निलम्बित हुँदा पनि घूस



काठमाडौं, (नेस)।घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रहरी नायब निरीक्षकलाई कार्यकक्षबाटै पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्ध मातहत रहेको प्रहरी कार्यालय थलीका प्रमुख विपीनचन्द पन्तलाई सेवाग्राहीबाट ५ हजार घूस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो।

थलीका स्थानीय व्यवसायीलाई बिनाकारण पटक–पटक दुःख दिने र समय–समयमा रकम माग गर्ने गरेको पाइएपछि स्थानीयबासीले अख्तियारमा उजुरी दिएका थिए।

पक्राउ परेका पन्तलाई अख्तियारले आरोपपत्र दायर गरेको छ। हालै मात्र बौद्धको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंह महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत हुँदा ३ लाख घूस रकम लिँदै गर्दा पक्राउ परेका थिए।

केही समय निलम्बनमा रहेर उनले सफाइ पाएपछि उनी पुनः सेवामा आएका थिए। यसअघि महानगरीय प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी नायब उपरीक्षक श्याम राई १ लाख ४० हजार घूससहित कार्यकक्षबाटै अख्तियारको टोलीले पक्राउ गरेको थियो। हाल राई निलम्बनमै छन्।

प्रतिक्रिया दिनुहोस्