपाथमै पार्किङ गर्ने प्रवृत्ति बढ्दै गएको छ।

यसले गर्दा पैदलयात्रुहरू पुनः सडकबाटै हिँड्न बाध्य हुनुपरेको एक यात्रुले बताएका छन्। सवारी धनीले फुटपाथमै पार्किङ गर्न थालेपछि बटुवालाई भने हिँड्न असहज हुन थालेको हो।

बजारक्षेत्रको राप्तिरोड, कान्तिराजपथ, त्रिभुवन राजपथलगायतका सडकमा पार्किङ हटाइएपछि ती सडकका फुटपाथमा सवारीसाधन पार्किङ गर्न प्रवृत्ति बढ्न थालेकोे हो।

उपमहानगरपालिकाले पार्किङका लागि तोकिएका स्थानमा भने सवारीसाधन पार्किङ गरिएका छैनन्। यसरी यात्रुलाई सास्ती हुने गरी फुटपाथमा पार्किङ बढ्दै गए पनि प्रशासन भने मौन छ।

यसअघि सवारी चाप बढेको र सडक साँघुरो भएको भन्दै उपमहानगरपालिकाले पार्किङ व्यवस्थापनका लागि ‘नो पार्किङ’ र ‘पार्किङ’ क्षेत्र तोकेको थियो।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्